प्रदेश राजधानी बर्दिबास बनाउन प्रदेश सदस्यको माग
बर्दिबास : प्रदेश सभा सदस्य शारदादेवी थापाले प्रदेश राजधानी बर्दिबास बनाउन माग गरेकी छन्। महोत्तरीको क्षेत्र नम्बर १ (क) बाट निर्वाचित थापाले प्रदेश २ को राजधानी बर्दिबास बनाउन माग गरेकी हुन्।
बर्दिबास नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गर्दै थापाले यस्तो माग गरेकी हुन्। ‘बर्दिबास प्रदेश राजधानीका लागि उपयुक्त ठाउँ हो’, उनले भनिन्, ‘प्रदेश २ का सबै जिल्लाका लागि बर्दिबास पहुँचका हिसाबले सही छ।’
कार्यक्रममा बोल्दै थापाले बालश्रम न्यूनीकरण गर्न सबै लाग्नु पर्नेमा जोड दिइन्। बर्दिबास नगरपालिका पहिलो बालश्रम मुक्त नगर घोषणा गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ।
कार्यक्रममा बोल्दै बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्कीले बालश्रम मुक्त क्षेत्र घोषणा मात्रै गरेर बालश्रम नरोकिने धारणा राखे। उनले सामाजिक आन्दोलन गरेर बालश्रम हटाउनुपर्नेमा जोड दिए। ‘सामाजिक आन्दोलन गरेर होटलमा काम गर्ने बालबालिकाको उद्धार गर्नुपर्छ’, उनले भने, ‘फोहोर वस्तु संकलन र घरायसी काममा लागेका बालबालिकालाई जोगाउन सके बालश्रम केही हदसम्म हटाउन सकिन्छ।’