वर्षाको वरिपरि चार अधबैंशे
काठमाडौं : रवीन्द्र झा स्कुले जीवनमै नाटकमा सक्रिय थिए । त्यति बेला उनलाई कलाकार सन्तोष पन्तको ‘हिजोआजका कुरा’ खुबै मन पथ्र्यो । उनी त्यो कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाइलमा अभिनय गर्थे । उनलाई जीवनमा एकपटक भए पनि पन्तसँग काम गर्ने धोको त्यति बेला नै थियो ।
त्यो धोको अहिले चलचित्र ‘चौका दाउ’मार्फत पूरा भएको रवीन्द्रले बताए । रवीन्द्रले भने, ‘सन्तोष दाइसँग हिजोआजका कुरामा अभिनय गर्न साह्रै रहर थियो तर त्यो कार्यक्रम बन्द भयो । चलचित्र चौका दाउमा उहाँसँग काम गरेर हिजोआजका कुरामा अभिनय गर्ने धोको मेट्न पाएँ ।’
चौका दाउमा पहिलो दिन पन्तसँग काम गर्दाको अनुभवबारे रवीन्द्रले भने, ‘उहाँ साह्रै वरिष्ठ कलाकार भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो प¥यो र म निकै नर्भस भएँ । तर, सन्तोष दाइ चाँडै नजिक हुनुभयो । भोलिपल्टबाट उहाँसँग काम गर्न मलाई सजिलो हुँदै गयो ।’
यो फिल्ममा सन्तोषसहित आफू, तैयब शाह, विल्सनविक्रम राई र अजश्र ढुंगाना गरी पाँचैजना कलाकारले उर्वशी अर्थात् वर्षा राउतलाई मन पराएर उनको पछि लाग्ने भूमिका निर्वाह गरेको पनि रवीन्द्रले बताए । ‘वर्षाको पाँच पाण्डवको रूपमा हामी छौं । त्यसमध्ये म युधिष्ठिरजस्तो सोझो छु भने सन्तोष दाइ अर्जुनजस्तो चलाख । तैयब दाइ पनि उर्वशी भनेपछि सबैकुरा छाडेर उसकै पछि लाग्ने माहिर व्यापारीका रूपमा हुनुहुन्छ ।’ रवीन्द्रले हाँस्दै भने, ‘सन्तोष र तैयबजस्ता वरिष्ठ कलाकारले केटीको पछि लाग्ने अल्लारे भूमिका गर्दा उहाँहरूको अघि त हामी फिक्का पो हुँदा रहेछौं ।’
पुस २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र चौका दाउमा रवीन्द्रले भूपतिको भूमिका निर्वाह गरेका छन् । रवीन्द्रकै भनाइमा उनी यो फिल्ममा जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भूमिकामा छन्, ‘जग्गाको नाममा पृथ्वी मात्र हैन, चन्द्रमासमेत प्लटिङ गरेर बेच्न पछि नपर्ने भनेपछि म कति खतरनाक जग्गा व्यापारी हुँला त । जे भए पनि मैले निर्वाह गरेको भूपतिको रोलबाट दर्शकले मनोरञ्जनसँगै जग्गा दलालीको फन्दाबाट कसरी बच्ने भन्नेबारे पनि जानकारी लिन सक्नुहुनेछ ।’
सौर्यजित बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको चलचित्र चौका दाउको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजित बास्कोटा हुन् । यो फिल्म पूर्णेन्दु झाले निर्देशन गरेका हुन्