व्यवस्थापन समितिबाट समयमै, ठेकेदारको काम अधुरै
मकवानपुर : मकवानपुरमा भूकम्पबाट पूर्ण क्षतिग्रस्त १ सय ५ विद्यालय भवन व्यवस्थापन समितिको सक्रियतामा बनेका छन्। ३१ वटा पुनर्निर्माण भइरहेको जिल्ला आयोजना कार्यान्वयन इकाइका शिक्षा प्रमुख प्रेम केसीको भनाइ छ।
उनका अनुसार व्यवस्थापन समितिमार्फत पुनर्निर्माणका काम समयमै सम्पन्न भएका हुन्। धेरै विद्यालयमा पठनपाठनसमेत सुरु भइसकेको छ। ठेक्का लगाइएका भवन भने अधुरै छन्। जाइकाको सहयोगमा ४१ विद्यालयका ४ सय ७२ कोठा निर्माणाधीन छन्। एडीबीको नमुना विद्यालयअन्तर्गत ४८ कोठा निर्माण भइरहेको इकाइले जनाएको छ।
‘ठेकेदारमार्फतको काम ठूलो स्केलको हो’, इकार्इंका प्राविधिक सञ्जिव पुडासैनीले भने, ‘तापनि छिटो काम सकाउन हामीले दबाब दिइरहेका छौं।’
स्वच्छन्द बानियाँ जेभी र खानी स्वच्छन्द जेभीले पुनर्निर्माणको काम गरिरहेका छन्। भूकम्पबाट जिल्लाका ४ सय ९ विद्यालयमा क्षति पुगेको थियो। दुई वर्षभित्र पुनर्निर्माण सक्ने इकाइको लक्ष्य छ।
२०७३÷७४ मा ६८ विद्यालयमा २ सय २० कक्षाकोठा निर्माण गरिएको प्राविधिक पुडासैनीले बताए। उनका अनुसार २०७४÷७५ मा पनि उति नै संख्यामा पुनर्निर्माण गरिएको छ। यस वर्ष ६५ विद्यालयमा २ सय कोठा निर्माण भइरहेको उनले सुनाए।
समितिमार्फत १ सय ५ विद्यालयका ६ सय २६ कोठा निर्माण भइसकेको इकाइको तथ्यांक छ। यसमा सरकार, विदेशी, गैरसरकारी संस्थाको सहयोग छ। नियमित पठनपाठनका लागि २ सयभन्दा बढी कोठाको आवश्यकता रहेको केसीले बताए।