राष्ट्रिय क्रिकेट टोली घोषणा : को को परे ?
काठमाडौं : आगामी महीनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र ट्वेन्टी ट्वेन्टी शृङ्खलाका लागि प्रारम्भिक चरणमा २० सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एक दिवसीय र तीन खेल ट्वेन्टी ट्वेन्टी शृङ्खलाका खेल खेल्दैछ।
आइसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले २० सदस्यीय टोलीको सोमबार घोषणा गरेको हो। छनोट हुने टोलीको कप्तानमा पारस खड्का छन्।
अन्य सदस्यमा वसन्त रेग्मी अविनाश बोहरा, भीम सार्की, विक्रम सोब, दीपेन्द्रसिंह एरी, विनोद भण्डारी, ज्ञानेन्द्र मल्ल, करण केसी र ललित भण्डारी छन्।
ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, रोहीतकुमार पौडेल प्रदीप ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, शुशन भारी, शरद भेषवाकर र सन्दीप जोरा छन्।
नेपालले माघ ११ देखि २० गतेसम्म युएईसँग खेल्नेछ। भीम सार्की, सन्दिप जोरा र पवन सर्राफले राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा पहिलो पटक समावेश भएका हुन।
खेलमा पहिले एक दिवसीय र त्यसपछि टी ट्वेन्टी शृङ्खला हुनेछ। नेपालले अघिल्लो वर्ष जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एक दिवसीय मान्यता पाएको थियो। रासस