नरिवल बिस्कुटको ६५ वर्षे यात्रा
धनकुटा : कुनै काम विशेषले वा घुम्नका लागि धनकुटा बजार पुग्ने जोकोही आगन्तुकले घर फर्कदा कोसेली स्वरुप धनकुटे नरिवल बिस्कुट खरिद गर्न भुल्दैनन्। होटल, किराना र नाङ्ले पसलमा अनिवार्य रुपमा धनकुटे नरिवल बिस्कुट राखिएकै हुन्छ। यसैबाट थाहा हुन्छ धनकुटाले यो स्थानीय उत्पादनलाई कति महत्व दिएको छ भन्ने। धनकुटा घुम्न पुगेका विराटनगरका दिपेन्द्र कोइरालाले झोलाभरि धनकुटे बिस्कुट हाल्दै भने,‘यसको स्वादकै र स्थानीयताकै कारण नरिवल बिस्कुट मनपर्छ। परिवारका सबैले रुचाउने भएकाले यता आउँदा किनेर लैजान्छु।’
घरेलु प्रविधिबाट बन्ने धनकुटे नरिवल बिस्कुट कोसेली लैजान वा खाजाको रुपमा सबैको रोजाइमा पर्ने गरेको छ। धनकुटा सदरमुकामका ठूला बजारमा मात्र नभइ गाउँका स–साना चिया पसलमा समेत यो बिस्कुटले स्थानीय ‘ब्रान्ड’को पहिचान बनाएको छ। झन्डै ६५ वर्षअघि धनकुटा–४ निवासी स्व. विश्वेश्वरमान श्रेष्ठले स्थापना गरेको मोहन बिस्कुट उद्योगको उत्पादन सो नरिवल बिस्कुट धनकुटाको कोसेलीको पहिचान नै बनेको छ।
थोरै लगानीमा थालेको व्यापार व्यवसाय पनि लगनशीलता, धैर्य, इमानदारी भए र बजार व्यवस्थापनको उचित तरीका अपनाए सफल हुने उदाहरणका रुपमा उद्योगले पहिचान बनाएको सञ्चालक मोहन श्रेष्ठ बताउँछन्। श्रेष्ठका बुवाले कुनै बेला भारतबाट एक रुपैयाँको २० पाना बिस्कुट ल्याएर धनकुटामा चियासँगै बेच्ने गर्थे। २०११ सालमा पाँच किलो मैदाबाट सुरू भएको मोहन बिस्कुटमा हाल १० लाखभन्दा बढी लगानी छ। उद्योगमा १२ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।
सदरमुकामस्थित चुवाको बोट मास्तिर काफ्ले होटल छ। पाँच वर्षदेखि डम्बरराज काफ्लेको होटलमा आउने आगन्तुकले चिया अर्डर गर्दा अनिवार्य रूपमा नरिवल बिस्कुट खोज्छन्। उनले भने, ‘ग्राहकले चियामा अनिवार्य बिस्कुट खोज्छन्। आगन्तुकले कोसेलीको रूपमा पनि लैजान्छन्।’ पाथीभरा होटलका सञ्चालक दुर्गा राईले भ्रमणमा आउनेले दर्जनका दर्जन प्याकेट खरिद गरेर लैजाने गरेको सुनाइन्।
धनकुटे बिस्कुटको इतिहास
२००८ सालमा धनकुटा–४ देब्रेवासमा मोहन श्रेष्ठका बाबु विश्वेश्वरमान श्रेष्ठले चिया पसल सञ्चालन गरेका थिए। त्योबेला उनले खोलेको चिया पसल पहाडी भेगको पहिलो मानिन्थ्यो। चिया खान ग्राहकको फर्माइसका कारण भारतबाट ल्याइएका बिस्कुट माथिल्लो कोप्चेबाट ल्याएर बेच्थे। त्यतिबेला एक रुपैयाँको १६ आना हुन्थ्यो। एक रुपैयाँको २० ओटा बिस्कुट ल्याएर एकआना गोटा बेच्थे। रुपैयाँमा चार माना घ्यू किन्न पाइन्थ्यो। चिया खान आउने मान्छेले बिस्कुटका कुरा गर्थे। कतिपयले आफैं बनाउनु पनि भन्थे।
श्रेष्ठ भन्छन्, ‘चिया खान आउने मान्छेको कुरा सुनेर बुबाले पनि बिस्कुट बनाउन कोसिस गर्नुभयो। एक पावा मैदाको बिस्कुट आफ्नै पाराले दिनहुँ बनाउँदै सिक्न थाल्नुभयो। बनाइसकेपछि मान्छेलाई चखाउनुहुन्थ्यो।’ आफैं चाख्दै र चखाउँदै गर्दा पहिले यो बिस्कुट धेरैले मन नपराएको श्रेष्ठले बताए। तर, आफ्ना बुबाले हार नमानी हरेक दिनजसो भिन्न–भिन्न तरिकाले बिस्कुट बनाएर ग्राहकलाई नयाँ स्वाद दिन सफल भएको श्रेष्ठले बताए।
एक दिन जानेका सबैथोक हालेर रन्थमोल पारेर मुछेको। बनाउँदा फुल्यो र चिया खान आउने सबैलाई चखाउँदा मिठो मानेर तारिफ गरेको सुनाए। त्यही विधिलाई निरन्तरता दिएर अहिले धनकुटे बिस्कुटको नयाँ रुप तयार भएको हो। स्थानीय स्तरमा पाइने स्रोत साधनलाई सदुप्रयोग गर्दै बिस्कुट पोल्ने भट्टी निर्माण गरेसँगै बिस्कुट सेक्न किस्तीको सहारा लिए। सर्वप्रथम नरिवल बिस्कुट उत्पादन गर्ने व्यक्ति आफ्नो बुबा नै रहेको उनले दाबी गरे।
२००८ सालदेखि बिस्कुट उत्पादनको परीक्षण सुरु भए पनि २०३० सालमा घरेलु उद्योगका रूपमा दर्ता गरी औपचारिक रूपमा अघि बढाइएको मोहन बताउँछन्। उनले भने, ‘त्योबेला बुबाले ३३ हजार लगानी थप गरेर लगानी विस्तार गर्नु भएको थियो।’ बुबाकै सल्लाहमा उद्योग सम्हाल्न गैरसरकारी संस्थाको राम्रो जागिर छोडेर २०५२ सालमा आफू धनकुटा फर्किएको उनले बताए।
आफ्ना बुबाले मेहनत गरेर सञ्चालनमा ल्याउनु भएको व्यवसायभन्दा जागिर मोहनलाई ठूलो लागेन। आफू अरुकहाँ एक्लै रोजगार हुनुभन्दा आफ्नो व्यवसायबाट अरुका लागि रोजगार सिर्जना गर्नु उचित ठानेर धनकुटा फर्किए। २०६५ सालमा बुबाको देहावसान भएपछि उद्योगको सिँगो जिम्मेवारी आफू र श्रीमती निमा श्रेष्ठले सम्हाल्दै आएका छन्।
यसरी बन्छ नरिवल बिस्कुट
धनकुटे नरिवल बिस्कुट उत्पादन गर्ने प्रविधि घरेलु विधि हो। काँचो इँटा, माटो र चिमबाट निर्मित भट्टीमा पोलेर बिस्कुट तयार पारिन्छ। सञ्चालक श्रेष्ठको भनाइअनुसार माटोको भट्टीभित्र दाउरा बालिन्छ। सो दाउरा जलेर बनेको कोइलामा बिस्कुट तताइन्छ। बिस्कुट पाक्छ। नरिवल बिस्कुटमा स्थानीयस्तरमै पाइने दूध, घिउ र मैदाको प्रयोग गरिन्छ। घरेलु प्रविधिबाट नै बिस्कुट उत्पादन हुने भएकाले जनशक्ति नै चाहिन्छ। ‘बिस्कुट उत्पादनमा मेसिनको प्रयोग गरिँदैन’, उनले भने, ‘मैदा मुछ्नेदेखि भट्टीमा बिस्कुट पोल्ने र प्याकेजिङसम्मको सबै काम हातबाटै हुन्छ।’ उद्योगले अहिले नरिवल, कोको, कुकिज, खास्ता, बदाम, डुनोट जस्ता १७ प्रकारका बिस्कुट उत्पादन गरिरहेको छ।
बढे उद्योग, फैलियो व्यवसाय
अहिले धनकुटाका विभिन्न स्थानमा बिस्कुट उत्पादन गर्ने एक दर्जनभन्दा उद्योग सञ्चालनमा छन्। बजारमा यसको माग बढेसँगै उद्योग खुल्ने क्रम पनि झाँगिएको हो। सुरुवाती दिनमा मोहन बिस्कुट मात्रै सञ्चालनमा थियो। अहिले धनकुटा सदरमुकामसहित आँखिसल्ला, पाख्रिवास, हिले, मौनावुधुक, जीतपुर, पात्लेखोलालगायत स्थानमा बिस्कुट उद्योग सञ्चालनमा छन्। घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय धनकुटामा १५ वटा उद्योग दर्ता रहेर सञ्चालनमा रहेको सूचना अधिकारी दिपेन्द्र अधिकारीले बताए। उनका अनुसार ती उद्योगमा ७५ लाख रुपैयाँभन्दा बढी लगानी छ। उद्योगले नरिवल बिस्कुट, केक, पाउरोटीलगायत अन्य उत्पादनसमेत गरी वार्षिक एक करोड रुपैयाँभन्दा बढीको बिस्कुट उत्पादन गरिरहेको छ। करिब एक सय जनालाई प्रत्यक्ष रूपमा रोजगारी मिलेको छ।
धनकुटा–६ पात्ले खोलामा सात वर्षदेखि ओम बिस्कुट उद्योग सञ्चालित छन्। घरेलु प्रविधिबाट पाँचभन्दा बढी प्रकारमा बिस्कुट उत्पादन गर्छन्। उनको मुख्य बजार मुलघाटदेखि भेडेटारसम्म हो। बिस्कुटको माग धेरै रहेको र मागअनुसार पु¥याउन नसकेको उनले बताए। बजारमा विभिन्न थरिका बिस्कुट पाइन्छ। तर उपभोक्ताले नरिवल बिस्कुट नै खोज्ने गरेको उनले बताए। उनले १२ जनालाई रोजगारी दिएका छन्।
जनशक्तिको भने अभाव
बिस्कुट बनाउने पर्याप्त जनशक्ति नहुँदा बिस्कुट उद्योगले मागअनुसार उत्पादन र बजार विस्तार गर्न नसकेको मोहनको भनाइ छ। कामको खोजीमा युवा विदेश पलायन हुन थालेपछि दक्षजनशक्तिको अभाव हुने गरेकोछ। माग धेरै आउँदा कहिले काही आफै पनि खट्नुपर्ने बाध्यता रहेको उनले बताए।
धनकुटा–६ पात्लेमा रहेको ओम बिस्कुट उद्योगका सञ्चालक टीकाराम कटुवालको भनाइअनुसार जनशक्तिबाहेक दाउराको समस्या पनि धेरै छ। घरेलु प्रविधिबाट बिस्कुट उत्पादन हुने भएकाले गर्दा अनिवार्य दाउराको आवश्यकता पर्छ। दाउरा जहीँतहीँ नपाइने र टाढाबाट ल्याउदा लागत बढ्ने उनले बताए।