कान्छा कप्तानको इच्छा यात्रा

कान्छा कप्तानको इच्छा यात्रा

आफ्नो दिमागले जे सोच्छ त्यो पूरा हुन्छ भन्ने आर्चीको इच्छा पूर्तिले देखाएको छ। धेरै अप्ठ्यारा हुँदाहुँदै पनि हरेक कुरा सम्भव हुन सक्छन् भन्ने उनलाई लाग्छ। - साराह, आर्चीको आमा


सात वर्षीय आर्ची चिलर अहिले विश्वभर चर्चाका पात्र बनेका छन्। क्रिकेट अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेस्टमा आर्चीलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि उनको चर्चा चुलिएको हो। गत बुधबारदेखि अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा सुरु भएको खेलमा उनले कप्तानी निभाउँदै आएका छन्।

मुटुरोगसँग लडिरहेका आर्चीले आफ्नो जीवनको अधिकांश समय अस्पतालमै बिताए। तीन महिनाको उमेरमा उनको पहिलो पटक ओपन हार्ट सर्जरी भइसकेको छ। त्यसपछि पनि बेलाबेलामा गरी उनको करिब १२ वटा शल्यक्रिया भइसकेको छ। यसरी दिनदिनै डाक्टरहरूलाई भेट्ने र अस्पतालको बसाइ नै उनको दिनचर्या बनिसकेको थियो। यही क्रममा उनी आफ्नो विद्यालयका कक्षाहरूमा पनि बस्न भ्याएनन् भने साथीहरूसँग पनि अन्य सामान्य विद्यार्थी जसरी खेल्न पाएनन्।

विश्वव्यापी रूपमा फैलिएको बालबालिकाको च्यारिटी संस्था मेक अ विस फाउन्डेसनले आर्चीको कप्तान बन्ने सपना साकार पार्न सहयोग पुर्‍याएको हो। अस्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन ल्याङगरले यूएईबाट फोन गरेर आर्चीलाई ‘तिमी भारतविरुद्धको थर्ड बक्सिङ डे टेस्टका लागि छानिएका छौ’ भन्ने खबर दिएका थिए।

अस्ट्रेलियाली क्रिकेट टिमलाई भेट्न उनी आफ्नो परिवारका साथमा एड्लेडस्थित मैदानमा पुगेका थिए। त्यहाँ उनलाई देख्नेबित्तिकै कप्तान टिम पेनीले आर्चीसँग हात मिलाए। खेलमैदानमा आर्ची, उनका बाबु डामिन, कप्तान टिम र प्रशिक्षक जस्टिनले रणनीतिबारे छलफल गरे। त्यतिबेला उनका तीन वर्षीय भाइ ह्यारीले ब्याट र बल समातेर मसँग खेल्ने कोही छ भन्दै सबै खेलाडीलाई खुला चुनौती दिएका थिए। उनको यो बालसुलभ व्यवहारले आर्ची परिवारकै क्रिकेटप्रतिको लभाव झल्काएको थियो। जस्टिनले उनलाई पहिलो पटक आफ्नो टिममा परिचय गराएका थिए।

आर्चीको हालै अगाडिका दुईवटा दाँतहरू झरेका हुनाले उनी त पहिले हाँस्नलाई अलि हिचकिचाउँदै थिए। तर पछि उनका मन पर्ने खेलाडी न्याथन लेवनले उनको हात समातेर तालिमको लागि मैदानमा लगेपछि आर्चीले आफ्नो हाँसो रोक्न सकेनन्। उनको तालिमको दृश्य पनि हेर्न लायकको थियो। उनी आफ्ना नयाँ सहकर्मीहरूसँग खेल्ने क्रममा यताउता दौडिरहेका थिए।

उनको खेल निकै प्रभावशाली थियो। उनले भारतलाई हराउने विषयमा खेलाडीहरूलाई विभिन्न टिप्स पनि दिएका थिए। तालिमको अन्तिममा नाथनले सबै खेलाडीको हस्ताक्षरसहितको क्रिकेटको पहिरन आर्चीलाई दिएर उनको मुहारमा अझै ठूलो खुसी ल्याएका थिए।

यसरी आर्चीको सपना साकार पारिदिने मेक अ विस फाउन्डेसनले सन् १९८५ देखि हालसम्म १० हजारभन्दा बढीको इच्छा पूरा गरिसकेको छ। बालबालिकाको इच्छा पूरा गरिदिने यो विश्वकै ठूलो संस्थाको रूपमा चिनिन्छ। एनुअल अस्ट्रेलियन च्यारिटी रेपुटेसन इन्डेक्सका अनुसार यो संस्था सन् २०१८मा अस्ट्रेलियाकै २० प्रतिष्ठित च्यारिटीमध्येमा परेको छ। हाल अस्ट्रेलियामा आर्चीजस्तै सात सय बालबालिका आफ्नो इच्छा पूर्ति गर्ने यात्रामा रहेका छन्।

नजिकबाट आर्ची

उचाइ : चार फिट

तौल : २८ किलो

जुत्ताको साइज : ५

आँखाको रङ : खैरो

मन पर्ने सेलिब्रेटी : ब्रुस ली र लुसी लिउ

घुम्न जान मन लागेको ठाउँ : स्विट्जरल्यान्ड

मनपर्ने खाना : चकलेट र बर्गर

गर्न मन लाग्ने काम : क्रिकेट खेल्ने

- (एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.