घुस दिएर तस्कर छुटाउन खोज्ने भारतीय पक्राउ
गुलरिया : भन्सार छलेर चोरी पैठारी गर्दै सामान भित्र्याउने भारतीय नागरिक र सामान छुटाउन घुस दिन खोज्ने अर्का भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरले बर्दियाको बढैयाताल गाउँपालिका–६ स्थित खलवा गाउँबाट पक्राउ गरेका हार्डवेयर सामान छुटाउन भन्दै प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिकलाई प्रहरीले सामान सहित पक्राउ गरेको छ ।
मैनापोखरबाट खटिएको प्रहरीको गस्ती टोलीले भारतको बहराईच जिल्ला थाना मोतिपुर बलैगाउँ बस्ने २२ वर्षीय सिङ्घानिया चौधरी, १८ वर्षीय राम विकास चौधरी, १७ वर्षीय भानु चौधरी र २२ वर्षीय सुनिल चौधरीलाई हार्डवेयरका सामानहरु सहित पक्राउ गरेको थियो ।
सामान सहित तस्करहरुलाई छुटाउन भारतको सोही स्थानका ३५ वर्षीय विजय चौधरीले १० हजार रुपैयाँ घुस दिन खोजेकाले नगद सहित पक्राउ परेका हुन् । प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार घुस दिन खोज्ने चौधरी समूहका नाइके नै हुन् । उनीहरुले भन्सार छल्दै भित्र्याएका सेक्सन पाईप, छिस्किनी, कब्जा, वेलन, रेती, धाराको हत्ता, वेन्ड, चेकवाल, वेन्ड निप्पल गरी ५७ हजार रुपैयाँ बराबरको हार्डवेयरका सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रण गरिएका सामान र पक्राउ परेका व्यक्तिमाथि प्रहरीले कारवाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । घुस दिन खोज्ने चौधरीलाई नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।