अमेरिकीहरू १८० दिन नेपाल बस्न पाउने
काठमाडौं : नेपाल र अमेरिकाबीच पर्यटक भिसा शुल्क र अवधिमा समानता कायम भएको छ । अमेरिकीले १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी नेपाली भिसा पाउने छन् । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अमेरिका र नेपालबीच पर्यटक भिसामा भएको पारस्परिकताको निर्णय मंगलबार (जनवरी १)बाट कार्यान्वयन हुने बताए ।
उनले भने, ‘यसबारे हामीले सम्बन्धित निकायमा पत्राचार गरिसकेका छौं ।’ सन् २०१९ जनवरी १ देखि पर्यटक भिसामा नेपाल आउने अमेरिकीहरू एक भिसा वर्षमा १ सय ८० दिन बस्न पाउनेछन् । यसअघि उनीहरू अन्य देशका नागरिकजस्तै पर्यटक भिसामा १ सय ५० दिन मात्र यहाँ बस्न पाउँथे ।
नेपाल र अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता कायम भएकाले अमेरिकीहरू अन्य देशका नागरिकभन्दा ३० दिन बढी बस्न पाउने भएका हुन् । नेपालीले पहिलेदेखि नै १ सय ६० अमेरिकी डलरमा ५ वर्षको बहुप्रवेशी भिसा पाउँदै आएका छन्। यसअघि नेपालले अमेरिकी नागरिकलाई एक भिसा वर्षमा १ सय ५० दिन बस्न पाउने गरी २ सय ४० अमेरिकी डलरमा बहुप्रवेशी भिसा दिँदै आएको थियो । अमेरिकीले अनअराइभल सुविधासहितको सय अमेरिकी डलर शुल्कमा ९० दिनको र त्यसपछि प्रतिदिन २ र बहुप्रवेशीबापत्को २० अमेरिकी डलर शुल्कमा ६० दिनको भिसा पाउने गरेका थिए ।
गृह मन्त्रालयले नेपाल र अमेरिकाबीच भएको भिसा अवधि र शुल्क कार्यान्वयन गर्न कार्यविधिसमेत बनाएको छ । पर्यटक भिसामा अमेरिकीलाई दिँदै आएको अनअराइभल भिसा प्रणाली भने कायमै छ । प्रवेश विन्दुमा उनीहरूले ९० दिनको मात्र भिसा पाउँछन् । उनीहरूले अमेरिका वा अन्य देशस्थित नेपाली दूतावास वा नियोगबाट समेत ९० दिनको मात्र भिसा पाउनेछन् । भिसा पाएको ६ महिनाभित्र नेपाल प्रवेश नगरे रद्द हुने कार्यविधिमा उल्लेख छ ।
परिवर्तित व्यवस्थाअनुसार ५ वर्षको बहुप्रवेशी भिसा पाउन विदेशस्थित नेपाली दूतावास वा नियोगबाट प्रक्रिया अघि बढाउन सक्छन् । तर भिसा पाउन भने उनीहरू स्पष्ट उद्देश्यसहित आउनै पर्ने व्यवस्था गरिएको छ । गृहको सिफारिसपछि मात्र उनीहरूले ५ वर्षको बहुप्रवेशी भिसा पाउनेछन् । भिसा लिन उनीहरूले कम्तीमा ६ महिना म्याद भएको राहदानी, १० हजार अमेरिकी डलर जम्मा रहेको बैंक स्टेटमेन्ट, स्वास्थ्य बिमाको प्रमाणपत्र र आचरणसम्बन्धी प्रहरी प्रतिवेदन पेस गर्नु पर्नेछ ।
अध्यागमन नियमावलीअनुसार १० वर्षमुनिका बालबालिकालाई भिसा शुल्क नलाग्ने भएकाले अमेरिकासँग समेत सोहीअनुसार व्यवस्था मिलाउन आग्रह गरिएको छ । कार्यविधिले कुनै पनि अमेरिकीको ५ वर्षे बहुप्रवेशी भिसा थप गर्दा आवेदक नेपालमा बस्ने ठेगाना, सम्पर्क व्यक्ति, भ्रमण तालिका, गर्ने अनुमानित खर्च र कागजातमा केही समस्या देखिए त्यसबारे नेपालस्थित अमेरिकी दूतावास वा अन्य नियोगमा बुझ्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई दिएको छ ।
हालैैको मन्त्रिपरिषद् बैठकले नेपाल र अमेरिकाबीच भिसा पारस्परिकता कायम गर्ने निर्णय गरेको थियो । गृहले यसअघि अमेरिकासँग गैरपर्यटक भिसाअन्तर्गत प्रेस, कामदार र विद्यार्थी भिसा शुल्क र अवधि समान बनाइसकेको छ । नेपालस्थित अमेरिकी दूतावासले २०७४ असोज २२ गते पर्यटक भिसामा समेत पारस्परिकता कायम गर्न अनुरोध गर्दै परराष्ट्र मन्त्रालयमार्फत् गृहमा प्रस्ताव पठाएको थियो । प्रस्तावमा सहमति जनाउँदै सरकारले भिसा शुल्क र अवधिमा पारस्परिकता कायम गरेको हो ।