मदिराजन्य बेभरेजमा मापदण्ड
गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा बिक्रीवितरणमा लगाम लगाउन सरकारले पहिलोपटक मापदण्ड तोकेको छ।
खुसीमा जमघटको रमाइलो माहौल होस् वा दुःखको क्षण। साथी बन्ने गर्छ मदिरा। लामो समयपछि दुई चार जना जम्मा हुने वा भेटघाट हुने साइत जुर्यो भने मिठो खानपानसँगै बहाना बन्छ, मदिरा। माहौलसँगै सुरु हुन्छ, एक आपसमा ग्लास ठोक्काउँदै ‘लेट्स चियर्स’। अहिले यो शब्द सामान्यजस्तै भइसकेको छ।
यसरी सुख–दुःखको माहौलमा लेट्स चियर्ससँगै सुरु हुने मदिरापानमा पिइने मदिरा कति स्वास्थ्यवद्र्धक र गुणस्तरीय छन त ? एकपटक बिचार गर्नैपर्ने बुला आएको छ। भट्टीमा पाइने न्यूनस्तरको रक्सी र महँगा सोरुममा सजाएर बिक्री गरिने मदिराजन्य पदार्थ सेवन गरेर ‘हयाङ ओभर’ भएर बेस्कनी टाउको दुखेको समस्या पनि उतिकै भेटिन्छ, मदिराप्रेमीमा।
नेपालमा मदिराको गुणस्तरसम्बन्धी यसअघिसम्म मापदण्ड नहुँदा मदिरा सेवन गरेका कारण ज्यानै गएको र स्वास्थ्यमा प्रतिकूल असर पारेको बेला मौकामा विभिन्न समाचार पनि बाहिर नआएको होइन। गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा बिक्रीवितरणमा लगाम लगाउन सरकारले पहिलोपटक मापदण्ड तोकेको छ।
उद्देश्य हो, सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर नहोस् र कसैको ज्यान नजाओस्। मदिराजन्य पदार्थको गुणस्तर निर्धारणसम्बन्धी मापदण्डले यो विषयमा नियमन गर्न सुरु गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छताका आधारमा ल्याएको मदिराजन्य मापदण्डले अब नेपालमा मानव स्वास्थ्यलाई हानि पुर्याउने गरी झारपाते मदिरा उत्पादन गर्न नपाइने भएको छ।
हालसम्म नेपालमा मदिरा (डिस्टिल्ड अल्कोहोलिक बेभरेज) उत्पादन गर्ने विषयमा गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जिवाणु र मानव स्वास्थ्यलाई गर्न सक्ने हानी नोक्सानीको बारेमा हालसम्म कुनै मापदण्ड थिएन्। सरकारले डिस्टिल्ड अल्कोहोलिक बेभरेजअन्तर्गत अहिले ह्विस्की, रम, जिन, भोड्का र ब्रान्डीको हकमा मापदण्ड कार्यान्वयनमा ल्याएको हो। गत वैशाख ५ गते सरकारले उक्त मापदण्ड राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको हो।
आमउपभोक्ताले गुणस्तरहिन सस्तो र महँगो मदिरा सेवन गरेका कारण मदिरा सेवन गरेको अर्को दिन ‘हयाङ ओभर’ को बिकराल दुखाइका साथै कहिलेकाही ज्यानसम्म गुमाउनुपरेको छ। ‘मदिराजन्य पदार्थको क्षेत्र अहिलेसम्म आफूखुसी छाडा रूपमा चल्दै आएको थियो। आमउपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै समग्र यो क्षेत्रलाई नियमनको दायराभित्र ल्याउन मदिरा उत्पादनसम्बन्धी न्यूनतम आधार मान्नुपर्ने शर्तसहित मापदण्ड तयार पारेर कार्यान्वयनमा ल्याएका छौं’, विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने,‘अबदेखि मापदण्डको आधारभित्र रहेर स्वदेशी उद्योगले उत्पादन गर्नुपर्ने र भारतलगायत तेस्रो मुलुकबाट आयात हुने मदिराजन्य पदार्थ पनि त्यही मापदण्डको हुनुपर्ने बाध्यात्मक व्यवस्था गरेका छौं।’
मदिराजन्य पदार्थको गुणस्तर निर्धारण गर्न र अहिले भइरहेको जताभावी आयात निर्यातमा लगाम लगाउन मापदण्ड तयार पारी कार्यान्वयनमा ल्याइएको हो। विभागकाअनुसार हालसम्म अन्त शुल्क कार्यालय र भन्सारले मदिराजन्य पदार्थमा प्रयोग हुने इथाइल अल्कोहल र स्प्रिटको आयात मात्राअनुसार राजस्व मात्रै असुल गर्दै आएको छ।
‘तर उक्त इथाइल अल्कोहल कुन गुणस्तरको छ। मानव स्वास्थ्यलाई हानि वा नोक्सानी गर्छ। आयातित त्यस्ता इथाइल अल्कोहल र स्प्रिटबाट कस्तो गुणस्तरको मदिराजन्य पदार्थ तयार पारिएको लगायत विषयमा कुनै पनि निकाय जिम्मेवार नभएकाले छुट्टै मापदण्ड तयार पारिएको हो’, महानिर्देशक कर्णले भने।
खाद्य विभागले अहिले बियरवाहेक ह्विस्की, रम, जीन, भोड्का र ब्रान्डीको कच्चा पदार्थ, प्रयोग हुने रसायन, मदिरामा मिथाइल वा स्प्रिटको मात्रा कति राख्नुपर्ने, प्रयोग हुने कच्चा पदार्थ र रसायनबाट मानव स्वास्थ्य र वातावरणमा गर्न सक्ने प्रतिकूल असरलगायत विषयलाई यो मापदण्डमार्फत व्यवस्थित गरिएको छ। यस्ता मदिराजन्य पदार्थको उत्पादन, प्याकेजिङ लेवलिङ, भण्डारण र ढुवानीसम्मको आधार तयार गरिएको छ। बियरको गुणस्तर निर्धारण विषयमा पनि मापदण्ड बनाउने तयारी भइरहेको विभागले जनाएको छ।
तोकिएको मापदण्ड बर्खिलाप गरी न्यून गुणस्तर वा दूषित गुणस्तरको यस्ता मदिरा उत्पादन गरिएको अवस्थामा खाद्य ऐनअनुसार कारबाही गरिने व्यवस्थासमेत गरिएको छ। यसका साथै स्वदेशी उत्पादक र विदेशबाट आयात गर्ने आयातकर्ताले पनि यो बिभागबाट अनिवार्य अनुज्ञापत्रसमेत लिनुपर्ने व्यवस्था मिलाइएको छ।
लेभलमा उत्पादक, प्याकरको नाम, ठेगाना, इथाइल अल्कोहलको मात्रा अनिवार्य उल्लेख गर्नुपर्नेछ। मदिराजन्य पदार्थको लेभलमा स्वास्थ्यसम्बन्धी कुनै पनि विषयवस्तु दाबी गर्न नपाइने र प्रकृति, उत्पादन, स्रोत तथा अन्य गुणको बारेमा भ्रामक जानकारी दिन नपाउने भनी मापदण्डमा व्यवस्था गरिएको छ।
आन्तरिक राजस्व विभागका अनुसार नेपालमा एक वर्षमा झण्डै करिब साढे ६२ अर्ब रुपैयाँभन्दा बढीको रक्सीको कारोबार हुन्छ। मुलुकभित्र उत्पादित दर्ताबाहेकको लोकल ठर्राबाहेक दर्तावाल कम्पनीबाट उत्पादित र विदेशबाट आयात गरी करिब ६२ अर्ब बराबरको मदिरा नेपालीले सेवन गर्दै आएका छन्।
यस्ता पदार्थ मिसाउन नपाइने
सरकारले ह्विस्की, रम, भोड्का, ब्रान्डी र जिन उत्पादन गर्न केही पदार्थ प्रयोग गर्न नपाइने गरी प्रतिबन्धसमेत लगाएको छ। पाँच प्रकारकै मदिरा उत्पादन गर्दा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड, साइकोट्रपिक, क्याफिनलगायत अन्य प्रकारका पदार्थको प्रयोगमा यो मापदण्डले प्रतिबन्ध लगाएको छ। स्वास्थ्यसम्बन्धी दाबी पनि गर्न नपाइने गरी प्रतिबन्ध गरिएको छ।
यस्तो पदार्थ मिसाएर तयार हुने मदिरा नसालु मात्रै होइन, आम उपभोक्ताको ज्यानसमेत लिन सक्छ। ह्विस्की, रम, भोड्का, ब्रान्डी र जिनका लागि इथाइल अल्कोहलको मात्र ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेन्टिग्रेड) तोकिएको छ। लेभलमा उल्लेख गरिएको मात्राभन्दा तीन प्रतिशत घटी वा बढीसम्म स्वीकार्य हुने मापदण्ड बनाइएको छ।
ह्विस्कीको मापदण्ड
खाद्य विभागले माल्ट ग्रेन, ब्लेन्डेड र अन्य प्रकारको ह्विस्कीको हकमा अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई जीवन रासायनिक प्रक्रियाबाट प्रशोधन (फरर्माटेसन) गरी तयार पार्न सकिने मापदण्ड तयार गरिएको छ। यस्तै कम्तीमा एक बर्ष ओकको भाँडामा राखेर भण्डारण गरिएको हुनुपर्छ। ह्वीस्कीमा इथाइल अल्कोहोलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेल्सियस) सम्म हुनुपर्ने उल्लेख छ।
रमको मापदण्ड
रम, ह्वाइट रम र फ्लेवर्ड रमको हकमा उखुको रस, उखुको गुड, उखुको सुगर बिट, सुगर बिट मोलासेसजन्य खाद्य पदार्थलाई फरर्माटेसन गरी मात्रै रम बनाउन हुने भनिएको छ। यस्तै यस्ता खाद्य पदार्थबाट तयार भएको न्युट्रल स्प्रिट वा रेक्टिफाइड स्प्रिट वा डिस्टिल्ड वा यस्ता मि श्रणबाट पनि रम तयार पार्न सकिन्छ। रममा कुनै पनि पदार्थ थिग्रेको वा तैरिएको हुनुहुँदैन। यसमा कैरामलबाहेक अन्य रंग प्रयोग गर्न पाइदैन। रममा इथाइल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत (आयतनको आधारमा २० डिग्री सेन्टिगे्रड तापक्रम) हुनुपर्छ। लेबलमा उल्लेख भएको मात्राभन्दा इथाएल अल्कोहल तीन प्रतिशतले घटीबढी हुनु हुँदैन।
भोड्काको मापदण्ड
आलु, अन्न, मोलासेस वा कार्वोहाइड्रेटजन्य पदार्थको फरर्माटेसन गरी डिस्टिलेशन प्रक्रियाबाट प्राप्त हुने न्युट्रल स्प्रिटबाट भोड्का तयार हुन्छ। यसमा स्वभाविक र वास्ना भएको हुनुपर्छ। यसमा पनि इथाएल अल्कोहलको मात्रा ३६ देखि ५० प्रतिशत तोकिएको छ।
ब्रान्डीको मापदण्ड
ब्रान्डीको हकमा तीन प्रकारको मापदण्ड तोकिएको छ। अंगुरको ब्रान्डिको हकमा ताजा, स्वस्थ र पाकेको अंगुरको फरर्माटेसन जुसबाट मात्रै तयार गर्नुपर्ने उल्लेख छ। यस्तै फलफूलको ब्रान्डिको हकमा अंगुरबाहेक अन्य फलफूलको फरर्माटेसन जुसबाट तयार गर्नुपर्ने आधार तोकिएको छ। यसैगरी ब्लेन्डेड ब्रान्डीको हकमा फलफूलको ब्रान्डी वा न्युट्रल स्प्रिट रेक्टिफाइड स्प्रिटमा दुई प्रतिशत अंगुरको ब्रान्डी मिसाएर तयार गर्न सकिने उल्लेख छ।
जिनको मापदण्ड
जिनको हकमा जुनिपर बेरीको वाष्पशील तत्वको स्वाद भएको न्युट्रल स्प्रिटबाट तयार गर्न सकिने उल्लेख छ। यसमा अन्य वनस्पति र वास्नाको वास्पशील तत्व पनि प्रयोग गर्न सकिन्छ। यो सग्लो र स्वच्छ पानी राख्दा धमिलो हुनु हुँदैन।