भक्तपुर क्यान्सर अस्पतालमा बच्चामा हुने रक्तक्यान्सरको उपचार सुरु

भक्तपुर क्यान्सर अस्पतालमा बच्चामा हुने रक्तक्यान्सरको उपचार सुरु

भक्तपुर : भक्तपुरको दूधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालमा बच्चामा हुने रक्तक्यान्सर (ब्लड क्यान्सर) का विशेषज्ञ चिकित्सकले सेवा सुरु गरेका छन्। बंगलादेशबाट बच्चामा हुने रक्तक्यान्सरमा एमडी सकाएर आएकी डा. सुस्मा गुरुङले अस्पतालबाट सेवा सुरु गरेकी हुन्।

अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले बच्चामा हुने रक्तक्यान्सरमा एमडी गर्ने डा. गुरुङ पहिलो चिकित्सक भएको समेत बताए। क्यान्सरको गुणस्तरीय उपचार सेवा प्रवाह गर्न अस्पतालले डा. गुरुङलाई नियुक्त गरिएको उनले जानकारी दिए।'डा. गुरुङको नियुक्तिसँगै भक्तपुर क्यान्सर अस्पतालमा बच्चादेखि महिला र पुरुष सबैलाई हुने क्यान्सरको उपचार उपलब्ध भएको छ,' मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले भने।

उनका अनुसार अस्पतालले उपचारसँगै क्यान्सरको गुणस्तरीय औषधि व्यवस्थापनका लागि यसअघि नै मेडिकल अन्कोलोजीका विशेषज्ञ चिकित्सकको व्यवस्था गरिसकेको छ। अस्पतालमा मेडिकल अन्कोलोजीमा एमडी गर्ने डीएम डा. कमलराज सोतीलाई नियुक्त गरेर सेवा प्रवाह गर्दै आएको हो।

त्यस्तै अस्पतालमा पहिलेदेखि कार्य गर्दै आएका क्यान्सर रोग विशेषज्ञ चिकित्सक डा. प्रभु साहले पनि हालै किर्गिस्तानबाट मेडिकल अन्कोलोजीमै एमडी गरेर आएका छन्। उनले समेत पूर्ववत अस्पतालमा सेवा प्रवाह सुरु गरिसकेको मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठ बताउँछन्।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले अस्पतालले क्यान्सर रोगको अन्तर्राष्ट्रियस्तरको उपचार सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गर्दै आएको बताए।

क्यान्सर महंगो उपचार भएकाले बिरामीले पैसा खर्च गरेअनुसार उपचार पनि गुणस्तरीय हुनुपर्ने उनको भनाइ थियो। उनले क्यान्सर उपचार महंगो भएकाले जनरल अस्पतालहरुले समेत क्यान्सर उपचारको नाउँमा बिरामी ठग्ने प्रवृत्ति बढेको गुनासो गरे ।

उनले भने, ‘यस्ता अस्पताललाई सरकारले समेत क्यान्सर उपचारको अनुदान दिँदा गल्लीगल्लीमा अस्पताल खुल्ने क्रम बढेको छ’, उनले भने, ‘यस्ता अस्पतालमा उपचार गराउन जाँदा ठगिएर भक्तपुर क्यान्सर अस्पताल आउने बिरामीहरु पनि छन् ।’

मेमोग्राम मेसिन सञ्चालनमा
यसैबीच भक्तपुर क्यान्सर अस्पतालमा बिग्रिएका दुइटै मेमोग्राम मेसिन सञ्चालनमा आएका छन् । मेमोग्राम मेसिन बिग्रँदा महिला बिरामीहरु स्तनको एक्सरे गर्न अन्यत्र धाउनुपर्ने बाध्यता आएको थियो । मेमोग्राम बिग्रिएपछि अस्पताल पुग्ने महिला बिरामीले भोग्नुपरेको समस्याबारे अन्नपूर्ण पोष्टमा मेमोग्राम मेसिन बिग्रेकोबारे समाचार प्रकाशित भएको थियो।

अन्नपूर्णमा समाचार प्रकाशित भएको करिब एक हप्तापछि मर्मत गरी मेमोग्राम मेसिन पुनः सञ्चालनमा ल्याइएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए। मेमोग्राम मेसिनले महिलाहरुलाई हुने स्तन क्यान्सरको एक्सरे गर्छ । उक्त एक्सरेको आधारमा महिलालाई स्तनको क्यान्सर भए नभएको थाहा हुन्छ।

अस्पतालको सर्जिकल विभागको दैनिक बहिरंग सेवामा आउने बिरामीमध्ये २५ प्रतिशत बिरामी स्तनसम्बन्धी समस्या लिएर आउने विभागका चिकित्सक डा. उत्सवमान श्रेष्ठ बताउँछन्।अक्टोबर महिनाभर स्तन क्यान्सरसम्बन्धी जनचेतना फैलाइएकाले अहिले स्तन जँचाउन आउने महिलाहरुको संख्या बढिरहेको उनको भनाइ थियो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.