‘तापक्रम वृद्धि वर्षमा ०.४ डिग्री’

‘तापक्रम वृद्धि वर्षमा ०.४ डिग्री’

गुफाडाँडा : जलवायु विज्ञले सिन्धुपाल्चोकमा तापक्रम बर्सेनि ०.३ डिग्री सेल्सियस बढ्न थालेको बताएका छन्। नेपालमा औसत रूपमा ०.४ डिग्री सेल्सियसले बढेको उनीहरूको भनाइ छ। मेलम्ची–९ ज्यामिरेस्थित गुफाडाँडामा आयोजित जलवायु सम्मेलनमा उनीहरूले पछिल्लो दशक तापक्रम बढेको तथ्य सार्वजनिक गरेका हुन्।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का प्राज्ञ डा. मदनलाल श्रेष्ठले वर्षाको मात्रा भने घट्दो रहेको सुनाए। उनका अनुसार गर्मी मौसमभन्दा जाडोमा तापक्रम वृद्धि अझ बढी छ। जाडोमा औसतमा ०.४ डिग्री सेल्सियसले तापक्रम बढ्दै आएको छ। जिल्लामा कुल वर्षात्को ८२ प्रतिशत पानी वर्षा र १८ प्रतिशत मात्र हिउँदमा पर्ने गरेको उनले सुनाए।

उनका अनुसार जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नहुँदा पानीको स्रोतमा कमी आएको छ। मुहान सुक्ने गरेकाले पानीको समस्या बढ्दै गएको अनुसन्धानले देखाएको उनले सुनाए। सुक्खापन बढ्दा कृषि उत्पादनमा समस्या आएको उनको तर्क छ। 

विकसित मुलुकमा हुने कार्बन उत्सर्जनका कारण नेपालले जलवायु परिवर्तनको समस्या भोग्नुपरेको त्रिवि वातावरण विज्ञान विभागका प्रा. केदार रिजालले बताए। उनका अनुसार जलवायु परिवर्तनबाट पर्ने प्रभाव न्यूनीकरण गर्न भूगोलअनुसार अनुकूलन योजना आवश्यक छ। ‘हिमाली गाउँमा पानीको मुहान सुक्नु र तराईको भूमिगत पानीको स्रोतमा कमी आउनुको कारण फरक हुन्छ’, उनले अन्नपूर्णसँग भने, ‘जलवायु परिवर्तनबाट पर्ने असरको अनुकूलन योजनाका लागि कारण पत्ता लगाउनुपर्‍यो। अध्ययन–अनुसन्धान गरी निराकरणको उपाय खोज्नुपर्‍यो।’

विकसित मुलुकबाट ‘कार्बन ट्रेड’बापत विश्व बैंकमार्फत केही रकम विकासशील मुलुकमा आउने भए पनि नेपालमा उपलब्धिमूलक काम हुन नसकेको प्रा. प्रमोदकुमार झाले बताए। विकसितले कार्बन उत्सर्जन र विकासशीलले सञ्चितीबापत अनुदानकै रूपमा क्षतिपूर्ति पाउँदा मात्र जलवायु न्याय हुने उनको तर्क छ। सरकारले जलवायु परिवर्तनको क्षेत्रमा पारदर्शी रूपमा काम नगरेको गुनासो उनले गरे।

जिसस प्रमुख कृष्णगोपाल तामाङले जलवायु परिवर्तनकै कारण हिमाल काला पहाडमा रूपान्तरण भएको बताए। अनुकूलन योजना निर्माणसँगै प्रभावकारी कार्यान्वयन नभए अबका पुस्ताले प्राकृतिक स्रोतको अनुभव गर्न नपाउने उनको भनाइ छ।

१० बुँदे घोषणापत्र जारी

राष्ट्रिय जलवायु सम्मेलन १० बुँदे गुफाडाँडा घोषणापत्र जारी गर्दै मंगलबार सम्पन्न भएको छ। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि स्थानीय स्तरमा अनुकूलन योजना निर्माण र कार्यान्वयन तथा विकासका क्रममा प्रकृति संरक्षणलगायत विषय घोषणापत्रमा समेटिएका छन्।

सम्मेलनले जलवायुमैत्री विकास योजना अघि बढाउन माग गरेको छ। २ हजार ५ सय मिटर उचाइमा आयोजना गरिएको सम्मेलन सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। जलवायु परिवर्तनको मार खेपेका दोर्जेलाक्पा, थाङ्पालछ्यो, जुगल हिमशृंखला, लाङटाङलगायत हिमाल यहाँबाट अवलोकन गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.