चोरीमा संलग्न गिरोह प्रहरीको फन्दामा
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिमा चोरीका घटनामा संलग्न युवाको गिरोह पक्राउ परेको छ।लामो समयदेखि चोरीका घटना गराउँदै आएका तीनजना चोरी गर्नका लागि प्रयोग गरिने सामानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।
पछिल्लो तीन महिनादेखि नगरक्षेत्रमा बढ्दै गएको चोरीका घटनाले प्रहरीलाई समेत हैरान पारेको बेला मंगलबार राति उपमहानगरपालिका ४ महाविर चोक बस्ने २२ वर्षीय अभिमनु कुमार साह, जिल्ला महोत्तरी औरही नगरपालीका ३ सोनामाई घर भएका १८ वर्षीय रमेश कुमार यादव र २१ वर्षीय मो. इलियाकत राइनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका अभियुक्त र बरामद भएका सामान सार्वजनिक गरेको हो। पक्राउ परेकाहरुको साथबाट सटर काट्नका लागि प्रयोग गरिने अक्सिजन ग्यास सिलीण्डर एक थान, एलपीजि ग्यास रेगुलेटर एक थान, ग्यास पाइप फलामको एक थान, लाइटर एक थान, खुकुरी, खन्तीसहितका औजार बरामद गरिएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।
त्यसैगरी गिरोहले चोरी गरेको ५५ इन्चको सामसुङ्ग एलइडी एक थान, ल्यापटप एक थान, मोबाइल एक थान, सुनचाँदीका गरगहना, लुगाकपडा बरामद गरिएको हो। पक्राउ परेका युवासँगै अन्य युवा पनि गिरोहमा संलग्न रहेको हुनसक्ने भन्दै थप अनुसन्धान गरिरहेको प्रउ थपलियाले जानकारी दिए।