बिरामीको संख्या दोब्बर, ठाउँ साँघुरै

भक्तपुर : भक्तपुर दुधपाटीस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र पुग्ने बिरामीको संख्या दोब्बर बढेको छ ।
जसले गर्दा केन्द्रको बहिरंग विभाग (ओपीडी) मा पुग्ने बिरामीलाई टिकट काट्न नै लामो लाम बस्नुपर्छ । घन्टौँ लाम बसेर टिकट काटे पनि चिकित्सकले जाँच्ने कोठा साँघुरो हुँदा बिरामीहरुले चिकित्सकसँग राम्ररी खुलस्त हुने गरी कुराकानीसमेत गर्न पाउँदैनन् ।
केन्द्रले सुरुमा मृगौला र मुत्रप्रणालीसम्बन्धी मात्रै ओपीडी सञ्चालन गरेको थियो । अहिले मुटु र कलेजोको समेत ओपीडी थपियो । मृगौला र मत्रुप्रणाली सञ्चालन भएकै ठाउँमा मुटु र कलेजोका समेत ओपीडी सेवा प्रवाह गरिँदा ठाउँ साँघुरिएको हो ।
ठाउँ अभावले एउटै कोठामा चार÷पाँचजना चिकित्सकले बिरामी जाँच्नुपर्ने बाध्यता छ । एउटै कोठामा धेरै चिकित्सक र धेरै बिरामी हुँदा चिकित्सकले के के भन्ने बुझ्नै समस्या हुने गरेको बिरामीहरुको गुनासो रहेको छ ।
‘केन्द्रको सेवा विस्तार गरेका छौँ । सेवा बढेसँगै आउने बिरामीहरुको चाप पनि दोब्बर बढेको छ’, केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले भने, ‘तर ठाउँ बढाउन सकिएको छैन । केन्द्र विस्तार गर्ने ठाउँको अभाव छ ।’
उनका अनुसार गएको आर्थिक वर्षसम्म दैनिक एक सय बिरामीहरु ओपीडीमा आउँथे । तर गत मंसिरसम्म पुग्दा दैनिक दुई सय बिरामीहरु ओपीडीमा आएको उनी बताउँछन् ।
स्वास्थ्य मन्त्रालय र भक्तपुरका स्थानीय तहसँग केन्द्रको लागि जग्गा उपलब्ध गराउन पटकपटक माग गर्दा पनि कतैबाट सुनुवाइ नभएको गुनासो उनको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले करिब ६० रोपनी जग्गा उपलब्ध गराउने वचन दिएको थियो । नपाका मेयर सोमप्रसाद मिश्रले गत वैशाखमा केन्द्रसम्म पुगेर उक्त जग्गा उपलब्ध गराउने वचन दिएका थिए तर अहिलेसम्म उक्त जग्गा प्राप्त नभएको कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउँछन् ।
३०० जना डाइलासिसको प्रतिक्षामा
अहिले केन्द्रका डाइलासिस गराउन प्रतिक्षा सूचीमा बसेका बिरामीहरु नै करिब तीन सय छन् । केन्द्रमा दैनिक ३० भन्दा बढी मृगौला बिरामीहरु डाइलासिस गराउन पुग्छन् । तर केन्द्रले प्रतिक्षा सूचीमा रहेकाबाहेक नयाँ बिरामीलाई डाइलासिस सेवा दिन सकिरहेको छैन ।
‘केन्द्रमा ठाउँ नहुँदा डाइलासिस मेसिनसम्म बढाउन सकिएको छैन’, कार्यकारी निर्देशक श्रेष्ठ भन्छन्, ‘ठाउँमात्रै उपलब्ध भएको भए तत्काल एकसय वटा डाइलासिस मेसिन थप्न सकिन्छ । यसले मृगौला प्रत्यारोपण गर्न डाइलासिस गर्नुपर्ने बिरामीले चाँडै पालो पाउने थिए ।’
५४७ जनाको मृगौला प्रत्यारोपण
केन्द्रका ठाउँ अभावकै कारण क्षमताअनुसार मृगौला प्रत्यारोपणसमेत गर्न नपाएको उनी बताउँछन् । केन्द्रले पाँच वर्षको अवधिमा पाँचसय ४७ जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ ।
चालु आर्थिक वर्षमा मात्रै ७७ वटा मृगौला प्रत्यारोपण गरिएको डा. श्रेष्ठले जानकारी दिए । उनले चालू आर्थिक वर्षको असार मसान्तसम्ममा करिब दुई जनाको मृगौला प्रत्यारोपण गर्ने लक्ष्य रहेको सुनाए ।
तीनजनामा कलेजो प्रत्यारोपण
त्यस्तै तीनजनामा कलेजोको सफल प्रत्यारोपण गरिसकेको डा. श्रेष्ठले जानकारी दिए । कलेजो प्रत्यारोपणसँगै मुटुसम्बन्धी अप्रेसन गर्न केन्द्रले क्याथल्याब सञ्चालनमा ल्याइसकेको छ । त्यस्तै अहिलेसम्मकै अत्याधुनिक २५६ स्लाइसको सीटी स्क्यान मेसिनसमेत जडान गरिसकेको छ ।
‘केन्द्र मृगौला, कलेजो र मुटुको उपचार गर्न आवश्यक सम्पूर्ण प्रविधिले युक्त भइसक्यो’, उनले थपे, ‘तर ठाउँ साँघुरो हुँदा बढीभन्दा बढी बिरामीलाई सेवा दिन सकिरहेको छैन ।’
प्रतिक्रिया दिनुहोस !
