बिपीको आदर्शलाई सम्मान गर्छौँ : मधेसी दल

बिपीको आदर्शलाई सम्मान गर्छौँ : मधेसी दल

वीरगन्ज : मधेसी दलले कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद (बिपी) कोइरालाले अगाडि सारेको राष्ट्रिय एकता र मेलमिलाप नीतिको सान्दर्भिक अझैसम्म रहेको बताएका छन्। 

४२ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा वीरगन्जमा सोमबार नेपाली कांग्रेस पर्साले आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टीका नेता सहभागी थिए। 

कार्यक्रममा मन्तव्य राख्ने क्रममा राजपा र फोरमका नेताले पनि नेपाली राजनीतिमा बिपीको विचार र आदर्शलाई आफ्नो दलले पनि सम्मान र नमन् गर्दै आएको बताए। 

राजपाका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबुप्रसाद पटेलले बिपी सबैको साझा नेता भएको बताए। ‘बिपी कांग्रेसको मात्र नभइ लोकतन्त्र र प्रजातन्त्रमा आस्था राख्ने सबै दलको साझा नेता हुनुहुन्थ्यो’, उनले भने, ‘यो कुरा राजपाले पनि स्वीकार्दै आएको छ।’ 

फोरम नेपाल पर्साका कार्यबाहक अध्यक्ष सुन्दर कुर्मीले नेपालको वास्तविक राष्ट्रियता बिपीले नै बुझेको बताए। 

‘यदि उहा पछिको कांग्रेसको पुस्ताले बिपीको जसरी राष्ट्रियता बुझेको भए मधेस आज असन्तुष्ट हुने थिएन’, उनले भने। कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एंव पूर्वराज्यमन्त्री नागेन्द्र चौधरीले राष्ट्रियतालाई मजबुत बनाउन र लोकतन्त्र, गणतन्त्र र संविधानका उपलब्धि संस्थागत गर्न बिपीले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई सबै राजनीतिक दलले अंगिकार गर्नुपर्ने बताए। 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले बिपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीति मुलुक र जनताको हितका लागि अहिले झन् सान्दर्भिक रहेको यथार्थ सबै दलले स्वीकार गरेको बताए।

पञ्चायती शासका कारण खतरामा परेको राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र जोगाउनका लागि २०३३ सालमा बिपी कोइराला ज्यान नै हत्केलामा राखेर राष्ट्रिय एकता र मलमिलापको नीति र सन्देश लिएर भारतबाट नेपाल फर्किएको स्मरण सिंहले गरे। अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि र संविधानलाई संस्थागत गर्नका लागि पनि बिपीको राष्ट्रिय मेलमिलापको नीति सान्दर्भिक रहेको उनको जिकिर छ।   
 
कांग्रेस पर्साका सभापति अजय द्विवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवम् कांग्रेस नेता सुरेन्द्र चौधरी, पूर्वसांसद राजेन्द्रबहादुर अमात्य, अनिल रुंगटा, पूर्वसभासद् रामेश्वर रौनीयार, प्रदेशसभा सदस्य शंकर चौधरी, राजेश्वर साह तेली, कांग्रेस नेता वीरेन्द्रलाल नेपाली, जनार्दन सिंह क्षेत्री, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, उपमेयर शान्ति कार्कीलगायतले मन्तव्य राखेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.