चिनी मिल नहुँदा समस्या
तौलिहवा : कपिलवस्तुको पश्चिमी क्षेत्रमा सञ्चालित सुगर मिल अन्यन्त्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन्। गत वर्षको उखु सिजनमा सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो। यहाँका उखु किसान गत वर्षदेखि नै मारमा पर्दै आएका छन्। सुगर मिल नहुँदाको फाइदा यहाँ सञ्चालित उखु क्रसर (सख्खर) उद्योगले पाएका छन्।
सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसान सरोकारवाला गुहार्न थालेका छन्। उखु बेच्ने यो सिजनमा सरकारले तोकेको मूल्य जिल्लाका उखु किसानले पाएका छैनन्। सख्खर उद्योगले मनपरी मूल्य लिएको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी बताउँछन्।
कपिलवस्तुमा रहेका करिब तीन सय सख्खर उद्योगले मनपरी ढंगबाट उखुको मूल्य दिएको संघका अध्यक्ष चौधरीले बताए। ‘उखुखेतीबाटै जीविकोपार्जन गर्दै आएका किसान मिल विस्थापित भएपछि समस्यामा परेका छन्’, उनले भने, ‘किसानको गुनासो सुन्ने निकाय कहाँ छ।’ सुगर मिल नहुनु र सख्खर उद्योगले मनपरी मूल्य तोक्दा उखु किसान विस्थापित हुने अवस्था रहेको उनले बताए।
सरकारले उखुको मूल्य प्रतिक्विन्टल पाँच सय १८ तोकेको छ। कपिलवस्तुका उखु किसानले दुई सयदेखि पाँच सयसम्ममा बिक्री गर्दै आएका हुन्। शिवराज नगरपालिका पिपरीमा रहेको शिव चन्दन सख्खर उद्योगले प्रतिक्विन्टल चार सयमा खरिद गरिरहेको छ। जिल्लामा यस्ता उद्योग झण्डै एक सय ५० छन्।
उखु बिक्री गर्न बजारको समस्या भएपछि केही किसानले सख्खर उद्योगमा भेली बनाउन दिएका छन् भने कतिपय आफैले सख्खर उद्योग स्थापना गरी भेली बनाउन थालेका छन्। सरकारले मूल्य तोके पनि व्यवहारमा लागू नहुने उखु किसान राम प्रकाश चौधरीले बताए। उनले भने, ‘पहिला चिनी मिल थियो र बेच्न सजिलो थियो अहिले उखु बिक्री नै हुँदैन कि भन्ने डरले जति पैसा दिएपनि सख्खरलाई दिन बाध्य छौं।’
सख्खर उद्योगले मनपरी मूल्य तोक्न थालेपछि उखु किसान सरोकारवाला गुहार्न थालेका छन्।
कपिलवस्तुको पश्चिम–दक्षिण क्षेत्रमा सुक्खा क्षेत्र रहेको अधिकांश कृषकले उखुखेती गर्दै आएको छ। जिल्लाको कृष्णनगर, महाराजगंज, शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा व्यावसायिक उखुखेती गरिन्छ। करोडौंको करोबार गर्ने सक्खर उद्योग स्थानीय निकायमा दर्ता छैनन्। कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेका करिब डेढ सय उद्योग स्थानीय तहको कार्यालयमा दर्ता नभएको पाइएको छ।
स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र रहेको उद्योगलाई व्यवस्थापन गर्ने जिम्मा भएपनि शिवराज नगरपालिकामा रहेका सख्खर उद्योगको संख्यासमेत नगरपालिकालाई जानकारी छैन। ‘नगरभित्र रहेको उद्योगलाई नगरपालिकामा दर्ता गराउन हामीले सूचना जारी गरेका छाैं’, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले भने,‘शिवराज नगरभित्र रहेको सबै उद्योग नगरपालिकामा दर्ता गराएर मात्रै सञ्चालन गर्न प्रक्रिया थाल्छौं।’
विजयनगर गाउँपालिकाले पनि सबै उद्योगलाई दर्ताको लागि पत्र पठाइसकेको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले बताए। यस्तै जिल्लाका अन्य स्थानीय तहमा समेत सख्खर उद्योग दर्ता नभएको पाइएको छ। जिल्ला प्रशासन कार्यलय कपिलवस्तुले उखु कृषकले कम मूल्यमा खरिद गरेका सख्खर उद्योगको बारेमा जानकारी दिए कारबाही गर्ने बताएको छ। सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले सरकारले तोकेको उखुको मूल्य कृषकले पाउनुपर्ने बताउँछन्।