आयात ६ खर्बको, निर्यात ३७ अर्बको

आयात ६ खर्बको, निर्यात ३७ अर्बको

काठमाडौं : चालू आर्थिक वर्षको प्रथम पाँच महिनामा ६ खर्ब सात अर्ब रुपैयाँको आयात भएको छ । यो परिमाण गत वर्षको यसै अवधिको तुलनामा ३४ प्रतिशत बढी हो । गत वर्ष चार खर्ब ५३ अर्बको आयात भएको थियो ।

चालु आवको पहिलो पाँच महिनामा कुल वैदेशिक व्यापार गत वर्षको यसै अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ६ खर्ब ४४ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार भएको छ । यसमा निर्यातको योगदान ५.८ प्रतिशत र आयातको योगदान ९४.२ प्रतिशत छ । गत वर्षको यसै अवधिमा चार खर्ब ८७ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) का कार्यकारी निर्देशक शरदबिक्रम चालु आवको समीक्षा अवधिमा समग्र निर्यातमा झिनो सुधारात्मक लक्ष्यण देखिए पनि आयातमा भएको अत्यधिक वृद्धिले व्यापारघाटा उच्च बनेको बताए । यस अवधिमा व्यापारघाटा ३५.५ प्रतिशतले बढेर पाँच खर्ब ६९ अर्बमा पुगेको छ । गत वर्ष यसै समयमा चार खर्ब २० अर्ब व्यापार घाटा थियो ।

पाँच महिनामा निर्यातमा १२.३ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा ३७ अर्ब रुपैयाँका नेपाली वस्तु निर्यात भएको छ । चालु आवको पहिलो पाँच महिनामा निर्यात र आयातको अनुपात १ः१६.२ छ ।

राणाका अनुसार व्यापार घाटामा सबैभन्दा बढी हिस्सा पेट्रोलियम पदार्थ र खाद्यान्नले ओगटेको छ । त्यसपछि भौतिक निर्माणमा प्रयोग हुने फलाम, स्टिलका उत्पादन, मेसिनरी तथा पार्टस, यातायातसाधन, विद्युतीय उपकरण, हवाईजहाज तथा पार्टसलगायत वस्तुका कारण आयात वृद्धि हुँदै गएको हो ।

कुल आयातमा पेट्रोलियम पदार्थले ४०.५ र खाद्यान्नले १५ प्रतिशत हिस्सा ओगटेका छन् । टीईपीसीका अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५८.४ प्रतिशतले वृद्धि भएर इन्धन आयात ८७ अर्ब ९९ करोड १६ लाख रुपैयाँ पुगेको छ । खाद्यान्न आयात पनि २८ प्रतिशत वृद्धि भई २१ अर्ब ३४ करोड ९७ लाख रुपैयाँ पुगेको छ । फलमजन्य वस्तु आयात ४०.७ प्रतिशतले बढेको छ । यस अवधिमा ७३ अर्ब २३ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु आयात भएको छ । यस्तै ४८ अर्ब ३६ करोड ४४ लाख रुपैयाँको मेसिनरी तथा पार्टस् आयात भएको छ ।

सवारीसाधन तथा पार्टस् ४४ अर्ब १२ करोड रुपैयाँको आयात भएको छ । यसैगरी २३ अर्ब २३ करोड रुपैयाँको विद्युतीय सामग्री तथा पार्टस्को आयात भएको छ । दुवैको आयात गत वर्षभन्दा बढी हो ।

टीईपीसीका अनुसार अत्यधिक परिमाणमा आयात हुनेमा हवाईजहाज तथा पार्टस् पनि छ । पाँच महिनामा १८ अर्ब २६ करोड रुपैयाँको हवाईजहाज तथा पार्टस् आयात भएको छ । यो परिमाण गत वर्षको यसै अवधिमा तुलनामा ३२६.८ प्रतिशत बढी हो ।

पाँच महिनामा तीन अर्ब ८२ करोडको यार्न, तीन अर्बको तयारी पोसाक, तीन अर्बको फलाम तथा स्टिलजन्य वस्तु, एक अर्ब ३३ करोडको टेक्सटाइल्स निर्यात भएको छ । नेपालको वैदेशिक व्यापारमा आयाततर्फ भारतको हिस्सा ५८, अन्यको ३९ र चीनको हिस्सा ३ प्रतिशत छ । यस्तै निर्याततर्फ भारतको हिस्सा ६४, चीनको १४ र अन्यको २२ प्रतिशत छ ।

साढे ८९ अर्बको कृषिजन्य वस्तु

पाँच महिनामा ८९ अर्ब ४० करोड ९६ लाख रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । यो अवधिमा ११ अर्बको कृषिजन्य वस्तुको निर्यात भएको छ । चामल १३ अर्ब, तरकारी ६ अर्ब ९८ करोड ८० लाख, मकै पाँच अर्ब १९ करोड, दाल चार अर्ब ९९ करोड, फलफूल पाँच अर्ब ७१ करोड, गहुँ दुई अर्ब ३९ करोड ७१ लाख रुपैयाँको आयात भएको छ । यस्तै पाँच अर्ब ३८ करोडको सोयाविन तेल तथा चार अर्ब ३९ करोड ३८ लाख रुपैयाँको पिना आयात भएको छ ।

यस अवधिमा ११ अर्ब ४४ करोड रुपैयाँको कृषिजन्य वस्तु निर्यात भएको छ । यसमा एक अर्ब ८६ करोडको जुस, एक अर्ब ९३ करोडको चिया, एक अर्ब २३ करोडको अलैंची, एक अर्ब ६ करोडको जुटको ब्याग, ६५ करोडको दाल, ४३ करोडको चाउचाउ र पास्ता, ६४ करोडको जडीबुटी, २७ करोडको अदुवा र १२ करोडको मासु तथा मासुजन्य पदार्थ निर्यात भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.