पहिरो हटाएसँगै खुल्यो रसुवागढी नाका
नुवाकोट : सुख्खा पहिरो खस्दा बन्द भएको रसुवागढी नाका सुचारु भएको छ। सदरमुकाम धुन्चेदेखि चार किलोमिटर उत्तरमा रहेको खोपाङभीरमा सुख्खा पहिरो खस्दा रसुवागढी नाका जाने मुख्य मार्ग बन्द भएको थियो।
चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरो पन्छाएसँगै बुधबारबाट यातायात सूचारु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ खोपाङ भीरमा सुख्खा पहिरो गएपछि सवारी आगमनमा अवरोध भएको थियो।
सुख्खा पहिरोको कारण अवरुद्ध भएको सडक राति अबेरसम्म काम गरेर सडक खुलाइएको रसुवाका प्रहरी पमुख सन्तोष तामाङले बताए। सडक बन्द भएपछि गत्लाङ, चिलिमे, स्याफ्रु र टिमुरेबाट काठमाडौंका लागि छुटेका बस र केरुङबाट सामग्री बोकेर आएका कन्टेनर बीच बाटोबाटै फर्केका थिए।
खोपाङभीरमा सुक्खा पहिरो खस्दा पासाङल्हामु सडकमार्ग अवरुद्ध हुँदा सयौं यात्रुवाहक तथा मालवाहका साधन बीचमै रोकिएका थिए।