लोकमार्गले फेरिँदै जीवनशैली

लोकमार्गले फेरिँदै जीवनशैली

सिन्धुली : मध्यपहाडी लोकमार्ग निर्माणपछि स्थानीयवासीको जीवनशैली फेरिएको छ। लोकमार्गले छोएका गोलान्जोर, फिक्कल गाउँपालिकासहित ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुरलगायत जिल्लाका बासिन्दामा परिवर्तन आएको हो। कृषि सडक निर्माण, शैक्षिक संस्था विस्तारलगायत विकासले फड्को मारेको स्थानीयको भनाइ छ।

सिन्धुली मध्यपहाडी क्षेत्रका स्थानीय अहिले आँगनमै गाडी चढ्न पाउँछन्। केही वर्षअघि गाडी चढ्न घण्टौं हिँडेर खुर्कोट या उदयपुरको कटारी पुग्नुपर्ने बाध्यता थियो। उनीहरूले सडक उपयोग गरी मनग्य आम्दानी गर्न थालेका छन्। उनीहरूले होटललगायत विभिन्न व्यवसाय गर्न थालेका छन्।

लोकमार्गले स्थानीयमा परिवर्तन ल्याएको गोलान्जोरस्थित डुडभञ्ज्याङका होटल व्यवसायी होमनाथ न्यौपानेले बताए। ‘लोकमार्ग बनेपछि व्यवसाय सुरु गरें, कमाइ राम्रो छ’, उनले भने, ‘सडक नबनेको भए परिवार पाल्न विदेश नै जानुपथ्र्यो। तर, अहिले विदेशमा हुने कमाइ यहीं नै व्यवसाय गरेर कमाएको छु।’ उनीजस्तै थुप्रै युवाले गाउँमै होटल व्यवसाय गरेर परिवार पालिरहेका छन्। उनीहरू अर्काको देशमा गएर पसिना बगाउनुपर्ने बाध्यताबाट जोगिएका छन्। यस क्षेत्रमा साना–ठूला गरी झन्डै ३ सय होटल छन्।

जग्गाको मूल्य बढेको छ। पहिले २ लाख रुपैयाँमा पाइने एक रोपनी जग्गाको भाउ २० लाख पुगेको छ। ‘सडकले त हाम्रो जग्गालाई स्वर्गजस्तै बनाइदियो’, डुडभञ्ज्याङकै सोमप्रसाद बरालले भने। खुर्कोटबाट घुर्मीसम्म लोकमार्गले छोएका जग्गाको मूल्य अत्यधिक वृद्धि भएको हो।

पहिले तरकारी, सागसब्जी बारीमै कुहिन्थ्यो। बिक्रीका लागि पनि रामेछाप बजार पुर्‍याउनुपर्थ्यो। तर, अहिले गाउँमै होटल व्यवसायीले हानथाप गरेर लैजान्छन्। व्यावसायिक तरकारी खेती गरिरहेका बितिजोरका यमबहादुर हमालले भने, ‘लोकमार्ग खुलेपछि हामी किसानलाई बजारको समस्यै छैन। प्राय यहींका होटलले हाम्रो तरकारी लैजान्छन्।’ बाँकी बिक्रीका लागि बाहिर लैजान पनि सहज भएको उनको भनाइ छ। उनीजस्तै व्यावसायिक रूपमा कृषिमा लागेका किसान लोकमार्गबाट लाभान्वित भएका छन्।

ढाकर बोकेर गुजारा चलाउनुपर्ने ग्रामीण बस्तीमा दैनिक उपभोग्य सामग्री ढुवानीसँगै पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ। प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम यात्रा छोटिएको छ। मध्यपहाडी लोकमार्ग अर्थात् पुष्पलाल मार्ग निर्माण २०६४÷६५ मा सुरु गरिएको थियो। खुर्कोट–घुर्मी खण्डको काम अन्तिम चरणमा पुगेको छ। पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गपछि यो तेस्रो हो। यसको लम्बाइ १ हजार ७ सय ७६ किलोमिटर हुनेछ। लोकमार्ग पाँचथरको चियो भञ्ज्याङबाट सुरु भई बैतडीको झुलाघाटमा गएर टुंगिन्छ। चियो भञ्ज्याङदेखि झुलाघाटसम्म पुग्दा लोकमार्गले पहाडका ३९ जिल्लामध्ये २४ वटा पार गर्छ। लोकमार्गले १९ जिल्लाका सदरमुकाम भेट्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.