बावुलाई बचाइदिन छोरीको याचना
सुर्खेतः रुखबाट लडेपछि गम्भीर घाइते भएका कालिकोट पचालझरना गाउँपालिका-१ का नेत्र खड्का चार हप्तादेखि काठमाडौंको न्युरो अस्पतालमा आइसीयु कक्षमा उपचारत छन्।उनी घाँस काट्न गएका खड्का रुखबाट खसेपछि बेहोस भएका थिए। उनको अझैंसम्म होस खुलेको छैन। जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पुर्याइएका खड्काको उपचारमा आर्थिक समस्या आएको छ।
उनको टाउकाको शल्यक्रिया गरिएको छ। शल्याक्रिया गर्दा सातलाख खर्च भइसकेको छ। चिकित्सकले अर्को शल्यक्रिया समेत गर्नुपर्ने सुझाव दिएपछि उनको परिवारमा थप आर्थिक समस्या आएको छ। उपचारका लागि खर्च अभाव भएपछि खड्का परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ।
बावुको हेरचाहमा साथमा रहेकी छोरी सदिक्षा खड्काले घरमा भएको र आफन्तबाट आएको रकमले एकपटक अप्रेशन गरेपनि अर्को अप्रेशनका लागि लाग्ने खर्च जुटाइदिन सबैसँग अपिल गरेकी छन्। उनले आफ्ना बाबालाई बचाइदिन अनुरोध गरेकी छन्।
शल्यक्रियामै भएको रकम सकिएको र थप उपचारका लागि आर्थिक अभाव भएको सदिक्षाले बताइन। खेतीकिसानी गर्ने खड्का परिवारको आर्थिक स्रोत केही छैन। खड्काका पाँच छोरी र एक छोरा छन्।उपचारका लागि खड्का परिवारले जिल्लादेखि राजधानीसम्म सबैसँग सानै सहयोग भएपनि गरिदिन आग्रह गरेको छ। उपचारकै लागि कालिकोटबाट साथमा आएका उनका भतिजा सरोज खड्का आर्थिक स्रोत जुटाउन दौडधुप गरिरहेका छन्।
'अहिलेसम्म ऋण गरेरै भएपनि उपचार गरिरहेका छौं, सात लाख खर्च भइसक्यो, उनले भने, 'चिकित्सकले अझैं अर्को शल्यक्रियाका लागि खर्च लाग्ने बताएका छन्, भएको रकम सकिसक्यो।' कसैले सहयोग गरिदिएमा बाबालाई बचाउन सकिने भन्दै सदिक्षा र सरोजले चिजान भएकासँग गुहार मागिरहेका छन्। सहयोग गर्न चाहने व्यक्तिले मोबाइल नम्बर ९८४०२५३६५८ मा सम्पर्क गर्न सदिक्षाले अनुरोध समेत गरेकी छन्।