प्रथम कमलाखोँच मेयर कपको उपाधी बारा ११ लाई
सिन्धुली : पौष ७ गतेदेखि टाँडीमा सुरु भएको प्रथम कमलाखोँच मेयर कप २०७५ को उपाधि बारा जिल्लाको टीमले हात पारेको छ। त्रिवेणी युवा क्लबलाई ट्राइब्रेकरमा हराउँदै बारा ११ समूहले उपाधी कब्जामा लिएको हो। निर्धारित ९० मिनेटको समयमा दुवै टीमले दुई-दुई गोल गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।
ट्राइब्रेकरमा बारा ११ ले त्रिवेणी क्लबलाई ४-३ ले पराजय गरेको दुधौली नगरपालिका २ का वडाअध्यक्ष तथा नगरका प्रवक्ता रितेश राउतले जानकारी दिए। उपाधीसँगै बार ११ ले दुई लाख नगद पुरस्कार समेत पाएको छ।
आठ समूहले भाग लिएको मेयरकपको फाइनल खेलमा विजयी बारा ११ लाई प्रतिनिधिसभाका सांसद गणेश पहाडीले दुई लाख पुरस्कारसहित शिल्ड र प्रमाणपत्र दिएर सम्मान गरे।
त्यसैगरी प्रतियोगितामा दोश्रो भएको त्रिवेणी क्लबले एक लाख रुपैयाँसहित शिल्ड र प्रमाणपत्र पाएको छ। प्रतियोगिताको आयोजना दुधौली नगरपालिका वडा नं ११ ले गरेको थियो। जम्मा सात खेल भएको उक्त प्रतियोगितामा दुधौली नगरपालिकाबाट दुई टीममात्र सहभागी थिए।