सेयर बजार दोहोरो अंकले घट्यो
काठमाडौं : धितोपत्र बजारमा आइतबार सेयरको मूल्य घटेको छ।अघिल्लो साता वृद्धि भएको बजार यस साता कारोवारको पहिलो दिनमै दोहोरो अंकले घटेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ६२ बिन्दुले घटेर एक हजार २०४ दशमलव ५४ बिन्दुमा झरेको छ।यस्तै 'क' वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ बिन्दुले घटेर २५६ बिन्दुमा झरेको छ।
स्टकका अनुसार आज कूल १६८ कम्पनीका १२ लाख ३६ हजार ३४३ कित्ता शेयर रु ४५ करोड ४२ लाख ८४ हजार ३९३ मूल्यमा खरीद बिक्री भए। स्टकका अनुसार कारोवार भएका कुल ११ उपसमूहमध्ये तीन उपसमूहको सेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ। होटल २० दशमलव ७९, निर्जीवन बीमा २९ दशमलव ८१ र उत्पादन २ दशमलव ३२ बिन्दुले बढेको छ।
यस्तै बैंकिङ ६ दशमलव ४८, व्यापार २ दशमलव ९६, विकास बैंक ६ दशमलव शून्य दुई, जलविद्युत् ३ दशमलव ३६, वित्त २ दशमलव १५, अन्य ३३ दशमलव ४४, लघुवित्त ४ दशमलव ६२ र जीवन बीमा ५२ दशमलव ३३ बिन्दुले घटेका छन्।
घटेको बजारमा मल्टिपर्पोज फाइनान्स कम्पनी, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, खानीखोला जलविद्युत् कम्पनीका शेयरधनीले कमाएका छन्।यस्तै कावेली विकास बैंक, नेपाल दूरसञ्चार कम्पनी, रैराङ हाइड्रो पावर कम्पनी, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था र नेपाल बङ्गलादेश बैंकका सेयरधनीले आज गुमाएका छन्। रासस