‘बिग बास' बीचैमा छाडेर बंगलादेश पुगे सन्दीप
काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियामा जारी ‘बिग बास लिग’का चार खेल खेली बंगलादेशतर्फ लगेका छन्। ‘बिग बास लिग’का बाँकी खेल नखेली उनी बङ्गलादेश प्रिमियर लिग (बिपिएल) खेल्न बुधबार बिहान बङ्गलादेश पुगेका छन्। सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको जानकारी दिएका छन् ।
अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट बिग बास लिग खेलेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिए। सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बीपिएल लिगका खेल आगामी शनिबारदेखि सुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट यूएईसँग उसैको मैदानमा एक दिवसीय र टी-२० शृङ्खला खेल्नेछ।
बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लिएका आठ विकेट मध्ये पहिलो खेलमा दुई, दोस्रो खेलमा तीन, तेस्रो खेलमा दुई र चौथो खेलमा एक विकेट लिएका थिए । जारी लिगको चारै खेलमा विकेट लिँदै सन्दीपले प्रभाव छाड्न सफल भए । उनले चारै खेलमा विपक्षी टिमका कप्तानलाई आउट गरे।