कर्मचारी समायोजन अध्यादेश स्वीकृत

कर्मचारी समायोजन अध्यादेश स्वीकृत

काठमाडौं : प्रतिनिधिसभाले कर्मचारी समायोजनसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख कृष्णबहादुर महराले अध्यादेश स्वीकृतिका लागि राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।

कांग्रेसका सांसद गगन थापाले अध्यादेशविरुद्ध विरोधको सूचना दिए पनि सभामुखले प्रस्ताव निर्णथार्य पेस गर्ने बेला भने कांग्रेसका सांसद पक्षमा उभिने कि विपक्षमा भन्नेमा अलमलमा परेका थिए। कांग्रेसका सांसद अलमलमा परे पनि नेमकिपाका प्रेस सुवालले भने अध्यादेशको विपक्षमा ध्वनिमत दिएका थिए।

सत्तासीन दलको बहुमतका आधारमा अध्यादेश स्वीकृत भएको थियो। संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले अध्यादेश जारी गरेको थियो। तर अध्यादेशले विभेद गरेको भन्दै कर्मचारीहरू भने आन्दोलनमा छन्।

प्रतिनिधिसभाबाट स्वीकृत भएसँगै अध्यादेश राष्ट्रियसभामा पुगेको छ। राष्ट्रियसभाबाट पनि स्वीकृत भएपछि अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसद्मा ल्याउने बाटो सरकारका लागि खुला हुनेछ। संसद् अधिवेशनको पहिलो बैठक बसेको ६० दिनभित्र अध्यादेशलाई संसद्ले स्वीकृत गर्नुपर्छ।

त्यसअघि अध्यादेशबारे सांसदका प्रश्नका जवाफ दिने क्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संरचनालाई स्वीकार गरेर कर्मचारीहरू समायोजनमा जानुपर्ने बताए। अध्यादेशले कर्मचारीको वृत्ति विकासको ढोका बन्द नगरेको दाबी गर्दै मन्त्री पण्डितले भने, ‘कर्मचारीमा मनोवैज्ञानिक असर परेको छ। तर रूपान्तरित स्थिति नस्विकार्ने हुनुहुँदैन।’ संघीय संरचनाको परिवर्तनलाई आत्मसात् गर्दै, देश र जनताको भावना पूरा गर्न संवैधानिक व्यवस्थाअनुसार नै अध्यादेश जारी भएको मन्त्री पण्डितले बताए। कांग्रेस सांसद थापाले भने विधिशास्त्रीय र समानताको सिद्धान्तविपरीत सरकारले अध्यादेश जारी गरेको आरोप लगाए। प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै नेकपाकी नेत्री पम्फा भुसालले कर्मचारी समायोजनमा जानुपर्ने भन्दै अध्यादेशमा भएका कमजोरी प्रतिस्थापन विधेयकमार्फत सच्याउनुपर्ने बताइन्।

गगनकै पक्षमा चिट्ठा

कर्मचारी समायोजन अध्यादेशविरुद्ध कांग्रेसका गगन थापा र नेमकिपाका प्रेम सुवालले विरोधको सूचना दिएका थिए। तर दुईमध्ये एक जनाले मात्र प्रतिनिधिसभामा विरोधको सूचना राख्न पाउने भएपछि सभामुख महराले चिट्ठाबाट बोल्ने काम छनोट गर्न लगाएका थिए। चिट्ठामा कांग्रेसका सांसद थापाले बोल्ने अवसर पाएका थिए। त्यसअघि थापा र सुवालबीच कसले बोल्ने भन्नेमा छलफल चलेको थियो। तर दुवैले बोल्न मन गरेपछि चिट्ठाबाट बोल्नेको नाम छनोट गरिएको थियो।


केन्द्रका कर्मचारीको विरोधले सांसद चिसै

अतिरिक्त भत्ता माग गर्दै संसद् सचिवालयका कर्मचारीको आन्दोलनबाट संसद प्रभावित भइरहेका बेला संसद् भवन अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीको भद्र विरोधको मारमा परे सांसद। मंगलबार १२ बजे प्रतिनिधिसभाको बैठक बसेको थियो। तर केन्द्रका कर्मचारीले (एसी) नचलाइदिँदा सांसद बैठकमा चिसो महसुस गरिरहेका थिए।

प्रतिनिधिसभा बैठक कक्षमा एसी नचलेपछि सांसदले सभामुख महरासमक्ष गुनासो पोखेका थिए। सभामुखले केन्द्रका कर्मचारीसँग एसी किन नचलेको भन्दै प्रस्टीकरण सोधेका थिए। केन्द्रका कर्मचारीले बिहान १० बजे उपस्थित भएर १२ बजे हल तताउन नसकिने भन्दै संसद नेतृत्वलाई हल तात्न चार घण्टा समय लाग्ने जवाफ दिएका थिए।

बिहान १२ बजेअघि एसीको तातो चाहिने भए बिहानै कर्मचारी आउनुपर्ने र त्यसका लागि अतिरिक्त भत्ता चाहिने कर्मचारीले जवाफ दिएका थिए। केन्द्रका कर्मचारीले भद्र विरोध जनाउँदै मंगलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका शौचालयमा पानी पनि दिएनन्। यसबाट पनि सांसद मारमा परेका थिए। ‘संसद् बैठक सकिएपछि मात्र धारामा पानी आयो’, सचिवालयका एक अधिकृतले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.