पत्रकार गुरुङको ‘निरन्तर नेतृत्व’
काठमाडौं : प्रधामनन्त्री केपी ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गरेका छन्। तमूे चाड ल्होछारको अवसरमा आइतबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले पुस्तक विमोचन गरे।
प्रधानमन्त्री ओलीले यो पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए। समाजमा लेखेर योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने उनको भनाइ थियो।
बेलायतमा तमूले सामाजिक संस्था स्थापनाका लागि गरेको संघर्षलाई समेटेर पत्रकार गुरुङले पुस्तक लेखेका हुन्। पुस्तकमा तमुधिँ युकेका आठ नेतृत्वको अनुभव समेटिएको उनले बताए। पुस्तकमा तमुधिँ युके स्थापनाको १८ वर्षको संघर्ष र सफलता समेटिएको छ। प्रवासको भूमिमा रहेर पनि समाजसेवामा पुर्याएको योगदान र मानवीय सहयोगका लागि तमुधिँले खेलेको भूमिकालाई पुस्तकको मुख्य विषयवस्तु बनाइएको छ।
त्यसैगरी, सो पुस्तक बेलायतमा पनि आइतबार नै विमोचन गरिएको छ। गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधिँ युकेले आयोजना गरेको ल्होछार समारोहमा विमोचन गरेका हुन्। प्रधानमन्त्रीले गौरव गुरुङद्वारा लिखित ल्होछार गीतको भिसीडीसमेत सार्वजनिक गरे।