सम्झनामा कमेडी किंग कादर खान

सम्झनामा कमेडी किंग कादर खान

आमाले मस्जिद प्रार्थना गर्न पठाएका नौ वर्षीय बालक अँध्यारोमा एक्लै मसानघाट जान्छन्। चिहानको बीचमा उभिएर आफूलाई राम्रा लागेका बोलीको नक्कल गर्छन्। सुनसान अँध्यारोमा एक्लै अभिनय गरिरहन्छन्। बिना कुनै उद्देश्य।  एकदिन अचानक एउटा उज्यालो प्रकाश उनको अनुहारमा पर्छ। प्रकाशसँगै आउँछ अभिनयको यात्रामा प्रथम पाइलो चाल्ने प्रस्ताव। नक्कल गर्ने यही रुचिले अभिनयमा प्रवेश गरायो उनलाई। कालान्तरमा बलिउडका सफल कलाकार, लेखक र निर्देशक बनेर उदाए।

तिनै बालक हुन् बलिउडका चर्चित कलाकार तथा निर्देशक कादर खान। प्रकाशसँगै आएको आवाज थियो अभिनेता तथा नाटक निर्देशक असरफ खानको। असरफ खानको नाटकबाट उनको अभिनय यात्रको सुरुवात भयो। सो नाटकमा राजकुमारको भूमिकामा देखिए उनी। पहिलो नाटकमा नै उत्कृष्ट अभिनय गरेका उनले १०० रुपैयाँ पुरस्कार पाए।

गरिबीको यात्रा काबुलदेखि कमाठीपुरासम्म

गरिबीसँगको उनको सम्बन्ध गहिरो थियो। उनी अफगानस्थानको काबुलमा जन्मिए। उनी अघिका तीन छोरा गुमाइसकेका उनका आमाबाबु सन्तान गुमाउनु पर्ने डरले आत्तिए। आफ्नो परिवारलाई काबुल नफापेको भन्दै उनका आमाबाबु भारत बसाईँ सरे। भारतको कमाठिपुरा भन्ने सुकुम्बासी बस्तीमा उनीहरु बस्न लागे।

गरिबीले निम्त्याएको समस्या अफगानस्तान छाडेर भारत आउँदा के छुट्थ्यो। छाक टार्ने समस्या भए पनि आमाको प्रेरणाले पढाइलाई निरन्तरता दिए। उनको घरमा हप्तामा दुई÷तीन दिन खाने कुरा हुँदैनथ्यो। 

चार घण्टामा फिल्मको स्क्रिप्ट 
सन् १९७२ मा उनले सिनेमाको पहिलो स्क्रिप्ट लेखे। त्यसबापत १५०० सय पारिश्रमिक पाए। अचम्मको कुरा के भने उनले एउटा सिंगो सिनेमाको डायलग चार घण्टामा नै लेखिभ्याए। स्क्रिप्ट लेख्न कुनै एकान्त ठाउँ पाएनन्। कला जसरी र जहाँ पनि प्रस्फुटन हुन्छ भन्ने कुराको यथार्थ उदाहरण बने उनी। फुटबल खेलिरहेको मैदानको  छेउमा बसेर उनले फिल्म लेखेका थिए। निर्णय गरेकै दिन काम पूरा गर्ने जोश आफूमा भएको उनले कवाडखानालाई दिएको अन्तर्वातामा बताएका छन्।

मनमोहनले दिए टिभी उपहार
खानले १९७७ मा मनमोहन देसाई र राजेश खन्नासँग सिनेमामा काम गर्ने मौका पाए। देसाईलाई उनले काम गर्छन् भन्ने विश्वास थिएन। रोटी फिल्मको डायलग लेखेर देसाईलाई उनले देखाए। उनको काम देखेर देसाई चकित भए। उनलाई खानको काम निकै मन पर्यो। आफ्नो घरमा भएको टिभी, आफूले लगाइरहेको सुनको ब्रासलेट र २१ हजार रुपैँया उनले तत्काल खानलाई उपहार दिए। 

अभिनय यात्रा
कादरखानलाई हिन्दी सिनेमाको डायलग किंग भनेर पनि चिनिन्छ। ७० को दशकमा उनी डायलग किंगको रुपमा बलिउडमा चर्चित थिए। खुन पसीना, लावारिस, परवरिस, आदि थुप्रै फिल्मका डायलग उनले लेखेका थिए। 

सोही समयमा नै उनी सिनेमाको अभिनयमा पनि लागे। १९७३ को दाग फिल्ममा वकिलको सानो भूमिकाबाट उनको सिनेमा अभिनय सुरु भएको थियो। त्यसपछि उनी निरन्तर रुपमा लेखनसँगै अभिनयमा पनि सक्रिय देखिए।

बलिउडका कमेडी किंग मानिने कादर खानले १९८३ मा हिम्मतवाला फिल्म लेखे। सोही फिल्ममा कमेडियनको भूमिकामा उनी देखा परे। कमेडी अभिनय यात्रा उनको यही फिल्मबाट सुरु भयो। यसभन्दा अगडि उनी सिनेमामा खलनायक÷भिलेनको भूमिकामा देखा पर्थे। 
हिम्मतवाला उनको फिल्म लेखन र अभिनय यात्राको लागि टर्निंग प्वाइन्ट बन्यो। त्यसपछि उनले कमेडी फिल्म लेखन र अभिनयतिरै रुचि देखाए। बलिउडमा आफू नहासी र मुख नबिगारी दर्शकलाई हसाउन सकिन्छ भन्ने मान्यता नै उनले स्थापित गरिदिए।

९० को दशकमा आइपुग्दा उनको फिल्म लेखनमा कमी आयो। अभिनयतिरै बढी जोड दिए । गोबिन्दासँग जोडी बाँधेर दर्शक हसाउन पर्दामा देखिन थाले। अरुका लागि डायलग नलेखे पनि आफ्नो डायलग भने उनी आफैँ लेख्थे।

पाँच वर्षदेखि मृत्युको झुटो हल्ला
‘जीन्दगीका सही लुफ्त उठाना हो तो मोत से खेलो’
यो उनले लेखेको फिल्म ‘मुक्कद्दरका सिकंदर’ को चर्चित डायलग हो। यही डायलगमा भनिए जस्तै उनी ‘प्रोग्रेसिव सुपरन्यूक्लियर पाल्सी डिसअर्डर’ नामक रोगको कारण मृत्युसँग लड्दै बाँचेका थिए। यो रोगले मानिसलाई हिँडडुल गर्न नसक्ने बनाउँछ। पछिल्लो केही वर्षदेखि उनी ह्विलचियरमा यात्रा गर्थे।

पछिल्लो पाँच वर्षमा धेरै पटक उनको मृत्युको झुटा खबर सार्वजनिक भए। २०१८ मा मात्र कयौँ पटक उनको मृत्युको हल्ला फैलिएको बीबीसी रिपोर्टमा उल्लेख छ। मृत्युको झुटो खबर बाहिर आएपछि एकपटक उनले म मरेको छैनँ। जीवित छु भनेर स्पष्टीकरण दिनु परेको थियो।

पछिल्लो पटक ३० डिसेम्बरमा उनको मृत्युको हल्ला फैलियो। ‘अल इन्डिया रेडियो’बाट खानको मृत्युको खबर प्रसारण भएपछि हल्ला फैलिएको हो। मृत्युको झुटो हल्ला फैलिएको २४ घण्टामा उनको मृत्यु भयो।
कलालाई सम्मान गर्दै फ्यानले उनको अमरत्वको अभियान सोसल मिडियामा चलाइरहेका छन्। लेखन, अभिनय र निर्देशनमा उनी १९७२ देखि बलिउडमा सक्रिय थिए। 

उनको पार्थिव शरीरले २०१९ जनवरी १ मा संसारबाट बिदा लियो। क्यानडामा उपचार गराइरहेको अवस्थामा ८१ वर्षको उमेरमा उनको मृत्यु भएको हो। उनको अभिनय र लेखन कलाले भने उनलाई सधैँ अमर बनाइरहने छ। एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.