प्रजातान्त्रिक योद्धा राईको नाममा हुलाक टिकट
काठमाडौं : सरकारले प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको तस्बिरअंकित हुलाक टिकट प्रकाशन गरेको छ। सञ्चार तथा सूचना–प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार १० रुपैयाँ दरका टिकटमा टाँचा लगाए।
रामप्रसादकै नाममा यसअघि २०५५ सालमा ७५ पैसा दरका टिकट प्रकाशन गरिएको थियो। उनी २००७ सालको क्रान्तिमा भोजपुर क्षेत्रबाट लडेका थिए। दिल्ली सम्झौताप्रति असन्तुष्ट उनी २००८ सालको सिंहदरबार विद्रोहपछि बेपत्ता भएका थिए।
'इतिहासले न्याय गर्छ भन्ने टिकट प्रकाशन कार्यबाट प्रमाणित भएको' मन्त्री बाँस्कोटाको भनाइ थियो। ‘यो साधारण हुलाक टिकट होइन’, उनले भने, ‘रामप्रसादले प्रजातान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको सम्मान भएको छ। न्यायको जित भएको छ। यो कार्य त उहिल्यै हुनुपर्थ्यो।'
हुलाक सेवा विभागका महानिर्देशक देवीप्रसाद ज्ञवालीले इन्डोनेसियामा ५ लाख प्रति टिकट छापिने बताए। ‘अहिले १६० वटा लिएर आएका छौं’, उनले भने, ‘बाँकी तीन महिनाभित्र आउनेछ।’ उनका अनुसार यो टिकट पूर्णकला लिम्बूले डिजाइन गरेकी हुन्।