शक्तिशालीको टक्कर वर्ष : २०१८
थोरै आशा र अनेकौँ उतारचढावबीच २०१८ मूलतः महाशक्ति र उदाउँदा शक्तिबीच टक्करको वर्ष रह्यो
सन् २०१८ बिदा हुँदैछ। यो वर्ष खेलकुद, विज्ञान, कला क्षेत्रमा थुप्रै उपलब्धि भए। फुटबल विश्वकप फ्रान्सले जित्यो। मंगल ग्रहमा २० किलोमिटर फराकिलो तलाउ रहेको पत्ता लाग्यो। वातावरणीय चुनौती थपिइरहेका छन्। तथापि यो शक्तिशालीहरूको टक्करको वर्ष रह्यो। अन्तर्राष्ट्रिय राजनीतिमा महाशक्ति अमेरिका र उदाउँदो शक्ति चीनबीचको टक्करले समाचारमा प्राथमिकता पाएको छ। दक्षिण एसियामा पनि चीन–भारत प्रतिद्वन्द्विताले अन्य सबै घटनालाई छायामा पारेको छ। २०१८ केही महत्वपूर्ण घटना:
जो सत्तामा आए
आफ्नो कप्तानीमा पाकिस्तानलाई विश्वकप जिताएका इमरान खानले प्रधानमन्त्रीका रूपमा पहिलो इनिङ सुरु गरेका छन्। तर राजनीति क्रिकेटको खेल मात्र होइन। त्यसैले उनलाई सजिलो छैन। पाकिस्तानको बाईसौं प्रधानमन्त्री बनेका इमरानका अघिल्तिर विशाल चुनौती छन्। उनले विरासतमा डामाडोल अर्थतन्त्र पाएका छन्। विदेशी मुद्रा सञ्चिती कम छ। आतंकवाद, भ्रष्टाचारजस्ता घरेलु समस्या त छँदैछन्, भारत, अफगानिस्तानजस्ता अप्ठेरा छिमेकीका कारण पनि उसको चिन्ता बढिरहेको छ। त्यति मात्र होइन, चीन र अमेरिकासँगको सम्बन्ध पनि जटिल मोडमा पुगेको छ। अमेरिकामा ट्रम्प प्रशासनको आगमनसँगै पाकिस्तानलाई दिइँदै आएको सैन्य सहयोग रोक्का भएको छ। चीन अर्बौं डलर लगानी गरेर पाकिस्तानमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ। तर चुनावी सभामा इमरानले चिनियाँ लगानीबारे गरेको विरोधका कारण उनी मन खोलेर स्वागत गर्ने पक्षमा देखिएनन्।
ब्राजिलमा दक्षिणपन्थी पपुलिस्ट उम्मेदवार जायर बोल्सोनारोले राष्ट्रपतिको चुनाव जितेका छन्। चुनावी अभियानका क्रममा छुरा प्रहार भएपछि उनको लोकप्रियता झनै बढ्यो। ब्राजिलमा तीन दशकअघि नै सैनिक सत्ता अन्त्य भएको थियो। बोल्सोनारो त्यही सैनिक शासनका प्रशंसक हुन्। त्यसैले उनको उदयलाई लोकतान्त्रिक संस्था र मूल्यका लागि खतराका रूपमा अर्थ्याइएको छ।
मेक्सिकोमा वामपन्थी पपुलिस्ट आन्द्रे म्यानुएल लोपेज ओब्राडोर निर्वाचित भए। समाजवादी मानिएका कार्यक्रम लागू गर्ने उनको अभियान छ। डिसेम्बर १ मा शक्तिमा आउनेबित्तिकै उनले आफूसहित उच्च अधिकारीहरूको तलब घटाए र तल्लो तहका कर्मचारीको तलब बढाए। शिक्षा, उद्योगजस्ता क्षेत्रमा व्यापक सुधार गर्ने वाचा उनले गरेका छन्।
कोलम्बियामा भने इभान दाक राष्ट्रपति बने। उनी अनुदार मानिन्छन्। रूसमा भ्लादिमिर पुटिन सहजै निर्वाचित भए। आर्थिक गतिरोधका बीच उनी चौथो कार्यकाल सम्हाल्दै छन्। इटलीमा पनि पपुलिस्ट गठबन्धन विजयी भएको छ। मलेसियामा सबैलाई चकित पार्दै मोहम्मद महाथिर सत्तामा फर्के। ९३ बर्से महाथिरले दशकौं सत्तामा रहेको आफ्नै पूर्व पार्टीलाई पराजित गरे।
दक्षिणपन्थी होस् या वामपन्थी, यो वर्ष पनि राजनीतिमा पपुलिस्ट हाबी रहे। तथापि पछिल्ला निर्वाचनमा पोल्यान्ड, भारत र अमेरिकामा पपुलिस्ट पार्टी ओरालो लाग्दै गरेको देखियो। कतिपयले यसलाई पपुलिज्मको लहर थामिने संकेतका रूपमा हेरेका छन्।
अमेरिका–उत्तर कोरिया वार्ता
सन् २०१७ को अन्त्य र २०१८ को सुरुवातमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन फरकफरक कारणले समाचारमा छाए। सन् २०१७ मा उनी क्षेप्यास्त्र परीक्षण गरिरहेका थिए। ट्रम्पको ‘फायर एन्ड फ्युरी’ को जवाफ अमेरिका ध्वस्त पार्ने चेतावनीले दिइरहेका थिए। उनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सनकी व्यक्तिका रूपमा चित्रित गरिन्थ्यो। अमेरिकामा ट्रम्पको छवि पनि उस्तै छ। यी दुई नेताले विश्वलाई आणविक युद्धको सँघारमा पुर्याएको महसुस गरियो। तर सन् २०१८ लाग्नेबित्तिकै किमको लय फेरियो। त्यसपछि वार्ताका कुरा भए। नभन्दै उनले सबैभन्दा पहिले दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसँग शिखरवार्ता गरे। त्यसपछि चिनियाँ राष्ट्रपतिलाई भेट्न रेल चढेर बेइजिङ पुगे। र अन्ततः सिंगापुरमा किम र ट्रम्पबीच पहिलो शिखरवार्ता भयो। यी दुई देशका सर्वोच्च नेता पहिलोपटक आमनेसामने भए। जो किमका बुबा र हजुरबुबाका पालामा सम्भव भएको थिएन।
कूटनीतिको मैदानमा प्रवेश गरेसँगै किमले दक्षिण कोरियासँग युद्ध अन्त्य गर्ने, कोरियाली प्रायःद्वीपलाई आणविक हतियारमुक्त गर्ने र उत्तर कोरियाको आर्थिक समृद्धि गर्ने वाचा गरे। आणविक युद्धको खतरा बेहोरिरहेका उत्तर कोरियाली, दक्षिण कोरियाली र जापानी नागरिकका लागि यो ठूलो राहत थियो। यद्यपि उनका प्रतिबद्धता पूरा हुनेमा शंका गर्ने प्रशस्त ठाउँ छन्। तैपनि यसले युद्धको सम्भावना टारेको छ। सबै पक्षलाई एउटै टेबुलमा बसाएको छ। त्यसैले यो वर्ष सबैभन्दा बढी आशाको सञ्चार गर्ने घटना किम जोङ उनको शिखरवार्ता बन्न पुग्यो। हालसम्म यसको नतिजा सकारात्मक नै देखिएको छ। पछिल्लो समय कूटनीतिक संवादमा गतिरोध आए पनि दक्षिण र उत्तर कोरियाबीच जनस्तरमा सम्बन्ध विकास भइरहेका छन्। रेलमार्ग जोडिएको छ।आवाजको दमन
साउदी अरबमा युवराज मोहम्मद बिन सलमान शक्तिमा आउँदा पश्चिमा सञ्चारमाध्यमले उनलाई नयाँ युगका सूत्रधार मानेका थिए। ३२ बर्से एमबीएस आर्थिक, सामाजिक र धार्मिक सुधारका कार्यक्रम बोकेर आएको तिनको विश्लेषण थियो, तर उनको यस्तो छवि एक वर्ष पनि टिकेन। साउदी पत्रकार जमाल खसोग्गी हत्यासँगै उनको मखुन्डो पूर्णरूपमा च्यातिएको छ। एक वर्षअघि प्रशस्तिगान गाइएका एमबीएस दानवतारमा प्रकट भएका छन्। टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा खसोग्गीको नृशंस हत्या भएसँगै साउदी सत्ता आफूविरुद्धको आवाज दमन गर्न कुन हदसम्म जान सक्छ भन्ने पुष्टि भएको छ। खसोग्गी अक्टोबर २ का दिन महावाणिज्य दूतावास गएका थिए। उनकी प्रेमिका बाहिर पर्खिरहेकी थिइन्, तर उनी बाहिर आएनन्। किनभने साउदीबाट आएका १५ जना गुप्तचरको टोलीले उनको हत्या गरिसकेको थियो। प्रमाण लुकाउन उनको शरीरलाई आराले टुक्राटुक्रा बनाई नष्ट गरियो।
हत्यापछि साउदीले खसोग्गीबारे केही जानकारी नभएको दाबी गरिरह्यो। टर्कीले विस्तारैविस्तारै हत्याका विवरण र प्रमाण सार्वजनिक गर्दै गएपछि मात्र उसले स्विकार्यो। यो हत्या योजनामा साउदीको सर्वोच्च नेतृत्व संलग्न रहेको दाबी टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको छ। अमेरिकी गुप्तचर निकाय सीआईएले समेत यसमा एमबीएस संलग्न रहेको बतायो, तर राष्ट्रपति ट्रम्प यो मान्न तयार छैनन्। उनले साउदी–अमेरिका सम्बन्ध उस्तै रहने बताइसकेका छन्। तसर्थ आफूविरुद्ध बोल्नेको आवाज दमन गर्ने साउदी सत्ता हत्याको जिम्मेवारी नलिइकनै चोखिने खतरा बढेको छ।
उसो त प्रेस स्वतन्त्रताका लागि यो वर्ष राम्रो रहेन। सन् २०१८ मा विश्वभर ५३ जना पत्रकारको हत्या भयो। विश्वभर प्रेस स्वतन्त्रता हननका घटना बढे।
सामाजिक आन्दोलनको समय
यो वर्ष विविध मुद्दामा आन्दोलन र प्रदर्शन भइरहे। एक वर्षभन्दा पहिले गति प्राप्त गरेको मी–टू आन्दोलनले अझ तीव्रता पायो। ह्यासट्याग मी–टू ट्विटरमा एक करोड ९० लाखभन्दा बढी पटक प्रयोग भयो। विश्वभर यो आन्दोलन फैलियो भने समाजका हरेक संस्थामा यसको प्रभाव रह्यो। क्याथोलिक पादरीहरूबाट बालबालिकामाथि यौन दुव्र्यवहारका घटना सार्वजनिक भए। विसपविरुद्ध भिक्षुणीहरूले आरोप लगाए। भारतमा पनि यसको प्रभाव देखियो। एक मन्त्री एमजे अकबरले पद गुमाए भने बलिउडका हस्तीविरुद्ध पनि आरोप लाग्यो। नेपालमा पनि यौन दुव्यर्वहारविरुद्ध महिलाले आवाज सशक्त बनाएका छन्।
अरब क्रान्ति सुरु भएको सात वर्ष पुग्दै गर्दा विश्वका विभिन्न मुलुकमा उही खालका आन्दोलन भइरहेका छन्। मूल्यवृद्धिको विरोधमा जुन महिनामा भएको शान्तिपूर्ण आन्दोलनपछि जोर्डनका प्रधानमन्त्री हनी मुल्कीले पद छाडे। वर्षको अन्त्यतिर फ्रान्समा उस्तै आन्दोलन चल्दा राष्ट्रपति इम्यानुएल म्याक्रोँको लोकप्रियता धरापमा परेको छ। पहेंला भेस्टधारीले फ्रान्समा यो दशककै हिंसात्मक आन्दोलन गरे। झ्याल फुटाइए, गाडी जलाइए। आन्दोलनकारीमाथि प्रहरी दमन भयो। महँगीका कारण गुजारा चलाउन मुस्किल भएको भन्दै गरिएको आन्दोलन उग्र बनेपछि म्याक्रोँ झुक्न बाध्य भए। तथापि आन्दोलन पूरै रोकिएको छैन।
भारत र चीनको तानातानमा अस्थिर दक्षिण एसिया
यो वर्ष दक्षिण एसियाको राजनीति अस्थिर रह्यो। भुटान, पाकिस्तान, श्रीलंका र मालदिभ्समा सत्ता परिवर्तन भए। बंगलादेशको चुनावमा सत्तारुढ दल हाबी रह्यो। खासगरी श्रीलंकाको राजनीति संकटग्रस्त रह्यो। राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद्मा बहुमत रहेका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाए। राष्ट्रपतिको यो कदमले संवैधानिक संकट उत्पन्न गर्यो। उनले संसद्समेत भंग गरिदिए, तर अदालतको हस्तक्षेपछि संसद् ब्युँतियो। जहाँ बहुमत देखाउन नसक्ने भएपछि दुई कार्यकाल राष्ट्रपति बनिसकेका राजपाक्षेले प्रधानमन्त्री पद छोडे। यद्यपि श्रीलंकामा उनको लोकप्रियता घटेको छैन। ढिलो या चाँडो सत्तामा उनी फर्किने निश्चित रहेको विश्लेषकहरू बताउँछन्। राजपाक्षे चीननिकट र विक्रमासिंघे भारतनिकट मानिन्छन्। त्यसैले यो किचलोमा चीन र भारतको प्रतिस्पर्धा पनि देखियो।
मालदिभ्सको चुनाव पनि चर्चित भयो। मालदिभ्स लामो समयदेखि भारतसँग निकट मानिँदै आएको थियो, तर अब्दुल्ला यामिनको सरकारले चीनसँग बढी निकटता कायम गरेको थियो। यो वर्षको सेप्टेम्बरमा इब्राहिम मोहम्मद सोलिहले चुनाव जिते। उनी भारतनिकट मानिन्थे। त्यसपछि मालदिभ्स पुनः भारतको गठबन्धनमा फर्केको विश्लेषण गरिएको छ।
दक्षिण एसियाका यी दुई राष्ट्रमा मात्र होइन, अन्य देशमा पनि भारत र चीनको खिचातानी देख्न सकिन्छ। अगस्त ३०–३१ मा काठमाडौंमा बिम्स्टेक सम्मेलन भयो। पाकिस्तानलाई बेवास्ता गर्न सार्कलाई अवमूल्यन गरेर बिम्स्टेकलाई बढावा दिइरहेको भारतको पहलमा यो क्षेत्रीय संगठनको सक्रियता बढेको मानिन्छ। सम्मेलनलगत्तै नेपालले भारतसँग संयुक्त सैन्य अभ्यास गर्ने घोषणा गरियो, तर त्यसको विरोध भयो। अन्ततः नेपालले सैन्य अभ्यासको सम्झौता नभएको बतायो। कतिपयले यसलाई कूटनीतिक अदूरदर्शिताको उदाहरण माने।
पाकिस्तान र अफगानिस्तानमा पनि हाम्रा उत्तर र दक्षिणका छिमेकी प्रभाव विस्तार गर्न लागिपरेका छन्। वर्षौंदेखि भारतको पोल्टामा रहेको भुटान राष्ट्रिय अस्तित्व कायम राख्न संघर्षरत छ। दक्षिण एसियाका हरेक घटनामा भारत–चीन प्रतिस्पर्धाको छाया देख्न सकिन्छ।
व्यापार युद्धको प्रभाव
राष्ट्रपति बन्नु अघिदेखि नै डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा वक्तव्य दिँदै आएका थिए। पद सम्हालेपछि पनि उनले महिनौंसम्म चिनियाँ सामान आयातमा कर लगाउने धम्की दिइरहे। अन्ततः जुलाई महिनामा उनले चिनियाँ सामानमा कर घोषणा गरे। त्यसलगत्तै चीनले पनि उस्तै कर घोषणा गर्यो। हालसम्ममा अमेरिकाले दुई सय ५० अर्ब डलरको चिनियाँ सामानमा कर लगाएको छ भने चीनले एक सय १० अर्ब डलरबराबरको सामानमा उस्तै कर लागू गरेको छ। यो व्यापार युद्ध कसले जित्ला ? यसबारे अनेक विश्लेषण भइरहेका छन्। चीनको उदय रोक्न अमेरिकाले चालेको कदमका रूपमा यसलाई अथ्र्याइएको छ, तर फाइदा कसैलाई पनि पुगेको छैन। चीनमा जीटीई मोबाइललगायतका कम्पनी व्यापार युद्धको सिकार बनेका छन् भने अमेरिकी किसान पनि घाटामा गइरहेका छन्। पछिल्लो समय दुवै पक्षबीच अनेक स्तरमा वार्ता चलिरहेको छ। ९० दिनका लागि बढाइएको कर लागू नगर्ने सहमति पनि बनेको छ। तर यसको परिणाम सुखद् आउने सम्भावना कम रहेको विश्लेषकहरूले बताएका छन्।
मानवीय संकट
यमन युद्धको चार वर्ष पूरा भयो। युद्धबाट १५ हजार जति मानिस मारिँदा भोकमरीबाट त्यसको चार गुणा बढी मानिसले ज्यान गुमाएका छन्। लाखौं बालबालिका कुपोषणको सिकार बनेका छन्। यो मानव इतिहासकै सबैभन्दा खराब संकट बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ। धेरैजसो भूभाग हुथी विद्रोहीको नियन्त्रणमा छ। साउदी अरब नेतृत्वको गठबन्धनले यमनमा नाकाबन्दी र बम वर्षा गरिरहेको छ, जसको परिणामस्वरूप मानवीय संकट उत्पन्न भइरहेको छ। सिरिया, भेनेजुएला, कंगो, दक्षिण सुडानजस्ता स्थानमा पनि लाखौं मानिस खाना, आवास, उपचारजस्ता आधारभूत आवश्यकता पूर्तिविनै गुजारा गरिरहेका छन्।
सी जिनपिङको स्थायी सत्ता
चिनियाँ राष्ट्रपति सी जिनपिङले यो वर्ष पदमा दुई कार्यकालको सीमा हटाएका छन्। नेसनल पिपुल्स कंग्रेसले संविधान संशोधन गर्दै उनलाई जीवनकालभरि राष्ट्रपति बन्ने बाटो खोलिदिएको छ। चीनले सन् १९९० को दशकमा दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने व्यवस्था गरेको थियो। तर चीनलाई सन् २०५० सम्ममा अत्याधुनिक शक्ति बनाउने चिनियाँ सपना पस्केका सीले त्यो परम्परा तोडेका छन्। यससँगै उनको तुलनामा माओ त्से तुङसँग हुन थालेको छ। नेतृत्वलाई एक व्यक्तिकेन्द्रित बनाउँदै लगेको आरोप उनीमाथि लाग्ने गरेको छ, यद्यपि उनले सन् २०३० को वरिपरि सत्ता त्याग्ने अनुमान गरिन थालिएको छ।
जसले संसार छाडे
यो वर्ष केही चर्चित व्यक्तिहरूको निधन भयो। मोटर न्युरोन रोगबाट ग्रसित भौतिकशास्त्री स्टेफेन हकिङको ७६ वर्षको उमेरमा मार्च १४ मा मृत्यु भयो। उनी यो समयका सबैभन्दा सम्मानित वैज्ञानिक थिए। सापेक्षतावाद, ब्ल्याक होललगायतका विषयमा उनले चर्चित पुस्तक लेखेका थिए। उनको अ ब्रिफ हिस्ट्री अफ टाइम सबैभन्दा बढी बिक्री हुने विज्ञानसम्बन्धी पुस्तक हो।
आफ्नो पति र पुत्र दुवैजना राष्ट्रपति बनेको देख्ने एक मात्र अमेरिकी महिला बारबरा बुस ९२ वर्षको उमेरमा बितिन्। उनका पति तथा अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज एचडब्लू बुसको पनि नोभेम्बर ३० मा मृत्यु भयो। यस वर्ष बलिउड अभिनेत्री श्रीदेवी, कमिक लेखक स्टान ली र लेखक उर्सुला ले ग्विन पनि बिदा भए। र्यापर म्याक मिलरको सेप्टेम्बर ७ र एबीचीको अप्रिलमा मृत्यु भयो। रक एन्ड रोल हल अफ फेम बन्ने पहिलो महिला एरेथा फ्र्यांकलिन १६ अगस्तमा बितिन्। उनी ७६ वर्षकी थिइन्। सेलिब्रेटी सेफ तथा बेस्ट सेलिङ लेखक एन्थोनी बुर्दिनले जुन ८ मा आत्महत्या गरे। रंगभेदविरोधी आन्दोलनकी नेतृ तथा नेल्सन मन्डेलाकी पूर्वपत्नी विनी मादिकिजेला ८१ वर्षको उमेरमा बितिन् भने संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नान पनि ८० वर्षको उमेरमा बिते। - एजेन्सीको सहयोगमा