यसरी मनाइयो टोपी दिवस (फोटोसहित)
काठमाडौं : 'नेपाली टोपी, हाम्रो गौरब, हाम्रो पहिचान' भन्ने नाराका जागरुक युवा अभियान नेपालले नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ। अङ्ग्रेजी नयाँ वर्षको दिन मंगलबार माइतीघरमण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै 'टोपी दिवस' मनाएका हुन्।
माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए। अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै अभियानले २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि 'टोपी दिवस' मनाउन सुरु गरेको हो।
सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ।
राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए।रासस
तस्बिर : रीता लामा,रासस
तस्बिर : प्रदीपराज वन्त,रासस