गर्भवतीको निगरानी मोबाइल एप्सबाट
मकवानपुर : गर्भवती र सुत्केरीको निगरानीका लागि कैलाश गाउँपालिकाले आइतबार मोबाइल एप्स प्रयोगमा ल्याएको छ। पाँच स्वास्थ्य चौकीमार्फत एप्सबाट निगरानीको व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष टंक मोक्तानको भनाइ छ।
‘पाँचवटै स्वास्थ्य चौकीमा एप्ससहितको मोबाइल वितरण गरेका छौं’, अध्यक्ष मोक्तानले भने, ‘आफ्नो क्षेत्रभित्र रहेका गर्भवती र सुत्केरीको विवरण अद्यावधिक गर्नुका साथै स्वास्थ्य कर्मचारीले उनीहरूको निगरानी गर्नेछन्।’
गाउँपालिकाले भार्ता, कालिकाटार, नामटार, गोगने र डाँडाखर्क स्वास्थ्य चौकीमा मोबाइल वितरण गरेको छ। ‘यसले आमा र बच्चाको अकालमै ज्यान जाने क्रममा न्यूनीकरण हुनेछ’, उपाध्यक्ष सुकुमाया तामाङले भनिन्, ‘यसका साथै स्वास्थ्य चौकीमा गएर बच्चा जन्माउने क्रम पनि बढ्छ भन्ने विश्वास छ।’ एप्सले समयअवधिका आधारमा सूचना पठाउने र त्यसपछि स्वास्थ्यकर्मीले परामर्श र स्याहार गर्ने गरी व्यवस्था मिलाइएको उनले सुनाइन्।
२०७४÷७५ मा ७० प्रतिशत सुत्केरी र गर्भवतीले दक्ष स्वास्थ्यकर्मीबाट परीक्षण तथा उपचार नगराएको गाउँ स्वास्थ्य समितिको तथ्यांक छ। ३ नम्बरका वडाध्यक्ष देवलाल बलले समयमै उपचार अभावमा वर्षमा पाँच जनासम्मको ज्यान जाने गरेको सुनाए। ‘सामान्य कुरा थाहा नपाउँदा पनि आमा र बच्चाको ज्यान जाने गरेको छ’, उनले भने, ‘कतिपय अवस्थामा सिटामोलसमेत पाउन सक्ने अवस्था छैन। सुत्केरी र गर्भवती महिला स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य अवस्था राम्रो रहनेछ। आमा र बच्चाको मृत्युदरसमेत घट्नेछ।’
गाउँपालिकाले बालबालिका जन्म गराउने संख्या ३० भन्दा बढी भए ५ सय रुपैयाँका दरले कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। २०७४÷७५ मा जम्मा १ सय २० जनाले दक्ष स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराएका थिए। ६ सय २० महिलाले पहिलो पटक स्वास्थ्य चौकीमा परीक्षण गराएका थिए।
१) कालिकाटारस्थित कटुन्जे स्वास्थ्य चौकीमा कुपोषणपीडित बच्चा जचाउँदै कैलाश–३ की किशोरी आमा। कृष्ण सारू मगर