विद्युत प्राधिकरणको चरम लापरवाहीले आगालागी
काठमाडौं : विद्युत प्राधिकरणको लापरवाहीले शुक्रबार साँझ टाहाचल क्षेत्र आक्रान्त बन्यो। कारण थियो प्राधिकरणको लापरवाहीले भएको आगलागी। सोल्टी होटलनजिकै बस्ने ध्रुबप्रसाद दाहालले सोचेका थिएनन् क्षणभरमै आफू बस्ने कोठा खरानी बन्छ भनेर। ताहाचलस्थित ध्रुबप्रसाद दाहालको डेरामा विद्युत सर्ट हुँदा लाखौंको धनमाल क्षति भयो।
कोठा नजिकैको ट्रान्सफर्मर पटक-पटक आगलागी हुँदा कुलेश्वरस्थित प्राधिकरणलाई खबर गर्दा पनि उसले चासो नदेखाएपछि शुक्रबार घटना हुन गएकाे दाहालको गुनासो छ। दाहालकै डेराअघि खम्बाका तारमा समेत पटक-पटक आगो लाग्दै आएको सूचना कुलेश्वरस्थित प्राधिकरण कार्यालयलाई थियो। तर, प्राधिकरणको ‘नो लाईट’ फोन समातेर बसेका कर्मचारीले ‘राती भईसक्यो अहिले केही गर्न सकिंदैन’ भन्दै दाहाललाई टार्दै आएका थिए।
दाहाल भन्छन्,‘ ट्रान्सफर्मरमा ६ महिनाको अवधिमा २२ पटकसम्म आगो लागिसक्यो तर प्राधिकरणले कुनै चासो देखाएन। त्यसैको फलस्वरुप शुक्रबार मेरो कोठा खरानी बन्यो।’ गत बुधबार मात्रै पनि उक्त ट्रान्सफर्मरमा आगो लाग्दा राती १० बजे कुलेश्वरस्थित प्राधिकरणको कार्यालयमा दाहालले खरब गरेका थिए। प्राधिकरणका कर्मचारीले ‘ट्रान्सफर्मर पड्किएकाे हो। अहिले केही गर्न सक्दैनौं। भोलि बनाउँछौं’ भनेर फोन राखेको दाहाल बताउँछन्।
उनी भन्छन्,‘हामीले पटकपटक खबर गर्दा उसले कानमा तेल हालेर बस्यो। अहिले मेरो क्षति भयो अब कस्ले व्यहोर्छ।’
शुक्रबार साँझ दाहालको कोठामा आगो लाग्दाको समयमा उनका छोरा दिपेश मात्रै थिए। दिपेशले पड्किएको आवाज आएपछि मात्रै आगो लागेको थाहा पाए। ‘नजिकै बरन्डामा रहेका पाँच वटा ग्यासका भरि सिलिण्डर धन्न पड्कन पाएन,‘दिपेश भन्छन्,‘आज मलाई पर्यो भोलि अरुलाई पनि पर्छ। प्राधिरकणले यतिसम्म लापरवाही गर्ला भनेर मैले सोचेको थिईनँ।’
धेरै भोल्टमा विद्युत प्रसारण भएकाले उनको कोठामा मात्रै क्षति पुगेन। टाहाचलका २० घरका टेलिभिजन पड्किएका छन्। विजुली पसल सञ्चालन गरी बस्ने बाराका जयनारायण प्रसाद कुशवाहले शुक्रबार चार सय ४० भोल्टको विद्युत प्रसारण भएको बताए। उनले भने,‘ दुई सय २० भोल्ट भए काम गर्ने तर दोब्बर विद्युत आपूर्ति हुँदा धेरै क्षति भयो।’
कुशवाहको पसलमा झुण्डाएर राखिएको झुमर समेत पड्किएर भुइँमा खसेको थियो। उनको डेरोको टेलिभिजन समेत पड्कीएको छ। उनले भने,‘मेरै पसल अगाडीको ट्रान्सफर्मर पटकपटक आगो लागिसक्यो। प्राधिकरणमा खबर गरेको थियौं तर बनाईएन। शुक्रबार यस्तो घटना भोग्नुपर्यो।’
विद्युत प्राधिरणका प्रवक्ता प्रबल अधिकारीले यस घटनाबारे कुलेश्वर कार्यालयमा आफूले जानकारी गराइसकेको र कसरी लापरवाही हुन पुग्यो भन्नेबारे जानकारी लिने बताए। 'के गडबढीले धेरै विद्युत प्रसारण हुनुपग्यो त्यसबारे म कुलेश्वर प्राधिकरणका प्रमुखसँग बुझ्छु। लापरवाही गरेको पाइए आवश्यक छानविन गर्छौं’ उनले भने।