१० दिनभित्र प्रस्ताव तयार पार्न निर्देशन
काठमाडौं : नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले संगठनात्मक कामको प्रस्ताव बढीमा १० भित्र तयार पार्न कार्यदललाई निर्देशन दिएका छन् । जिल्ला तहसम्मको एकीकरण, जनसंगठनहरूको एकता, पोलिटब्युरो प्रस्ताव, केन्द्रीय सदस्यहरूको कार्यविभाजनलगायत विषयमा केन्द्रित रही कार्यदललाई काम गर्न उनीहरूले निर्देशन दिएका हुन् ।
नेकपाले संगठनात्मक कामको पुस मसान्तभित्रै टुंगो लगाउन पुस १३ मा ९ सदस्यीय कार्यादल गठन गरेको थियो । कार्यदल गठनपछि सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा पहिलो बैठक बसेको हो । ‘अध्यक्षहरूले एकताको काम सुरु गर्नुहोला, सकभर छिटो गर्नुहोला, बढीमा १० दिनभित्र काम सके राम्रो हुने गरी निर्देशन दिनुभयो’, कार्यदल सदस्य वेदुराम भुसालले भने,
‘पहिलो बैठक भएकाले अन्य विषयभन्दा पनि नेताहरूको निर्देशनमा बैठक केन्द्रित भयो ।’ कार्यदलले राजवनीतिक प्रतिवेदनका कामबाहेकका विधानसँग सम्बन्धित रहेर अन्य प्रश्नमा पनि छलफल गर्ने भुसालको भनाइ छ ।