७४ हजार विद्यार्थी दीक्षित हुँदा नौ हजार मात्रै रमाए (फोटो फिचर)
काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट एक वर्षको अवधिमा विभिन्न तह उत्तीर्ण गरेका ७४ हजार दुई सय ८४ जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा भने नौ हजार पाँच सय पाँच विद्यार्थी र तीनका अभिभावक मात्र उपस्थित भए।
अन्यलाई पनि सोही समारोहबाट दीक्षित भएको घोषणा गरियो। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विद्यार्थीलाई दीक्षित भएको घोषणा गरे। कार्यक्रममा नै उपस्थित भएका विभिन्न तहबाट गोल्ड मेडल प्राप्त विद्यार्थीलाई पनि उनले प्रमाणपत्र वितरण गरे। दीक्षान्त समारोह पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको खेल मैदानमा सोमबार सम्पन भएको हो।
समारोहलाई सम्बोधन गर्दै उनले अध्ययनबाट सिकेको ज्ञान र सीपलाई स्वदेशमै खर्च गर्न विद्यार्थीलाई आग्रह गरे। समारोहमा प्रमुख अतिथि बनेर आएका भारतको नयाँ दिल्लिस्थित जवाहर लाल नेहरु विश्वविद्यालयका स्कुल अफ इन्टरनेशनल स्टडिजका साउथ एसियन इकोनोमिक्स विषयका प्राध्यापक महेन्द्र पी लामाले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र भर नपर्न आग्रह गरे।
शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति गिरीराजमणि पोखरेलले विश्वविद्यालयले दिएको शिक्षा महत्वपूर्ण रहेपनि पर्याप्त नभएको बताए। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाले विश्वविद्यालयलाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउने अभियानमा रहेको बताए। समारोहमा उपस्थित भएका विद्यार्थी एक आपसमा खुशी साटासाट गर्दै रमाएका थिए।