२०१८ का विश्व चर्चित घटना

२०१८ का विश्व चर्चित घटना

काठमाडौं : वर्ष सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी भए। वर्षभरीका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन्। त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन्। यस बर्षका मुख्य केही घटनाहरुको यहाँ संक्षेपमा स्मरण गरिएको छ। 


इन्डोनेसियामा दुई हजारको ज्यान लिने भूकम्प 

यस बर्षको सम्भवतः सबैभन्दा ठूलो विनासकारी घटनाको रुपमा इन्डोनेसियाको भूकम्पलाई लिन सकिन्छ। सेप्टेम्बर २८ तारिखका दिन आएको ७.४ म्याग्नीच्युडको भूकम्पले दुई हजार भन्दा बढीको ज्यान लिएको छ भने झण्डै सात सय अझै पनि बेपत्ता छन्। सुलावेसीलाई केन्द्रबिन्दु बनाएर आएको यस भूकम्पमा परी १७ सय घाइते भएका थिए भने लाखौँको भौतिक संरचनामा क्षतिग्रस्त भएका थिए। 

अनपेक्षित ट्रम्प 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको दुई बर्ष बितिसक्दा पनि राष्ट्रपतिका रुपमा अपेक्षित भन्दा पनि अनपेक्षित भूमिकाहरु धेरै देखाए। सञ्चार माध्यमहरु, आफ्नै मन्त्री र कर्मचारीहरुलाई पनि पूर्ण विश्वास कहिल्यै गरेनन्। उनले यो अवधिमा झण्डै डेढ दर्जन मन्त्री तथा मुख्य कर्मचारीहरुलाई बर्खास्त गरे भने अन्य देशहरुसँगको सम्बन्धमा पनि विश्वास बढाउन सकेनन्। उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ता बाहेक उनको प्रशंसायोग्य भूमिका कमै भएको अधिकांशको ठम्याई छ। पछिल्लो समयमा केही ठाउँमा भएको निर्वाचनको नतिजा र मेक्सिको पर्खालको बजेट पारित नभएपछि कर्मचारी तलबबिहिन भएका घटनाले धक्का दिएको छ। 

ब्रेजिक्टमै अल्झियो बेलायत 

युरोपेली संघसँग बाहिरिने निर्णय गरेको बेलायतले त्यसको प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन निकै मेहेनत गर्नु परेको छ। प्रधानमन्त्री थेरेसा मेले नयाँ अन्तर्राष्ट्रिय सम्बन्धहरुमा धेरै ध्यान दिन भ्याएका छैनन् भने ब्रेक्जिट मामिलामा दुई जना विदेश मन्त्रीसहित अन्य केही मन्त्री र वरिष्ठ अधिकारीहरुले समेत उनलाई साथ दिएनन्। सन् २०१६ को जुनमा भएको जनमत सङ्ग्रहमा ५२ प्रतिशत अर्थात् १ करोड ७४ लाख मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए। ४८ प्रतिशत अर्थात् १ करोड ६१ लाख मतदाताले भने बेलायत (युरोपियन युनियन) इयूकै सदस्य हुनुपर्छ भन्ने मत दिएका थिए। साढे दुई बर्ष बितिसक्दा पनि इयू छाड्ने प्रक्रिया टुङ्गिन्छ भन्ने विश्वासमा नै अझै पनि अनिश्चितामा बेलायत छ। 

उत्तर कोरिया र अमेरिकाको नाटकीय सम्बन्ध 

लामो समयदेखि एक अर्कालाई प्रमुख दुश्मन मान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१८ मा नाटकीय परिवर्तन भयो। एक अर्कालाई सिध्याउने चेतावनी दिएको केही महिनामै ती देशका नेताहरुले गत जुन १२ का दिन सिङ्गापुरमा भएको शिखर सम्मेलनको क्रममा एकअर्कालाई अङ्गालो हालेको भिडियो सार्वजनिक भएपछि विश्व समूदाय नै अचम्भित भएको छ। यो सम्भव बनाउने मुख्य श्रेय भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई जान्छ। सम्बन्ध सामान्यीकरण गर्ने र कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने अभियान सन् २०१९ मा पनि जारी राख्ने प्रतिबद्धता तीनै देशबाट व्यक्त भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमको दोस्रो शिखर बैठक सन् २०१९ को शुरुमै गर्ने तयारी हुँदैछ भने उत्तर कोरियाली नेता कीमले दक्षिण कोरियाको भ्रमण गर्ने योजना छ। 

नेतृत्व त्याग्ने मर्केलको घोषणा 

जर्मनीको सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक पार्टीमा १८ बर्षदेखि एकछत्र नेतृत्व गरेकी चान्सलर एन्जेला मर्केलले यस वर्ष पार्टी नेतृत्वबाट बिदा लिनु भएको छ। यसलाई पनि एउटा महत्वपूर्ण घटनाको रुपमा लिइएको छ। मर्केलले चान्सलरका लागि आफूले चौथो कार्यकालको अन्त्यपछि उम्मेदवारी नदिने घोषणा गरिसक्नुभएको छ। उहाँको चौथो कार्यकाल आगामी सन् २०२१ मा सकिने छ। 

पुटिन चौथो कार्यकालका लागि निर्वाचित 

रुसको राष्ट्रपतिका रुपमा भ्लादिमिर पुटिन यस बर्ष चौथो कार्यकालका लागि निर्वाचित हुनु अर्को चर्चाको विषय बन्यो। गत मार्च १८ मा भएको निर्वाचनबाट उहाँ अर्को ६ वर्षे कार्यकालका लागि राष्ट्रपति बन्नु भएको हो। रुसमा एउटै व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान रहेकाले पुटिन विगत १८ वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा छन्। अहिले ६५ वर्ष पुग्नु भएका पुटिनको यो कार्यकाल सन् २०२४ सम्मको जोड्दा उहाँको शासन २५ वर्षको हुनेछ। 

पत्रकार खशोज्जीको हत्या 

साउदी अरबका पत्रकार जमाल खशोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावास भएको हत्याको विषय लामो समयसम्म विश्वव्यापी चर्चामा रह्यो। दशकौँसम्म साउदी राजपरिवारको सल्लाहकार भएका तर पछि सम्बन्ध बिग्रेपछि अमेरिका बस्दै आएका खशोज्जीले अमेरिकी पत्रिका द वासिङ्टन पोस्टमार्फत् साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्दै आएका थिए। 

अमेरिकी सेनाको फिर्ती 

सिरियामा तैनाथ दुई हजार अमेरिकी सेनालाई इस्लामिक स्टेट विरुद्धको युद्ध समाप्त भएको भन्दै डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्ता लाने घोषणा गरे। तर, इराक र अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्ती कहिले हुन्छ भन्ने अन्यौल कायमै छ। 

विश्वकप फुटबलको २१औँ सस्करण 

एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो। फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो। फ्रान्सले सुनको ट्रफीसँगै चार अर्ब १० करोड रुपैया पुरस्कार प्राप्त गरेको छ। विश्वकप फुटबल २०१८ को कुल पुरस्कार राशी ४३ अर्ब रुपैया रहेको थियो। एक महिनासम्म चलेको प्रतियोगितामा ३२ देशका ७३६ खेलाडी प्रतियोगितामा सहभागी थिए। क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। 

श्रीलंकामा सत्ता फेरबदल असफल 

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत अक्टोबर २६ मा बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि झण्डै सात हप्ता राजनीतिक सङ्कट उत्पन्न भयो। बाहलवाला प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र अर्को व्यक्तिलाई नियुक्त गर्ने उहाँको दुवै निर्णय अवैध भएको भन्दै अदालत र संसदले खारेज गरिदिएपछि अहिले फेरि पुरानै अवस्थामा पुगेको छ। अवैध कदम अहिलेको संसारमा टिक्न सक्दैन भन्ने सन्देश दिनेगरी टुङ्गिएको यो घटना यस वर्ष दक्षिण एसियामा चर्चामा रह्यो। 

यमन युद्धबिराम 

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा यमनको होडेडामा हुथी विद्रोही र सरकारबीच डिसेम्बर १९ मा युद्धबिराम भएको छ। दश हजारभन्दा बढीको मृत्यु र लाखौं मानिस विस्थापित गराइसकेको यमन गृहयुद्धले मानवीय सङ्कट निम्त्याएको राष्ट्रसङ्घको भनाइ छ। 

इरानी आणविक सम्झौताबाट अलग 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक सम्झौताप्रति इरानी सत्ता जवाफदेही नरहेको भन्दै मे ८ मा फिर्ता हुने तथा इरान विरुद्ध आर्थिक नाकाबन्दी लगाउने घोषणा गरे। अमेरिकाले प्यालेस्टिनीको विरोधका बाबजूद मे १४ मा इजरायलमा रहेको राजदूतावास जेरुसेलममा स्थानान्तरण गरेको थियो। 

त्यसैगरी जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन, मि–टु अभियान, अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, अफगानिस्तान आदिमा जारी द्वन्द्व र पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई छोरीसहित जेलमा राखिएको छ भने विश्वविख्यात क्रिकेट खेलाडी इमरान खानले सत्तारोहण गर्नुभएको छ। मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले ९२ बर्षको उमेरमा फेरि देशको नेतृत्व सम्हाल्नु भएको छ भने पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको आरोपमा काराबासमा छन्।

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाले चौथो कार्यकाल सम्हाल्दै गर्दा उनकी चिरप्रतिद्वन्द्वी खालिदा जियाले ७३ बर्षको उमेरमा अस्वस्थ अवस्थामा जेलभित्रै छटपटारहनु परेको छ। यस्तै उतारचढाबका बीच बर्ष २०१८ को विदाई र नयाँ बर्ष २०१९ को स्वागत गरिएको छ।

प्रस्तुति : जीवन भण्डारी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.