देउवाको जालमा ‘कांग्रेसका सप्तऋषि’

देउवाको जालमा ‘कांग्रेसका सप्तऋषि’

देवतालाई तत्त्वज्ञानतर्फ उन्मुख गराउने, मुक्तिपथमा हिडाउने र ज्ञानलाई संरक्षण गर्ने महर्षि हुन् सप्तऋषि। विष्णु पुराणमा उनीहरूको नाम मरिची, अत्रि, अंगिरा, पुलह, क्रतु, पुलस्त्य र वाशिष्ठ  छ। २०७४ मंसिर १२ र २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा लज्जास्पद हारपछि नेपाली कांग्रेस संस्थापन पक्षविरुद्ध आवाज उठाउन सात युवा नेताले एक समूह बनाए जसलाई ‘सप्तऋषि’ कै नाम दिइयो।

युवा नेता गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, चन्द्र भण्डारी र बद्री पाण्डेले ‘सप्तऋषि’ समूहलाई २०७४ साल पुस १५ गते  विज्ञाप्ति जारी गर्दै जन्माए। अहिले कांग्रेस वृत्तमा यो समूह कतै हराए जस्तै भएको छ।

‘पाका नेतालाई पार्टी संचालनको आधुनिक ढाँचा सिकाउन’ हिँडेका युवाको समूहले महासमिति बैठक (२९मंसिर–८पुस) मा अपेक्षा अनुरूपको भूमिका खेल्न सकेन। चन्द्र भण्डारीले, धनराज गुरुङ, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा र जीवन परियारको उपस्थितिमा यो समूहले महासमिति बैठक तयारी स्वरुप गत कार्तिक २८ गते छुट्टै छलफल गरेको थियो। 

छलफलपछि नेता धनराज गुरुङले अन्नपूर्णसँग भनेका थिए, ‘पार्टीभित्रको द्वन्द्व समाधान गर्न महासमिति बैठकमा नयाँ विचार र दृष्टिकोण प्रस्तुत गर्दै नयाँ चुनौतीको सामना गर्नका लागि युवा पुस्ताअघि सर्नुपर्ने निष्कर्ष निकालिएको छ।’
 
पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जादिने कांग्रेसजनको अपेक्षा थियो। तर, महासमितिमा युवा समूहले आफ्नो छाप छोड्न नसकेको अहिले कांग्रेस वृत्तमा चर्चा छ। पद स्वार्थका लागि बनेको समूह जसरी सार्वजनिक भएको थियो त्यसरी नै बिलाउन थालेको कांग्रेस संस्थापन पक्षका अर्काथरी नेताको विश्लेषण छ। 
 
युवा समूहका पाका नेता चन्द्र भण्डारी आफू निरन्तर लागिरहेको र अब फरक ढंगले अगाडि बढ्ने योजनामा रहेको बताउँछन्। ‘पार्टीमा व्यक्तिवादी र समूहवादी प्रवृति व्यापक रुपमा मैलाएकाले यस समुहले त्यति राम्रो तरिकाले काम गर्न सकेको छैन तर, एक किसिमको आशा भने जगाएको छ, अब हामी फरक ढंगले अगाडि बढ्ने योजनामा छौं’, उनी भन्छन्। 

नेताको पद स्वार्थ

कांग्रेसभित्र हारको ठूलो हलचल मच्चिरहेका बेला केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा यो समूह बन्यो। २०७४ पुस १५ गते उक्त समूहले पाँचबुँदे वक्तव्य जारी गर्दै पार्टीको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको माग गर्यो। मागसँगै युवामा पद स्वार्थ लुकेको यस पछाडिका घटनाले स्पष्ट पार्छन्।

यो समूहका नेता प्रतिनिधिसभा निर्वाचनका बेला वा त्यस वरिपरी पार्टीमा संस्थापन पक्षबाट उपेक्षित थिए। यो समूहमा निर्वाचनमा कांग्रेसले हार व्यहोरेसँगै उनीहरू सभापति देउवालाई पाखा लगाउने योजना बनाए। तर, कांग्रेस संस्थापनले सभापतिलाई घुँडा टेकाउने समूहको योजनालाई सफल हुन दिएन। फलस्वरुप समूह फुट्यो। र, विश्वप्रकाश शर्मालाई पार्टी प्रवक्ता बनाइयो। 

प्रवक्ताको पदभार ग्रहण गरेपछि एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले पार्टीमा बदलिनेले मात्रै नेतृत्व लिने र नबद्लिने बिदा हुने अभिव्यक्ति दिए। उनले युवा पुस्ता भन्दापनि आफू ‘प्रवृत्तिले पार्टीलाई ड्रइभ’ गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए। यो अभिव्यक्तिबाट शर्माले समूहका अन्य सहस्यलाई आफू यस समूहमा नरहेको जनाउ दिएका थिए। अहिले उनी निरन्तर सभापति देउवाका हरेक कदमको प्रतिरक्षा गर्नमा व्यस्त छन्। 

गत वैशाख ११ गते सभापति शेरबहादुर देउवा उपस्थिति भएको केन्द्रीय समिति बैठकमा यो समूहले ५१ पृष्ठ लामो धारणापत्रको पेश गर्यो। गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव, जीवन परियारले दस्तावेजमा हस्ताक्षर गरेका थिए। 

दस्तावेजमा गरिएको हस्ताक्षरबाट समूहमा विश्वप्रकाश शर्मा, बद्री पाण्डे बाहिरिएको र रामकृष्ण यादव, जीवन परियार भित्रिएको प्रष्ट भयो। यसमा थपिएका नेता संस्थापनबाट उपेक्षित थिए भने समूहबाट हटेका नेताले संस्थापन पक्षबाट कुनै पद पाएका थिए। 

‘सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल जस्ता पाका नेता हाम्रो उमेरमा मन्त्री भइसक्नु भएको थियो’, युवा समूहका नेता जीवन परियार भन्छन्, ‘नेता चन्द्र भण्डारीको उमेरमा सभापति देउवा प्रधानमन्त्री नै भइसक्नु भएको थियो। तर, अहिले उहाँहरूले हामीलाई पत्याउन सक्नुभएको छैन, उहाँहरू पनि पार्टीभित्र सङ्घर्ष गरेरै आउनु भएको हो तर युवालाई बुझ्नु भएन, आज वा भोलि हामी अधिकार खोसेरै छोड्छौं।’
 
१२ औं महाधिवेशनबाटै पार्टी सुधारका निम्ती काम गरिरहेको युवा नेता परियार बताउँछन्। ‘युवाको दबाबले प्रभाव नै नपरेको भन्ने होइन केही कुरा पूरा पनि भएका छन् तर विभिन्न कारणले हामीबीचमै अड्किनु परेको छ’, उनी भन्छन्।  

पार्टीमा उपेक्षित भएपछि छुट्टै समूह बनाएर संस्थापन पक्षसँग बार्गेनिङ गर्ने प्रवृति अहिलेको भने होइन। पार्टीमा गणतन्त्रको बहस उठानका लागि २००८ सालमा बालचन्द्र शर्मा, केदारमान व्यथित र भरतमणि शर्माले दबाब समूह नै बनाएका थिए। यो समूहले २००८ साल चैत २५ गते निकालेको ‘नेपाली काँग्रेसका लागि लोकतान्त्रिक समाजवादी घोषणापत्र २००८’ कै प्रभावस्वरुप २०१२ मा ‘प्रजातान्त्रिक समाजवाद’ नीति पारित भएको मानिन्छ। 

बिपीले मृत्युअघि आफूले तीन नेतालाई जिम्मेवारी हस्तान्तरण गरेको बताएका थिए। कृष्णप्रसाद भट्टराई कार्यबाहक सभापति, गणेशमान सिंह सर्वोच्च नेता र गिरिजाप्रसाद कोइरालाले महामन्त्री पद सञ्चालन गरेका थिए, जसलाई ‘ट्रोइका’ नामाकरण गरिएको थियो। 

२०५३ सालमा पहिलोचोटी गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित भएपछि यो समूह टुटेको देखिन्छ। २०३४ देखि २०४८ सम्म कार्यबाहक सभापति रहेका कृष्णप्रसाद भट्टराई त्यसपछि निर्वाचित सभापतिको हैसियतमा थिए।

भट्टराई पार्टी सभापतिबाट हटाएर गिरिजाप्रसादलाई त्यो पदमा ल्याउन दलभित्र तयार पारिएको खुमबहादुर खडका, गोविन्दराज जोशी र विजय गच्छदारको समूह ‘केजीवी’ को नामले चिनिन्थ्यो। गिरिजाले मृत्युअघि सुशील कोइरालालाई कार्यबाहक सभापति बनाए, जो प्रधानमन्त्री मात्र बनेनन् सभापति पदमा दोस्रो कार्यकाल पनि निर्वाचित भए। प्रधानमन्त्री पदमा एमालेका केपी ओलीसँग हारेपछि महाधिवेशनको तयारीको क्रममा कोइरालाको निधन भयो। 

सुशीलको अवशानपछि सभापति पदमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच भएको प्रतिस्पर्धामा देउवाले नेतृत्व हत्याए। कांग्रेसमा २०४८ देखि २०५३ सम्म सक्रिय दोश्रो पुस्ता भनिएको रामचन्द्र पौडेल, शैलजा आचार्य र शेरबहादुर देउवाको गठबन्धन ‘राशश’ का नामले चिनिन्थ्यो, जसमध्ये अहिले देउवा र पौडेलले कांग्रेस हाँकिरहेका छन्।

बुढाकै साहारामा ४० वर्षे युवा !

४० देखि ५५ वर्ष उमेर समूहका युवा नेता कांग्रेसलाई नयाँ तरिकाबाट हाँक्ने आफ्नो चाहनालाई पाका नेताहरूले रोकेको गुनासो गर्छन्। अर्कोतर्फ पार्टी पाका नेता भने उमेरका हिसाबले भोलिको कांग्रेस हाँक्ने सम्भावना युवा नेतामा भएपनि अहिले ऐजेण्डा तथा पार्टीभित्र हैसियतको हिसाबले उनीहरूको समय नआएको तर्क गर्छन्। 

‘सुतेकालाई उठाउन सकिन्छ सुतेको जस्तो गर्नेलाई उठाउन सकिँदैन’, समूहका नेता भण्डारी भन्छन्, ‘हाम्रो उमेरमा उहाँहरू पार्टीको नेतृत्वमा गएर मन्त्री र प्रधानमन्त्री भइसक्नु भएको थियो तर हामीलाई उहाँहरूले नै समय भएको छैन भन्दै पछाडि धकेलिरहनु भएको छ।’

नेतृत्वमा जान्छौं भनेपनि यो समूह ठूला नेताहरूको गुटबन्दीबाट भने छुट्टिन सकेको छैन। कांग्रेस बदल्ने एजेण्डा बोकेर हिडिरहेको यो समूह अझैपनि देउवा, पौडेल र सिटौला गुटमा आश्रय लिएर बसिरहेका छन्। रामचन्द्र पौडेल समूहका विश्वप्रकाश शर्मा देउवा नजिक पुगेर प्रवक्ता बने भने उमेरले यो समूहका सबैभन्दा पाका भण्डारी पहिल्यैदेखि देउवा गुटमै छन्। 

कृष्णप्रसाद सिटौला समूहका गगन थापा र प्रदिप पौडेलले पनि आफ्नो छुट्टै धार निर्माण गर्न सकेका छैनन्। धनराज गुरुङ, गुरुराज घिमिरे र राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भैसकेका बद्री पाण्डे अहिले पनि पौडेल समूहमै छन्। सोही कारण पनि केन्द्रीय समितिमा पुगेका युवा नेतालाई मुख्य नेतृत्वले  नपत्याइरहेको एक थरीको नेताहरूको गुनासो छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.