पूर्वतयारीबिनै पिक एन्ड ड्रप
काठमाडौं : काठमाडौं महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पूर्वतयारीबिनै पिक एन्ड ड्रप (सवारी रोक्ने र कुदिहाल्ने) लागू गर्दा यात्रुले सास्ती पाएका छन्। विशेषगरी साना सार्वजनिक सवारीसाधन पार्किङस्थल नै नतोकी यो व्यवस्था लागू गरिएको छ।
न्युरोड गेट, भोटाहिटी, जमल, रत्नपार्क, राष्ट्रिय सभागृहलगायत नौ स्थानअघि रोकिने सवारीलाई पिक एन्ड ड्रप लागू गरिएको छ। बढ्दो सवारी जाम व्यवस्थापन गर्ने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। तर पनि साना सवारी (माइक्रो बस, मिनी बस)ले प्रतीक्षारत यात्रु नबोकी हिँड्नुपर्ने अवस्था छ। विशेषगरी बिहान र साँझ यात्रुले सास्ती बेहोर्नुपर्छ। राष्ट्रिय सभागृहअगाडि दर्जनौंको संख्यामा यात्रु गन्तव्यमा जान सवारी कुरिरहेका देखिन्छन्। तर ट्राफिकको कडाइले सवारीचालकले अपेक्षाअनुसार यात्रु चढाउन पाउँदैनन्।
‘माईक्रो आउँछ। बल हुनेहरू जबर्जस्ती चढिहाल्छन्। हामी चढ्न खोज्दा माइक्रो हिँडिहाल्छ’, राष्ट्रिय सभागृहअगाडि लगनखेल जान माइक्रो कुरिरहेकी सखी ढुंगानाले भनिन्, ‘एकदुई मिनेट मात्र रोकिए पनि चढ्न सकिन्थ्यो।’ ट्राफिकको व्यवहारप्रति पनि उनले आलोचना गरिन्। ‘माइक्रो रोक्ने पार्किङको व्यवस्था गरिदिए पनि हामी त्यहीँ गएर चढ्थ्यौं, ‘उनले भनिन्, ‘पूर्वतयारीबिनै पिक एन्ड ड्रप लागू गर्दा म जस्ता थुप्रै यात्रुले सास्ती पाएका छन्।’
व्यवस्थित हुन सकेको छैन। सवारी जाम घटाउन भने सघाएको छ।
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बैठक नै डाकेर पिक एन्ड ड्रप व्यवस्था लागू गर्न समिति बनाएका थिए। समितिले मेयरको आकांक्षालाई टार्न सकेन। समितिले पूर्वतयारीबिनै यो व्यवस्था लागू गर्न मेयरसामु सिफारिस ग¥यो। ‘हामी नै सवारी व्यवस्थापन गर्नुपर्छ भनेर लागिपरेका छौं। तर यो व्यवस्थाको विरोध गर्दा हामीमाथि नै प्रश्न उठ्न सक्ने देखिएपछि स्विकार्न बाध्य भएका हौं’, महाशाखाका एक अधिकृतले भने।
बढ्दो सवारी जाम व्यवस्थापनका लागि पिक एन्ड ड्रप व्यवस्था अत्यावश्यक भएकाले लागू गरिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। सुविधाभोगी यात्रुलाई केही असुविधा भएकाले यसको विरोध सुनिएको तर बिस्तारै बानी पर्ने उनको भनाइ छ।
पिक एन्ड ड्रप लागू भएपछि सवारी जाममा न्यूनीकरण आएको ट्राफिक महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले बताए। यसलाई व्यवस्थित बनाउने तयारीमा महाशाखा लागेको उनको भनाइ छ। ‘यात्रुलाई सवारी चढ्न सुन्धारा नै जानुपर्ने बाध्यकारी अवस्था छ’, पन्तले भने, ‘केही असहज भए पनि जाम घटेको छ। यसलाई सबैले स्विकार्नुपर्छ।’