कार्वन उत्सर्जन भावी पुस्ताका लागि दण्ड : राष्ट्रपति भण्डारी
सिन्धुपाल्चोक : राष्ट्रपति विद्यादेवी भण्डारीले विकसित मुलुकले उत्सर्जन गरेका कार्वनका कारण भावी पुस्ताले दण्ड भोग्नु पर्ने अवस्था सिर्जना हुनु मुलुककै लागि अन्याय भएको बताएकी छिन्।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेस्थित हिमाली गाउँ गुफाडाँडामा सोमबार राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्दै उनले वातावरण प्रदुषण सम्बन्धी आफ्नो धारण राखेकी हुन्।
विद्यालयको पाठ्यक्रममै जलवायु सम्बन्धी शिक्षाको व्यवस्था गर्नुपर्ने उनले भनिन्। ‘विकास गर्दा प्रकृतिलाई सिंगारेर गर्नुपर्छ बिगारेर होइन’, भण्डारीले भनिन्, ‘प्रकृतिको अनावश्यक दोहन नहोस् भनेर हामी सचेत हुनुपर्दछ।’
हिमाल, पहाड र समुन्द्रबीचको सामरिक महत्व र अर्थतन्त्रलाई अन्र्तराष्ट्रिय रुपममा हेरिएन भने जलवायु अनुकुलनको समस्या आउने उनको भनाइ थियो। उनले तीन तहको सरकारले समन्वय गरी जलवायु अनुकुलन सम्बन्धी नीति निर्माण गर्न सुझाव दिइन्।
जलवायु परिवर्तनबाट हुने असर कम गर्न स्थानीय तहलाई सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुको राष्ट्रिय भेला सुरु भएको छ।
भेलामा जलवायु परिवर्तन विज्ञ, सम्बन्धित मन्त्रालयका प्रतिनिधि, सांसद र सिन्धुपाल्चोकका स्थानीय तहका प्रमुख सहभागी छन्। दुई दिन चल्ने भेलामा ३८ जनाको विज्ञ समुहले २२ वटा प्रस्तुति गर्नेछन्।
प्रस्तुतिमा समुह छलफलपछि भेलाले निकालेको निचोडलाई गुफाडाँडा घोषणापत्रको रुपमा सार्वजनिक गर्ने मुल आयोजक समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए।