शुक्रले पाए घर उपहार
सुनसरी : व्यावसायिक गल्फरलाई पछि पार्दै धरानका एमेच्योर गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । इस्टर्न ओपन गल्फ टुरमा एमेच्योरले उपाधि जितेको यो पहिलो पटक हो । यसअघि वेस्टर्न ओपन र सेन्ट्रल ओपनमा एकएक पटक एमेच्योरले उपाधि जितेका छन् ।
पार ७० को निर्वाणा कन्ट्री क्लबमा भएको खेलमा नेपालका नम्बर वान गल्फर शिवराज श्रेष्ठलाई समेत पछि पार्दै शुक्रले एमेच्योर र प्रोफेसनल दुवैतर्फको उपाधि जिते ।
बुधबारदेखि सुरु इस्टर्न ओपनमा शुक्रले तेस्रो दिनसम्म कुल चार अन्डर २०६ स्कोर कार्ड बनाए । उनले पहिलो दिन इभनपार ७०, दोस्रो दिन एक अन्डर ६९ र तेस्रो दिन तीन अन्डर ६७ स्कोर खेलेका थिए । शुक्रबार उनले फ्रन्टनाइनमा २, ६ र ९ बर्डी र चौथोमा डबल बुगी खेलेका थिए भने ब्याकनाइनमा १०, १२ र १७ बर्डी र ११ बुगी खेलेका थिए ।
सन् २०१० बाट क्याडीका रूपमा गल्फ कोर्स छिरेका शुक्रले सन् २०१४ देखि खेल्न थालेका हुन् । शिवराम श्रेष्ठ र विकास अधिकारी एक ओभर २११ स्कोर साथ व्यावसायिकतर्फको शीर्ष स्थान रहे । एमेच्योर शुक्रभन्दा पाँच स्टोकले पछि पार्दै उनीहरू ट्रफी उचाल्नबाट वञ्चित भए । उनीहरूले जनही ९८ हजार पाँच सय रुपैयाँ पुरस्कार बाँडे ।
विजेताहरूलाई सूर्य नेपालका मार्केटिङ म्यानेजर बालकृष्ण गुरुङ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार र नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष तिलक राईले पुरस्कार वितरण गरे ।