रैथाने ज्ञान ‘अज्ञान’ हैन
रैथाने ज्ञान र सीप उजिल्याउन नसक्दा हामीले अन्धानुकरण अपनाइरहेका छौं
रुपन्देहीको गैडहवा गाउँपालिकामा भेटिएका मिश्री यादवले कडिकडाउ शैलीमा नेता र जनताबीचको सम्बन्धबारे गज्जबको अभिव्यक्ति दिए, ‘जमिनसँग अटुट सम्बन्ध रहेकै कारण पेड (रूख) हरियो हुन्छ। जब रूखको सम्बन्ध जमिनबाट टुट्छ, रूख बाँच्दैन। त्यस्तै नेताको सम्बन्ध जनतासँग नहुँदा राजनीति कसरी चल्छ ? नेता कसरी बाँच्छ ? ’
गैडहवाका मिश्री यादव एक किसान हुन्। उनका अनुभवमिश्रित अभिव्यक्तिभित्र अभाव र पीडाको आक्रोश मात्र होइन, अनुभवजन्य ज्ञानको मिश्रण पनि छ। अनि मि श्रीहरूका अनुभव वास्तवमै यथार्थपरक छन्। नीतिनिर्माण तहमा रहनेहरूले भुइँतहबाट आउने यस्तै यथार्थपरक अनुभवलाई शिरोधार्य गरे कति जाति हुँदो हो। तर हाम्रो समाजमा यस्ता भुइँतहका अनुभवलाई अनुभव नै मानिँदैन। भुइँतहबाट आउने विचार विचार नै हुँदैन अनि उनीहरूको ज्ञानलाई ज्ञान नै मानिँदैन। किनकि त्यो ज्ञानमा शास्त्र भेटिँदैन, त्यसमा बौद्धिकता भेटिँदैन। त्यसमा जार्गन भेटिँदैन। त्यसमा ज्ञानका किताबी परिभाषा भेटिँदैन।
त्यसैले उक्ति जन्मिन्छ, ‘अल्पज्ञान खतरनाक हुन्छ’, तर हिजोआज म यो उक्तिमा त्रुटि देख्न थालेको छु। किनकि ज्ञान कहिल्यै पूर्ण हुँदैन। जब ज्ञान पूर्ण हुँदैन त त्यो सधैं अल्प रहने भयो। अनि ज्ञानको स्रोत केवल शास्त्र वा किताबी रटान मात्रै पनि होइन। ज्ञानको स्रोत मान्छे हो, समाज हो। मान्छेको जीवन पद्धति हो। मान्छेको सामाजिक जीवन हो। मान्छेको अनुभव हो अनि उसका भोगाइका शृंखला हुन्। यसर्थ मान्छेले भोगेको र बिताएको जीवनको भुक्तमान नै असीम ज्ञानको स्रोत हो। ज्ञानको यो स्रोत थाहा पाउन गाउँघर डुल्नुपर्छ। गाउँघरका कुरा सुन्नुपर्छ। तिनका भोगाइ र कठिनाइका असीमित कथाव्यथा नियाल्नुपर्छ। तब थाहा लाग्छ, ज्ञान के हो ? समस्या के हो ? अनि त्यसको समाधान कत्ति सजिलो छ भन्ने कुरा।
घाम–पानी, हिलो–धुलोले खस्रा अनि रूखा तर बलिया बनेका हात–पाखुरा, घामले टट्टिएर बाक्ला बनेका अनुहार, कामको बोझले खिइएका शरीर, माटोको रङजस्तै बनेका कैला आँखाले देख्ने तीक्ष्णतामा जत्तिको ज्ञान सायद सहरबजारका वातानुकूलित भवनमा बस्ने अनि मोटरमा दौडने मस्तिष्कमा हुँदैन। तर हामीले ज्ञानका ती असीम स्रोतलाई कहिल्यै स्वीकार गरेनौं। उल्टो माटोसँग मितेरी गाँसेर अन्न उत्पादन गर्ने ती हातलाई सधैं दुत्कार्यौं। जब गाउँघरतिर डुल्दै किसानका हराभरा खेत, बारी अनि अन्नपातका रास देख्छु मलाई काठमाडौंका वातानुकूलित महलहरूमा हुने कृषि विकासका गोष्ठी अनि कार्यक्रम हाँसोउठ्दो ठट्टा झैं लाग्न थाल्छ।
त्यसैले हिजोआज सहरी कस्मेटिक अनि जार्गनले भरिएको ज्ञानभन्दा गाउँघरतिरकै अर्गानिक अनि रैथाने ज्ञान बलियो लाग्न थालेको छ। पुस्तौंदेखि कसैको प्रत्यक्ष सहयोगविना, राज्यको उपस्थितिबिना नै आफ्नो गुजारा चलाउने, घरपरिवार धान्ने, खनीखोस्री जीविका चलाउने ज्ञान र सीप आफैंमा महत्त्वपूर्ण हो। साँच्चिकै भन्दा ती रैथाने ज्ञान र सीप सहरबजारमा दलाली गरेर आफ्नो जीविका धान्ने पठित विद्वान्को बतासे गफभन्दा कैयन् गुणा उत्कृष्ट हो। तर समाजले अनि राज्यले तिनलाई चिन्दैन, तिनलाई केवल गरिबी र अभावकै धागोले जोड्न खोज्छ र तिनको दैनिकी बदल्ने कुनै योजना अगाडि सार्दैन।
शासकहरूले बडो विचित्रको अर्थराजनीतिक नियम बनाएका छन्। यहाँ जो काम गर्छ, जो उत्पादन प्रक्रियामा सहभागी छ, जो रूखोसुखो जमिन खनीखोस्री गरेर उब्जाउ गर्छ, जो आफ्नै भरमा जीवन बाँच्छ, ऊ दोयम ठहरिन्छ। अनि सधैं अभावमै जिउँछ। तर जो यी सबै प्रक्रियाबाट बाहिर भएर गफै मात्रै गर्छ, उसले भने आरामको जिन्दगी जिइरहेको छ। अहिलेको विश्वमा यो निकै ठूलो अर्थराजनीतिक अन्तरविरोध हो।
पश्चिमा सम्पन्नशाली देशमा यस्तो अन्तरविरोध कम छ किनकि उनीहरूले श्रमको सम्मानलाई नै समृद्धिको आधार बनाएका छन्। कम्तीमा कामबीच भेदभाव गर्दैनन्। सबैले सबै स्तरका काम गरेका छन्। काम ठूलो र सानो हुँदैन। कामले कस्तो सीपको माग गर्छ, त्यही कामको फरकपना हो भन्ने विचारलाई आत्मसात गरेका छन्। तर हामीकहाँ अझै पनि त्यो हुन सकेको छैन। फलस्वरूप काम आफैंमा सानो, ठूलो, अब्बल र दोयम भएको छ। त्यसैले ती गरिखाने नागरिकहरू जो आफ्नै बुतामा उभिएर स्वाभिमान बचाइरहेका छन्, तिनलाई समाजले अज्ञानी ठान्छ। नजान्ने ठान्छ।
रैथाने ज्ञान र सीप सहरबजारमा दलाली गरेर आफ्नो जीविका धान्ने पठित विद्वान्को बतासे गफभन्दा कैयन् गुणा उत्कृष्ट हो।
आखिर समाजले किन त्यस्तो विभेद गरिरहेको छ ? के ती गरिखाने नागरिकहरू यो समाजका होइनन् ? समाजमा उनीहरूको हकहिस्सा अनि मानप्रतिष्ठा छैन ? जसले आफ्नै बलबुतामा जीविका चलाएका छन् अनि लाखौं सहरीलाई आवश्यक उपभोग्य सामग्री उत्पादन गरिदिएिका छन्, उनीहरूको अवस्था किन दयनीय छ ? यी केही प्रश्न हुन्, जसले समाजको अर्थराजनीतिको चुरो समातेको छ।
समाज जहिल्यै मूलधारमा चल्ने गर्छ र मूलधारमा देखिएको विचारलाई नै समाजले ग्रहण गर्ने गर्दछ। सत्ता नै सधैं मूलधार हुन्छ। वैधानिक सत्ताले आफ्नो अस्तित्व कायम गर्न विभिन्न प्रकारका सहायक सत्ताहरू निर्माण गरेको हुन्छ। जस्तो– सामाजिक सत्ता, धार्मिक सत्ता, आर्थिक सत्ता, सांस्कृतिक सत्ता। यी कतिपय संरचना दृष्टिगोचर हुन्छन् त कतिपय हुँदैनन्। तिनको भौतिक अस्तित्व कहींकतै हुँदैन। तर पनि यी सबै वैधानिक सत्ताले निर्माण गरेका सहायक सत्ताहरू हुन्। यी सहायक सत्ताहरूले जहिल्यै पनि वैधानिक सत्ताकै भाष्यलाई स्थापित गर्ने काम गरिरहेका हुन्छन्।
शासकहरूले यिनै सत्ताको माध्यमबाट शासन चलाईहेका हुन्छन्। शासनको अजस्र स्रोत भनेकै समाजका यिनै अन्तरविरोध हुन्। यी सबै अन्तरविरोध समाधान गरे, वैधानिक सत्ताको पुरानो रङ बदलिन्छ। जब सत्ताको पुरानो रङ बदलिन्छ, त्यसको असर शासकहरूलाई पर्छ। अर्थात्, सामाजिक चेतना बढेर सत्ताको रङ फेरियो भने स्वाभाविक रूपमा पारम्परिक शासनको स्वरूप फेरिन पुग्छ। अनि उनीहरूको स्वार्थमा धक्का पुग्छ। उनीहरूको सत्तागमनमा समस्या आउँछ। त्यसैले वैधानिक सत्ताले यी धेरै प्रकृतिका सत्ताका स्वरूप फेर्न चाहँदैन। समाजको अन्तरविरोध हल गर्न चाहँदैन।
अझ पारम्परिक सत्ताले त्यस्तो अन्तरविरोध बढाइदिन्छ। गाउँघरतिर डुल्दा स्थानीय आवश्यकता र बाध्यताका कथाव्यथाहरूको शृङ्खला जब सुनिन्छ, सहरबजारमा चल्ने विकास, समृद्धिका लयात्मक भाषण उडन्ते दन्त्यकथाजस्तो लाग्न थाल्छ। गाउँका समस्या एकातिर छ, सहरका गफ अन्यत्रैतिर। अझ राजधानीमा दिनहुँ चल्ने पचासौं विमर्श, छलफल अनि भेटघाटका कुरा त बकम्फुसे लाग्न थाल्छ। तलबाट हेर्दा अनुसन्धानका नाउँमा घोगा नलाग्ने मकैको बीउ अनि बाला नलाग्ने धानको बीउको आविष्कारभन्दा खेतमा लहलह फलेको धानका बाला काटेर बोटको ठुटा मात्रै राख्ने मुसा मार्ने स्थानीय उपाय साँच्चिकै ठूलो आविष्कार देखिँदो रहेछ।
विडम्बना, हामीले त्यो स्थानीय ज्ञान, सीप र क्षमतालाई कहिल्यै स्वीकार गरेनौं। किसानको उन्नति गर्न तम्सिएका अनेकौं गैससहरूले तिनै गरिखाने किसानको हुर्मत लिने काम गरे। अनेकन तालिमका नाउँमा गरिखाने सीप र क्षमतालाई दुत्कार्दै किताबी कृषि सिकाइँदा किसान हीनताबोधले ग्रसित भइरहेका छन्, जसका कारण ज्ञान र सीपको स्थानीयता लोपोन्मुख छ अनि किताबी कृषि ज्ञानलाई खेतबारीमा प्रयोग गर्ने पुस्ता क्रमशः कृषिबाट विमुख बन्दैछ।
हामीले यस्तै रैथाने ज्ञान र सीपलाई उजिल्याउन नसक्दा हाम्रो विकास र समृद्धिले मौलिकता गुमाउन पुगेको हो भन्दा अत्युक्ति नहोला। किनकि हामीले केवल अन्धानुकरणलाई नै अगाडि बढाइरहेका छौं। हामीलाई आफ्ना आवश्यकता र प्राथमिकताभन्दा पनि दातृ संस्थाहरूको प्राथमिकता प्यारो लाग्छ। दातृ निकायले आफ्नो स्वार्थअनुरूप नै सहयोगको शर्त तेस्र्याउने हुँदा पनि हामी तिनका अगाडि नतमस्तक हुन पुग्छौं। परिणामतः हामी आफ्नो आवश्यकता र आफ्ना प्राथमिकतालाई तिलाञ्जली दिन पुगेका छौं।
गाउँघरतिर डुल्दा र त्यहाँका कुरा सुन्दा लाग्छ, असीम ज्ञानको भण्डार त खेत खलियानमा काम गर्ने किसानहरूसँग पो रहेछ ! तर ती गरिखाने वर्गको हितका लागि उनीहरूको सुरक्षा र समृद्धिका लागि भने यी सत्ताका स्वरूपहरू फेरिनै पर्छ। जबसम्म यी समाजमा रहेका अनेकन सत्ताका स्वरूपमा बदलाव आउँदैन, गरिखाने वर्गको हित हुन सक्दैन। उनीहरूको चेतना, ज्ञान, सीप र क्षमता परिचित हुँदैन। त्यसैले अहिलेको टड्कारो आवश्यकता भनेको सत्ताका अनेकन रूपलाई बदल्ने र रैथाने ज्ञान, सीपलाई पनि सम्पत्तिका रूपमा ग्रहण गरी त्यसको बजार व्यवस्थापन गर्नु हो। जब स्थानीय ज्ञान, सीप र क्षमताको उचित बजार व्यवस्थापन हुन्छ, हाम्रो रैथाने सीपलाई विश्व अर्थबजारसँग जोड्न सकिन्छ।
यहाँनेर कतिपयलाई लाग्न सक्छ– प्रविधिमा फड्को मारेर स्वचालित भइसकेको विश्व भूमण्डलीकरणको आजको युगमा हाम्रा पारम्परिक हाते सीपको के अर्थ होला र ? तर मान्छे भनेको अन्ततः भावनाले चल्ने प्राणी पनि हो। मान्छेले सबै प्रविधिको उपभोग गरिसकेपछि ऊ फेरि सोखको रूपमा पुरानै लयमा फर्किन चाहन्छ। त्यसैले हामीले हाम्रा आदिवासी हातहरूले बनाएका सरसामानको राम्रो बजार निर्माण गर्न सक्छौं। हाम्रा गाउँघरतिरका पारम्परिक कुटिर उद्योगहरूमा निर्माण हुने कलात्मक सामान तथा लत्ताकपडालाई हामीले नयाँ स्वरूपमा ब्रान्डिङ गर्न सक्छौं। सामानमा लेखिन सक्छ, ‘क्राफ्टेड बाई ह्यान्डस् अफ इन्डिजिनियस् पिपुल इन नेपाल’ वा यस्तै केही।
यहाँनेर जोड दिन खोजिएको विषय के हो भने हामीले आफ्नै शैलीको उत्पादन, जहाँ परम्पराको प्रयोग भएको छ, जहाँ पुस्तौंपुस्ताबाट हस्तान्तरण हुँदै आएको आदिम सीप छ, त्यसलाई नै आधुनिक बजारसँग जोड्ने प्रयत्न गर्नुपर्छ। यस्तै रैथाने ज्ञान, सीप र क्षमतामा सामान्य प्रविधि जोडिदियौं भने यो नै हाम्रो समृद्धिको बलियो आधार पो बन्थ्यो कि ! त्यसैले यो कुरा आत्मसात गर्नैपर्छ, रैथाने ज्ञान, अज्ञान होइन, हुन सक्दैन।