टेण्डर हत्याउन आक्रमण
बेसीशहर : सत्तारुढ नेकपाको भातृ संगठन युवा संघ सुन्दरबजार नगरपालिका कमिटिका संयोजक नवीन श्रेष्ठलगायतका युवाले नगरपालिकाका लेखापालमाथि कुटपिट गरेका छन्। सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुलीलाई श्रेष्ठले कार्यकक्षमै आएर कुटपिट गरेका हुन्।
नगरपालिकाको औषधि खरिदको टेण्डर आफ्नो पक्षमा पार्न श्रेष्ठले लेखापालमाथि कुटपिट गरेको स्रोतले बताएको छ। ‘टेण्डर अरुलाई हाल्न नदिन दबाब आएको थियो’, लेखापाल पराजुलीले भने, ‘अन्य व्यवसायीको पनि फारम बुझ्यो भनेर आक्रमण भयो।’
सुन्दरबजार नगरपालिकाले औषधि खरिदका लागि गत शुक्रबार टेण्डर आह्वान गरेको थियो। यसअघि मंसिर २० गते गरिएको टेण्डर श्रेष्ठकै समूहले दर्ता भएको फर्म च्यातेपछि रद्ध भएको थियो।
‘पहिलापनि उनीहरुकै समूहले दर्ता भएको फारम च्यातेपछि टेण्डर रद्ध गर्नुपर्यो अहिले पनि यस्तै लफडा भयो’, सुन्दरबजार नगरपालिकाका प्रमुख जनक मिश्रले भने, ‘जनताको स्वास्थ्यसँग जोडिएको विषय छ। यस्तो अराजकता कति दिन सहने।’
श्रेष्ठको समूहले अरु कसैलाई आवेदन दर्ता गर्र्न नदिई ठेक्का आफै हत्याउने योजना अनुरुप कर्मचारीमाथि आक्रमण गरेको नगरपालिकाले जनाएको छ। उनकै समूहले यसअघि कार्यालयमा दर्ता भएको आवेदन कर्मचारीलाई धम्काएर च्यातेको नगरप्रमुख मिश्रले बताए।
कुटपिटबाट लेखापाल पराजुलीको अनुहारभरी चोट लागेको छ। नाकमा रगत जमेको स्वास्थ्यकर्मीले बताएका छन्। लेखापाल पराजुलीलाई उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा भर्ना गरिएको छ। श्रेष्ठले लेखापाल सँगै नगरपालिकाका नासु होमनाथ पौडेललाई समेत हातपात गरेका थिए।
घटनामा संलग्न श्रेष्ठ अहिले फरार छन्। उनको खोजीकार्य भैरहेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए। प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले आक्रमणकारीलाई पक्राउ गरि कारबाही गरिछाड्ने बताए।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिले विज्ञप्ति प्रकाशित गरि दोषीमाथि कडा कारबाहीको माग गरेको छ। कार्यालय सचिव पुरुषोत्तम भट्टले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निजामती कर्मचारीको समायोजन हुन लागेको ऐतिहासिक समयमा नेपाल र नेपालीको सेवामा खटिएको कर्मचारीमाथी भएको क्रुर, अमानविय तथा जंगली शैलीको आक्रमणको भत्र्सना गर्दछौँ।’