जेलबाट छुटेपछि हेलिकप्टर चढेरै गाउँ पुगे मेयर, स्वागतमा स्कुल नै विदा (फाेटाेसहित)
गौर : हत्या अभियाेगमा जेलमै रहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहलाई सर्वोच्च अदालतले सफाइ दिएपछि उनी हेलिकप्टर चढेर रौतहट आइपुगेका छन् ।
गत बैसाखदेखि जेल परेका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै रिहा गरेको हो । शनिबार दिउसो उनी हेलिकप्टर चढेर आफ्नो नगरपालिका कटहरिया आइपुगेका हुन् ।
दिउसो करिव दुई बजे कटहरियास्थित जनता माविको प्रागणमा उनी हेलिकप्टरबाट उत्रिएका थिए । मेयर कुश्वाह आउने सुचना पाएका स्थानीय तथा उनका शुभ चिन्तकहरु बिहानैदेखि बिद्यालयको चौरमा जम्मा थिए ।
मेयर कुश्वाहलाई सयौं स्थानीय तथा कार्यकर्ताले स्वागत तथा सम्मान गरे । कटहरिया बजारपछि जुगौलियामा पनि कुश्वाहलाई स्वागत तथा सम्मान गरियो । न्यायको जीत भएको, कटहरिया नगरको विकासको जीत भएको प्रतिक्रिया दिँदै कुश्वाहले प्रतिक्रियावादीहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए ।
काठमाडौंबाटै हेलिकप्टरमा मेयर कुश्वाहसँगै प्रतिनिधि सभा संसद तथा नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साह, प्रदेशसभा सदस्य कुन्दन कुश्वाह समेत रौतहट आएका थिए ।
अभिभावक विहीन बनेको नगरपालिकाले न्याय पाएको र आगामी दिनमा कटहरिया नगरपालिकाले विकासको गति लिने संसद साहको भनाइ थियो । मेयर कुश्वाह निर्दोष सावित भइ जेलबाट रिहा भएको खुसियालीमा आइतबार नगरभित्रका सामुदायिक विद्यालयमा विदा नै दिइएको छ । नगरपालिका तथा वडा कार्यालयहरुमा समेत विदा दिइएको प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए ।
विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष काशिनाथ तिवारीको हत्याको आरोपमा उच्च अदालतले जन्मकैद सजाय सुनाइएका मेयर कुश्वाहलाई सर्वोच्च अदालतले शुक्रबार निर्दोष सावित गर्दै सफाइ दिएको थियो ।
उनलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि सिआइवीको टोलीले गत बैशाखमा काठमाडौंबाट पक्राउ गरी जेल चलान गरेको थियो । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले तिवारी हत्यामा दोषी ठहर गर्दै मेयर कुश्वाहलाई गत फागुन २८ गते जन्मकैदको फैसला सुनाएको थियो । पर्साको वीरगञ्जमा २०६७ साल असार १२ गते तिवारीको गोली हानी हत्या भएको थियो ।