नरभक्षी चितुवा पक्रन कृत्रिम जासुसी
दमौली : दुई सातामा भानुमा दुई बालबालिकाको ज्यान लिनुका साथै एक जनालाई घाइते बनाएको नरभक्षी चितुवाको खोजी भइरहेको छ। डेढ महिनादेखि खोजी भइरहे पनि फेला पर्न सकेको छैन। यसबीचमा कुनै उपायबाट पनि चितुवा पक्रन नसकिएको र नागरिकमा त्रास रहिरहेकाले कृत्रिम जासुसीको सहारा लिने तयारी गरिएको छ।
चितुवा बसेको ठानिएको भानु–२ स्थित मझुवाओख्ले सामुदायिक वनमा निरन्तर खोजी गरिए पनि फेला पार्न नसकिएको वन डिभिजन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए। ‘नियमित गस्ती भइरहेको छ’, उनले भने, ‘तर उपलब्धि हासिल भएको छैन।’ बालबालिकालाई निरन्तर आक्रमण गर्न थालेपछि स्थानीयले चितुवा पक्रन प्रशासनमाथि दबाब दिएका थिए।
वन डिभिजनले ठाउँ–ठाउँमा ट्र्याकिङ क्यामेरासहित वन क्षेत्रमा आठ वटा पासो थापेको थियो। चितुवा पक्रन सशस्त्र वनरक्षक तथा कर्मचारी र सशस्त्र प्रहरीको टोली दैनिक रात्रिकालीन गस्तीमा खटिएका छन्। तर, यति धेरै खोजी गर्दा पनि चितुवाको अत्तोपत्तो नलागेपछि खोज्न छाड्ने कि निरन्तरता दिने भन्नेमा वन डिभिजन अन्योलमा छ। विगतमा पनि खोजी अभियानकै बेला चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा नपक्रेसम्म खोजी नरोक्न दबाब दिएका छन्।
स्थानीयको मागअनुसार तनहुँ प्रशासनले पनि चितुवाको खोजी नरोक्न वन डिभिजनलाई निर्देशन दिएको थियो। प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले लगातार ज्यान जाने घटना घटेकाले चितुवा नपक्रेसम्म खोजी अभियान नरोकिने बताए। ‘नागरिकको सुरक्षाका लागि खोजी अभियान बीचमै नछाड्न निर्देशन दिएका छौं’, उनले भने। भानु नगरपालिकाले चितुवा पक्रनेलाई पुरस्कारको घोषणा गरेको छ।
अब सफ्टवेयरको सहारा
वनरक्षक, सशस्त्र प्रहरी र कर्मचारी अनि पासो समेतमा चितुवा नपरेपछि वन अधिकारीले सफ्टवेयरको सहाराले चितुवाको जासुसी सूचना लिने तयारी गरेको छ। यसअघि क्यामेरामा एक पटक देखा परे पनि त्यसयता चितुवा बेपत्ता छ।
‘कुनै उपाय सफल नभएपछि आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम जासुसी)को सहारा लिन लागेका हौं’, वन अधिकृत बरालले भने। यसका लागि सफ्टवेयर इन्जिनियरसहितको टोलीलाई वाइफाई क्यामेरासहित परिचालन गर्ने तयारी गरेको बरालले बताए। चितुवालाई सकेसम्म नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जमा लैजाने तयारी गरिए पनि नियन्त्रणमा लिन समस्या परे प्रविधिको सहारा लिने अवस्थामा पुगेको बरालले बताए।