प्रदूषण स्टिकरबिनै गुड्छन् महानगरकै गाडी

प्रदूषण स्टिकरबिनै गुड्छन् महानगरकै गाडी

काठमाडौं : काठमाडौं महानगरपालिका परिसरमा सोमबार अपराह्न बा १ झ २२९९ नम्बरको गाडी पार्किङस्थलमा थियो। त्यो गाडी महानगरको वातावरण व्यवस्थापन विभागले प्रयोग गर्छ। फोहोर टिप्दै हिँड्ने त्यो गाडीमा प्रदूषण स्टिकर टाँसिएको थिएन।

महानगरका मेयर विद्यासुन्दर शाक्यका मुख्य कार्य एजेन्डा धूलो र प्रदूषण नै हो। उनी आफैं सडक सफाइमा हप्ता अभियानमा लागिपरेका छन्। अर्कोतिर उनी मातहतका निकायले प्रयोग गर्ने सवारीमा प्रदूषण स्टिकर टाँसिएको छैन। प्रदूषण स्टिकर टाँस्न सवारीले यातायात व्यवस्था कार्यालयलाई कर तिर्नुपर्छ। सरकारकै एउटा निकाय महानगरले भने कर छली गर्दै आएको यो प्रकरणले पनि पुष्टि गर्छ।

यो सवारी एउटा उदाहरण मात्रै हो। महानगरमा प्रदूषण स्टिकर नटाँसिएका तीन दर्जन सवारीसाधन सञ्चालित छन्। महानगरका सम्पूर्ण सवारीसाधनको अभिलेख वातावरण विभागले नै राख्दै आएको छ। विभागअन्तर्गत चल्ने फोहोर बोक्ने अधिकांश सवारीले प्रदूषण स्टिकर नटाँसेको विभागका वरिष्ठ मेकानिकल इन्जिनियर एवं निर्देशक पुरुषोत्तम शाक्यको स्वीकारोक्ति छ। ‘केही पुराना गाडी छन्। तिनीहरूमा प्रदूषण स्टिकर नटाँसिएको साँचो हो’, उनले भने। महानगर पनि एउटा सरकारी निकाय भएकाले अर्को निकायलाई किन कर तिर्नु र भन्दै उनले प्रश्न गरे।

महानगरले केही पुराना सवारीसाधन कवाडीमा लिलाम गरिसकेको छ। एक दर्जनभन्दा बढी सवारी भने चल्ने किसिमका रहेको भन्दै प्रयोग गरिरहेको छ। ‘हामीले केही सवारी थोत्रा भएर लिलाम गरिसकेका छौं’, शाक्यले अन्नपूर्णसँग भने, ‘केही सञ्चालनमा छन्। तिनमा प्रदूषण स्टिकर टाँस्न आवश्यक ठानेनौं।’

काठमाडौंको फोहोर नुवाकोटको ओखरपौवा–सिसडोल डम्पिङ साइटमा लैजाने सवारीले फोहोरको मुस्लो फालेर गुडिरेहेको दृश्य दैनिक देख्न सकिन्छ। त्यो दृश्य सवारीलाई यातायात व्यवस्था कार्यालय र ट्राफिक महाशाखाले पनि देखिरहेकै हुन्छन्। तर ती सवारीमा हरियो प्रदूषण स्टिर टाँसे, नटाँसकोबारे ट्राफिकले ख्याल गर्दैन।

कर नतिरेकै कारण प्रदूषण स्टिक नटाँसिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले स्विकारे। ‘यस विषयमा मेयर साबसँग पनि छलफल भएको छ। सवारी कर पहिला महानगरले लिँदै आएको थियो। अहिले प्रदेशस्तरको कानुन नबन्दा अप्ठ्यारो परेको छ’, उनले भने, ‘हामी यातायात व्यवस्था विभागसँग समन्वय गरेर अघि बढ्छौं।’

प्रदूषण स्टिकर नटाँस्ने सवारीलाई यातायात व्यवस्था विभागसँग समन्वय गरेर कारबाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.