पाठशाला साँझमा जनयुद्धबाट एक्लिएको बालकको कथा
काठमाडौं : नेपालमा १० वर्षे जनयुद्धले तहसनहस पारेको जीवन नौलो विषय होइन । यसले कयौँ आमाबाबुलाई सन्तानविहीन बनायो ।
धेरै बालबालिकालाई अभिभावकविहीन बनायो । आमाबाबुको मृत्युपश्चात एक्लिएका बालबालिका कसरी हुर्किन्छन् ? अभिभावकको प्रेम नपाइ हुर्किँदा उनीहरु अरु बालबालिकाभन्दा अवसरबाट बन्चित हुन्छन् नै ।
अभिभवक गुमाएर एक्लिनु परेको बालबालिकाको पीडा प्रस्तुत गरिएको नाटक हो ‘भ्यागुत्तोको उफ्राइ’ । मानवेत्तर पात्रहरुको प्रयोग गरेर मञ्चन गरिएको यस नाटकमा एक्लो भ्यागुत्तोको कथा प्रस्तुत गरिएको छ ।
पर्दा खुलेपछि भ्यागुत्ताहरु कराएको ट्यार्रट्यार्र आवाज सुनिन्छ । धेरै भ्यागुत्ताहरु जम्मा भएर कराइरहेको ठाउँमा एउटा भ्यागुत्तो कराउन नजानेर एक्लै बसिरहेको हुन्छ ।
बाबुआमालाई एउटा ठूलो चरो (चिल) आएर लगेपछि सानो भ्यागुत्तो परिवारविहीन हुन्छ । उफ्रिन पूर्ण रुपमा नआउने उसलाई आमाबाबु मरेपछि सिकाउने कोही पनि हुँदैन । ‘मेरो पनि खुसी परिवार थियो । म, आमा अनि बुवा । मेरा बाबाले मलाई उफ्रिन सिकाउँदै हुनुहुन्थ्यो । त्यही समयमा एउटा ठूलो चरो आएर मेरो आमा बाबालाई लग्यो ।’
एक्लिएपछिको आफ्नो पीडा सुनाउँदै भ्यागुत्तोले भनेको संवाद हो यो । जसलाई बिम्वको रुपमा नाटकमा प्रस्तुत गरिएको छ । ठूलो भएपछि पनि उफ्रिन नआउने हुनाले राम्ररी उफ्रिन जान्ने भ्यागुत्तोले उसलाई हेप्छ । आफूले मन पराएकी केटी (भ्यागुत्ती) लाई पनि उफ्रिन र राम्ररी गीत गाउन नजानेकै भएर उसले आफ्नो बनाउन पाउँदैन । एउटा बुढो भ्यागुत्तोको सहयोगले उसले प्रेमिका पाउँछ । पछि प्रेमिकाको साथ र सहयोग पाएर उसले उफ्रिन र गाउन सिक्छ ।
प्रत्यक्ष रुपमा भ्यगुत्तोको कथा सुनाएर अप्रत्यक्ष रुपमा जनयुद्धको समयमा अभिभावकविहीन भएका बालबालिकाको दुःखको मार्मिक प्रस्तुति यस नाटकमा छ । परिवारविहीन भएर हुर्किँदा भोग्नुपरेको एकांकीपनाले उनीहरुको भविष्यमा समेत पारेको असर यसमा देखाइएको छ । उफ्रिनु र कराउनु भन्नाले अप्रत्यक्ष रुपमा जीवन जीउन आवश्य सीपलाई बुझिन्छ ।
पाठशाला नेपाल फाउन्डेशनको अभिभावक दिवसको अवसरमा पुस १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन गरिएको यस नाटकका लेखक तथा निर्देशक पशुपति राई हुन् । मानवेत्तर पात्रको मात्र प्रयोग गरिएको यस नाटक संवादविना नै सम्पन्न गरिएको छ । संवादको प्रयोग नगरिकनै सम्पन्न गरिएको र मानवीय पात्रको प्रयोग नगरिएको यस नाटकलाई प्रयोगमुलक नाटकको रुपमा लिइएको छ ।
‘पाठशाला साँझ’ नाम दिइएको यस कार्यक्रममा नेपालमा भएका विविध जातका संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो । नेपाली, थारु, मैथिली, अंग्रेजी, नेवारी, संस्कृत भाषाका गायन प्रस्तुत गरेर नेपालको विविधतालाई यहाँ देखाइयो । सानासाना विद्यार्थीहरुको नृत्य, गायन तथा अभिनय क्षमताको प्रस्तुतिले कार्यक्रमलाई थप रोमान्चक बनाएको थियो ।