‘न्याय मेरा लागि वेद, बाइबल र कुरान’
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्। लगत्तै उनले सर्वोच्च अदालतको कार्यभारसमेत सम्हाले। सर्वोच्चमा स्वागतपछि आयोजित पत्रकार भेटघाटमा सबै न्यायाधीशसामु राणाले न्यायिक सुशासन कायम गर्ने प्रतिबद्धता दोहोर्याए।
सबै तहका अदालतका काम–कारबाहीको सूक्ष्म निगरानी, प्रभावकारी अनुगमन, भ्रष्टाचार र विचलनको बृहत् अध्ययन र कारबाही, मुद्दाको पेसी व्यवस्थापनमा सुधारलगायत प्रतिबद्धता उनले सार्वजनिक गरे। न्यायाधीश र कर्मचारीबाट हुने अनियमितता छानबिनका लागि प्रभावकारी संयन्त्र बनाइने योजना पनि उनले ल्याएका छन्। ‘न्यायप्रतिको मेरो प्रतिबद्धता मुस्लिमको कुरान, हिन्दूको वेद र इसाइको बाइबल जस्तै हो,’ उनले भने।
उनले न्यायमा पहुँच आयोगको प्रतिवेदनलाई हुबहु कार्यान्वयन गर्ने बाचा पनि गरे। यो कार्ययोजना सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको भएकाले मिलेरै कार्यान्वयन गर्ने उनको भनाइ थियो।
‘लेख्दा ख्याल गर्नुहोस्’
राणाले न्यायपालिकाबारे लेख्दा जिम्मेवार बन्न सञ्चारकर्मीलाई चेताए। न्यायपालिकाको स्वतन्त्रतालाई जोगाएर लेख्न आग्रह गरे। ‘यो मेरोमात्रै कुरा होइन। सबैलाई अघि राखेर भन्छु अदालत र न्यायाधीश भनेको संस्था हो। हिजो जसरी मिडियामा अदालतबारे खबर देखेको छु, अब त्यस्तो नहोस्,’ चेतावनीको भाषामा राणाले भने, ‘यो संस्थाप्रति तपाईंहरूको पनि दायित्व छ।’
न्यायालयमा रहेको गुटबन्दीबारे प्रश्नमा राणाले भने, ‘एक गठ एक परिवार र एक शक्ति भएर अगाडि बढ्छ। न्यायाधीशहरू हिजो पनि विभाजित थिएनन्। आज पनि छैनन् र भोलि त झन् हुने छैनन्।’
जोशीलाई इजलास नतोक्ने राणाको घोषणा
नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्चका सबै न्यायाधीश र पत्रकारका सामुन्ने सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने घोषणा गरेका छन्। ‘संसदीय समितिमा मैले संसद्को निर्णयको सम्मान गर्छु भनेको छु। त्यसैले आज बरिष्ठतम् न्यायाधीशलाई पेसी तोकिएको छैन। आउँदा दिनमा पनि उहाँलाई पेसी तोकिने छैन,’ अन्नपूर्णको प्रश्नमा उनले भने, ‘मेरा मित्रलाई मैले अदालतबाट अलग भइदिन हार्दिक अनुरोध गर्छु।’
उनले बुधबार जोशीलाई कुनै मुद्दाको जिम्मेवारी दिएनन्। वरिष्ठ न्यायाधीशलाई मुद्दाको जिम्मेवारी नदिनुको कारणबारे बोल्दै राणाले आफूले कठोर निर्णय लिनुपरेको बताए। आफूले संसदीय सुनुवाइ समितिबाट भएका निर्णयको सम्मान गर्ने वचन दिएको प्रसंग सुनाउँदै उनले भने, ‘यो प्रश्न खासमा निकै गम्भीर र कठिन छ। मेरा सहकर्मी वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी मेरा सहपाठी पनि हुनुहुन्थ्यो। सँगै बसेका साथीको विषयमा मैले कठोर निर्णय लिनुपरेको छ। संसद्को मतको कदर हामी सबैले गर्नुपर्छ। स्वतन्त्र न्यायालय र संविधानलाई राम्रो हुन्छ भने कहिलेकाहीं हामीले आफ्नै बाटो लाग्नुपर्छ भनेर तयार रहनुपर्छ।’
राणाले न्याय सम्पादनको जिम्मेवारी नदिने भएपछि न्यायाधीश जोशी भने अदालत जाने वा नजाने दोधारमा परेका छन्। पारिवारिक स्रोतका अनुसार जोशीले आफूनिकट कानुन व्यवसायी, आफन्त र परिवारसँग सुझाव मागेका छन्। एक आफन्तले जोशी बिहीबार सर्वोच्चमा गएर प्रधानन्यायाधीश राणासँग इजलास माग्ने बताए। ‘उहाँले अदालत नजाने कुरा गर्नुभएको छैन। बरु आफूमाथि बिनाअभियोग विभेद गरिएको भनाइ राख्नुभएको छ,’ ती आफन्तले अन्नपूर्णसँग भने, ‘जाने मानसिकतामै हुनुहुन्छ।’