रासायनिक मलबिनै आलु रोप्‍न बाध्य

रासायनिक मलबिनै आलु रोप्‍न बाध्य

भक्तपुर : रासायनिक मलको अभावमा जिल्लाका किसानले कम्पोस्ट मलको भरमा आलु रोप्न थालेका छन्। मागअनुसार आपूर्ति नहुँदा जिल्लामा रासायनिक मल अभाव भएको हो। बजारमा रासायनिक मल नपाएपछि कम्पोस्ट मलकै भरमा आलु रोप्नुपरेको यहाँका किसानहरू बताउँछन्। उनीहरूका अनुसार रासायनिक मल कुर्दाकुर्दै आलुको बीउ छिप्पिँदै आएको थियो। बीउ छिप्पिएपछि रोप्न समस्या हुने भएकाले रासायनिक मल नभए पनि कम्पोस्ट मलको भरमा आलु रोपेको जिल्लाको चाँगुनारायण नपा–५ छालिङका किसान जगत सुवाल बताउँछन्।

उनले रासायनिक मल आपूर्ति गर्ने जिल्लाका धेरै कृषि सहकारीका मल बिक्री केन्द्र धाउँदा पनि मल पाउन नसकिएको गुनासो गरे। ‘मल पाइने आशमा हप्ता दिन कृषि सहकारीका मल बिक्री केन्द्र धाएँ’, उनले भने, ‘कतै रासायनिक मल पाउन सकिएन तर बीउ भने छिप्पिँदै आए।’

उनले रोप्ने बेला राख्न नसकिए पनि आलुको बीउ उम्रिएर उकेरा लगाउने बेलामा राख्ने सुनाए। कृषि प्राविधिकका अनुसार कम्पोस्ट मलको भरमा मात्रै आलु उत्पादन राम्रो हुँदैन। आलुका लागि रासायनिक मलमा पनि पोटास नभई हुँदैन। युरिया कम भए पनि फसफोरस र पोटास मल आलुका लागि नभई नहुने वरिष्ठ कृषि प्राविधिक शिव यन्द्यो बताउँछन्। ‘आलुका लागि कम्पोस्ट मल नभई हुन्न तर यसले मात्रै आलु उत्पादन राम्रो हुँदैन’, उनले भने, ‘आलु धेरै र राम्रो फलाउन युरियाभन्दा फसफोरस र पोटास मल नभई हुन्नँ।’

तर बजारमा आलुकै लागि अति आवश्यक फसफोरस र पोटास मलको अभाव भएको सिद्धि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पुण्यराम दुमरु बताउँछन्। भक्तपुरमा रासायनिक मल आपूर्ति गर्ने कृषि सहकारी संयोजक दुमरुले भक्तपुरमा ६ महिनादेखि फसफोरस र पोटास मलको अभाव भएको जानकारी दिए। ‘हामी नियमितजस्तो कृषि सामग्री कम्पनी लिमिटेडमा रासायनिक मल आए नआएको बुझिरहेका छौं’, उनले भने, ‘तर पर्याप्त मल नआउँदै अधिकांश खाली हात फर्कनुपरेको छ।’

उनका अनुसार सहकारीमा रासायनिक मल लिन आउने किसानको संख्या बढिरहेको छ। मौसमअनुसार पुस महिनाभित्र आलु रोपिसक्नुपर्छ। मलको अभावमा आलु रोप्न ढिलाइ भए उत्पादन पनि कम हुने किसानहरू बताउँछन्। मल अभावले गहुँखेतीमा समेत रासायनिक मल हाल्न नपाएको किसानहरू बताउँछन्।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयका अनुसार भक्तपुरमा गहुँ तथा आलुखेती र यस सिजनका तरकारीको लागि कुल तीन हजार आठ सय मेट्रिक टन मल आवश्यक पर्छ। जसमा युरियामात्रै दुई हजार एक सय मेट्रिक टन मल आवश्यक पर्ने कार्यालयको तथ्यांक छ। त्यस्तै एक हजार एक सय मेट्रिक टन डीएपी, पोटास चार सय मेट्रिक टन र अन्य दुई सय मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ।

भक्तपुरमा सात हजार पाँच सय हेक्टरमा गहुँ र आलुलगायत तरकारी खेती हुन्छ। त्यसमध्ये गहुँमात्रै तीन हजार ६ सय हेक्टरमा लगाइने तथ्यांक छ। आलु भने एक हजार एक सय २५ हेक्टरमा लगाइँदै आएको छ। जसबाट २१ हजार दुई सय मेट्रिक टन आलु उत्पादन हुने कृषि विकास कार्यालयको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.