संकटा सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता
काठमाडौं : संकटा क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता बनेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा संकटाले बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई २–१ गोलले हराउँदै उपविजेता बनेको हो। एक खेलअघि नै उपविजेता बनेको संकटाले दुवै गोल पेनाल्टीमा गरेको थियो। निकै प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने थ्रीस्टारले लिएको थियो। थ्रीस्टारका रञ्जन विष्टले ३०औं मिनेटमा गोल गरे।
रञ्जनले डीबक्सभित्र संकटाका तीनजना रक्षकलाई छक्याउँदै उत्कृष्ट गोल गरेका थिए। थ्रीस्टारको अग्रतापछि जोसिएको संकटाले ४२औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। डीबक्सभित्र थ्रीस्टारका सुनिल बलले संकटाका अमित तामाङलाई फल गरेपछि संकटाले पेनाल्टीको अवसर पाएको थियो। उक्त पेनाल्टीलाई अमित तामाङले नै सदुपयोग गरे। टोलीका लागि दुई गोल गरेका अमितले दोस्रो गोल पनि पेनाल्टीमै गरेका थिए।
६४औं मिनेटमा थ्रीस्टारका पिटर सेगुनले संकटाका सौजन राईलाई लडाएपछि संकटाले पेनाल्टी पाएको थियो। दोस्रो गोलपछि रक्षात्मक देखिएको संकटालाई अग्रता जोगाउन खेलको अन्तिमसम्म धौधौ बनेको थियो। थ्रीस्टारले अन्तिममा लगातार आक्रमण बुने पनि थप गोल गर्न सकेन। थ्रीस्टारलाई दोस्रो स्थानको होड कायम राख्न संकटासँगको खेल जित्नैपर्ने बाध्यता थियो। यस हारले थ्रीस्टारको लक्ष्य तेस्रो स्थानमा पुगेको छ। जितसँगै संकटाले २८ अंक बनाएको छ। यसअघि २३ अंक बनाएको थ्रीस्टार तेस्रो स्थानमा छ। लिगको अन्तिम खेलमा थ्रीस्टारले हिमालयन शेर्पासँग खेल्नेछ।
खेलपछि संकटाका प्रशिक्षक सल्यान खड्कीले लिगअघि संकटाको लक्ष्य शीर्ष पाँचमा रहने भए पनि खेलाडीको मेहनतले दोस्रो स्थानमा आउनु उपलब्धिमूलक भएको बताए। ‘आज हामी जित्नकै लागि आएका थियौं। थ्रीस्टारसँग हारेको भए दोस्रो स्थानमा रहन गाह्रो हुन्थ्यो। लिगमा हामी विस्तारै सेट हुँदै गयौं। मनाङ मस्र्याङ्दीसँग नहारेको भए। उपाधिकै दौडमा हुने थियौं। डेढ महिनाको तयारीले उपविजेता बन्दा म, क्लब र खेलाडी सबै खुसी छौं,’ खड्कीले भने।
यसैगरी थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले संकटाले राम्रो खेल्दा हार खाएको बताए। ‘आज जितेको भए दोस्रो हुने मौका थियो। पहिलो पेनाल्टी नै हारको कारण बन्यो। थ्रीस्टारको खेल विस्तारै खस्कँदै जानु र अरू टोलीले सुधार गर्दै जाँदा यसपटक सोचेजस्तो नतिजा आए। अर्को खेल जित्दै तेस्रो स्थानमा रहने प्रयत्न गर्नेछौं,’ केसीले भने।
यसैगरी हल्चोक मैदानमा भएको अर्को खेलमा लिग च्याम्पियन मनाङले हिमालयन शेर्पा क्लबलाई २–१ गोलले हरायो। लिगमा मनाङको यो अपराजित १२औं खेल हो। मनाङको जितमा ओलावाले अफिजले ३६औं र विशाल राईले ६३औं मिनेटमा गोल गरेका थिए। खेलमा सुरुआती अग्रता हिमालयन शेर्पाले लिएको थियो। शेर्पाका विश्वास श्रेष्ठले ४५औं मिनेटमा गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। सबै खेलमा शतप्रतिशत नतिजा निकालेको मनाङले ३६ अंक बनाएको छ। १७ अंक बनाएको शेर्पा सातौं स्थानमा छ।