पत्रकारको नाममा कोष स्थापना
कावासोती : पूर्वी नवलपरासीका दिवंगत पत्रकार तीर्थराज भुसालको स्मृतिमा स्थापना गरिएको कोषमा जिल्लाका पत्रकारहरुले सहयोग गरेका छन् ।
पत्रकारिता, शिक्षा, स्वास्थ्य र सामाजिक क्रियाकलापमा सहयोग पु¥याउने उद्देश्यले भुसाल परिवारले कोषको स्थापना गरेको छ । जहाँ जिल्लाका पत्रकारहरुले रकम सहयोग गरेका हुन् । विभिन्न संघसंस्था र व्यक्तिहरुले पनि सहयोग जुटाउन सघाएका छन् ।
यस क्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले २५ हजार, क्रियाशील पत्रकार महिला नवलपरासीले १० हजार, पत्रकार महासंघ नवलपरासीका उपाध्यक्ष हरि शर्माले ५ हजार, महासंघका जिल्ला सचिव राजकुमार रेश्मीले ५ हजार, जिल्ला सदस्य तीर्थराज डुम्रेले ५ हजार सहयोग गरे ।
यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले आफूलाई प्रदान गरिएको ‘पत्रकार स्वर्गीय देवीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’बाट प्राप्त ५ हजार रकम कोषलाई हस्तान्तरण गरे ।
कोषका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले शाखासँग आवद्ध सदस्यहरुबाट जनही एक हजार रुपैयाँ संकलन गर्ने बताएको छ । विभिन्न व्यक्तिहरुले सहयोग रकम घोषणा गरे अनुसार अहिलेसम्म कोषमा ६ लाखभन्दा बढी रकम संकलन भएको बताइएको छ ।
कावासोती निवासी पत्रकार भुसालले ४ वर्षअघि निजी लगानीमा नवलपुर एफएमको स्थापना गरी जिल्लाको पत्रकारिता क्षेत्रमा योगदान गरेका थिए । २०७४ मंसिर २३ गते सडक दुर्घटनामा उनको मृत्यु भएको थियो ।