बेसहारा बनेर सडकमा पुगेकाको उद्धार, एकै रात सातजना आश्रममा
काठमाडौँ : पुसको चिसोमा सडकमै दिन रात बिताउन बाध्य नागरिकलाई प्रहरीले धमाधम उद्धार गर्न थालेको छ । महानगरीय प्रहरी परिसर टेकुको टोलीले राजधानीका विभिन्न स्थानका सडकमा दिनरात बिताउन बाध्य सातजनाको मंगलबारदेखि उद्धार सुरु गरेको हो ।
सडकमा कष्टप्रद जीवन बिताउन बाध्य भएका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उद्धार गरेर पुनर्स्थापना थालिएको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । 'चिसो बढेसँगै सडकमा रात विताउन बाध्य असाहय वृद्ध, वृद्धा र बालवालिकाको जीवन जोखिममा परेर मृत्युसमेत हुने गरेकाले उद्धार थालेका हौँ', उनले अन्नपूर्णसँग भने, 'बेसहारा बनेका यस्ता मानिसलाई पुनर्स्थापित गर्न आवश्यक भइसकेको छ । हामीले यस क्रममा उनीहरु सडकमा आउनुको कारण, परिवारको अवस्था जस्ता कुरा पत्ता लगाउन पनि जुटेका छौँ ।'
प्रहरीले यसक्रममा मंगलबार राति कालिमाटी, स्वयम्भू र सीतापाइला क्षेत्रबाट ७ जना पुरुषको उद्धर गरी हिमालय वृद्धाश्रम गोंगबुमा पठाएको छ । प्रहरीले कालिमाटीबाट ४० वर्षीय भीमसेन बासकोटा र ५० वर्षीय रवि थापाको उद्धार गरेको छ । त्यसैगरि स्वयम्भूबाट ५५ वर्षीय दिपेश राई, ५४ वर्षीय नवराज ठकुरी, ४० वर्षीय राम काजी, ५० वर्षीय लक्षमण ढकाल र ६५ वर्षीय ज्ञानेन्द्र सिंहको उद्धार गरेर गोंगबुको बृद्धाश्रममा पठाएको छ ।
प्रवक्ता बोगटीका अनुसार सडकमा उद्धार गरिएका सबैको परिवार र आफन्तको खोजी थालिएको छ। 'अहिलेलाई उनीहरुको आवश्यक उपचार र परामर्शसहित परिवारमा पुनर्स्थापना गर्न प्रहरीले विभिन्न संघ-सस्थासँग समन्वय गरिरहेको छ', बोगटीले भने ।
प्रहरीले काठमाडौंको सडकलाई व्यवस्थित र सुरक्षित बनाउने योजना अनुसार सडकमा बस्न बाध्य मानिसको उद्धार र पुनर्स्थापना अभियान थालेको हो । यसका लागि संघ-सस्था र सरकारी निकायसँग समन्वय गरिएको पनि परिसरले जानकारी दिएको छ।