नेकपा एकीकरण : तल्लो तहमा कार्यदल नजाने

नेकपा एकीकरण : तल्लो तहमा कार्यदल नजाने

काठमाडौं : पुस मसान्तभित्रै एकताका सम्पूर्ण खाका तयार पार्ने जिम्मेवारी पाएको नेकपा कार्यदलले पार्टीको जिल्ला संगठनसम्मको एकता प्रस्ताव तयार पार्ने भएको छ । केन्द्रीय विभाग, आयोग, जनवर्गीय संगठनको नेतृत्व र जिल्ला संगठनसम्मको सम्पूर्ण संरचना कार्यदलले तयार पार्नेछ । तर पार्टीको जिल्ला कमिटीभन्दा तलको एकताका लागि भने कार्यदलले काम नगर्ने नेताहरूले बताएका छन्।

कार्यदलको औपचारिक बैठक बसिसकेको छैन । कार्यदल गठन भए पनि त्यसको टीओआर नेतृत्वले दिइनसकेका कारण टीओआर र नेतृत्वको निर्देशनको पर्खाईमा कार्यदल छ । नेकपा स्थायी समिति बैठकले संगठनात्मक एकताका सम्पूर्ण प्रक्रियाको टुंगो लगाउन १३ पुसमा ९ सदस्यीय छुट्टै कार्यदल गठन गरेको थियो । सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, वेदुराम भुसाल, रघुवीर महासेठ, योगेश भट्टराई र लेखराज भट्ट कार्यदलमा छन्।

कार्यदल सदस्य भुसाल कार्यदलको बैठक बसिनसकेको बताउँछन् । ‘अहिले कार्यदल बनेको मात्र छ, यसको औपचारिक बैठक बसिसकेको छैन’, उनले भने । अर्का कार्यदल सदस्य भट्टले शीर्ष नेतृत्वले टीओआर दिएपछि कार्यदलले काम थाल्ने जानकारी दिए ।

कार्यदलले जिल्ला कमिटीको अध्यक्ष, सचिव, इन्चार्ज र सहइन्चार्ज, जिल्ला कमिटी सदस्यहरूको नाम, केन्द्रीय आयोग (अध्यक्ष, सचिव र सदस्यहरू), ३५ वटा केन्द्रीय विभाग (प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरूको नाम) को प्रस्ताव तयार पार्नेछ । त्यस्तै जनवर्गीय संगठनको नेतृत्व, राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चको प्रस्ताव कार्यदलले तयार पार्नेछ ।

पोलिट ब्युरो गठन प्रस्ताव र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने अधिकार पनि कार्यदललाई नै हुनेछ । तर यही काम गर्न यसअघि पनि नेकपाले गृहमन्त्री थापा र महासचिव पौडेल रहेको दुई सदस्यीय कार्यदल बनाएर गृहकार्य गरेको थियो । उक्त दुई सदस्यीय कार्यदलले गरेको गृहकार्यको प्रस्ताव स्थायी समिति बैठकमा पेस नभई अर्काे छुट्टै कार्यदल बनेको हो । ‘पहिलेका कार्यदलले गरेका गृहकार्य पनि यही कार्यादलमा केन्द्रित हुन्छन्, त्यसलाई पनि आधार बनाइन्छ’, एक नेताले भने ।

के हुन्छ मापदण्ड ?       

कार्यदलले एकता गर्दाका कमिटीमा पूर्ववत् पार्टीका आधारमा पहिले कमिटीको संख्यामा भागबन्डा लगाउनेछ । भागबन्डा लगाउँदा विगतका कार्यदलले गरेको गृहकार्य र लगाएको भागबन्डालाई पनि आधार बनाएर काम गर्नेछ । ‘पहिले पूर्ववत् पार्टी समूहका कति संख्याका नेता कमिटीमा रहने भन्ने भागबन्डा हुन्छ’, कार्यदलका एक सदस्यले भने ।’

प्रदेश पदाधिकारी चयनबाट पछि नफर्किने

प्रदेश पदाधिकारीमा गण्डकी र प्रदेश ५ का इन्चार्जलाई कार्यकारी भूमिकामा दोहोरो जिम्मेवारी परेको नेकपा बैठकमा चर्काे आवाज उठ्यो । प्रदेश ५ र गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका नेतालाई नै नेकपा सचिवालयले पार्टी प्रदेश इन्चार्जको समेत जिम्मेवारी दिएको थियो । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र प्रदेश ५ मा शंकर पोखरेल दुवै जिम्मेवारीमा छन् ।

तर यो निर्णयवाट नेतृत्व पछाडि हट्न तयार भएन । खासगरी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली निर्णयमा टसमस नभएपछि यो निर्णयबाट अब पछाडि नफर्किने तर अन्य कमिटीको जिम्मेवारीमा भने यसलाई नजिर नबनाउने प्रतिबद्धता भएको छ । प्रदेश सदस्यहरूका विषयमा भने आंशिक संशोधन हुन सक्ने भएको छ । त्यसको काम पनि अहिलेको कार्यदल नै गठन गर्ने गरी जिम्मा पाउने भएको छ ।

‘प्रदेश सदस्य हुन विधानमा व्यवस्था गरेअनुसारको योग्यता, क्षमता नपुगेकाहरू प्रदेश कमिटीमा चयन भएका रहेछन् भने त्यसमा कार्यदलले हेरेर संशोधन गर्न सक्छन्’, नेकपाका एक नेताले भने । नेतृत्व र कमिटी सदस्यहरूको नाम छनोटमा भने नेतृत्वले दिने टीओआरलाई आधार बनाएर कार्यदलले काम गर्नेछ ।

प्रक्रिया के हुन्छ ?       

कार्यदलले १५ दिनभित्र आफूले पाएको जिम्मेवारीअनुसारको प्रस्ताव तयार पारेर अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाउनेछन् । स्थायी समिति बैठक समापनका बेला नेतृत्वले पुस मसान्तभित्रै पुनः स्थायी समिति बैठक बोलाएर कार्यदलले तयार पारेको प्रस्तावमा निर्णय लिने बताएका कारण पनि कार्यदलले बढीमा १५ दिनमा काम सक्नुपर्नेछ ।

अध्यक्षद्वयलाई कार्यदलले प्रतिवेदन बुझाएपछि नेतृत्वले सचिवालयमा प्रस्तावमा छलफल गरी ठोस प्रस्ताव बनाएर स्थायी समिति बैठकमा लैजानेछन् । त्यसपछि स्थायी समितिले प्रस्तावमा छलफल गरी निर्णय लिएपछि मात्र एकता प्रक्रिया कार्यान्वयनमा लैजाने नेकपा तयारी छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.