बागलुङमा घर–घरमा फाइबर
बागलुङ : नेपाल टेलिकमले बागलुङ बजार क्षेत्रमा नेपालमै पहिलोपटक ‘घर–घरमा फाइबर’ पुर्याउन थालेको छ। टेलिकमले भ्वाइस तथा डाटाका लागि प्रयोग गर्दै आइरहेको तामाको तार (कपर) प्रविधिलाई पूर्ण रूपमा हटाएर नयाँ फाइबर प्रविधि विस्तारलाई तीव्रता दिएको हो।
कपरलाई विस्थापित गरी पहिलोपटक बागलुङमा फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवा प्रदान गर्न लागिएको नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्माले जानकारी दिए। काठमाडौं, पोखरा, चितवन, भैरहवा लगायतका ठूला सहरमा पुरानो प्रविधिमा जडान गरिएका टेलिफोन तथा एडिएसएल इन्टरनेट एकैसाथ फाइबरमा स्थानान्तरण गर्न समस्या भएकाले दुवै प्रविधिको प्रयोग भइरहेको टेलिकमले जनाएको छ। ‘राजधानी लगायतका ठूला सहरमा फाइबर पनि प्रयोग गरिएको छ, तर पुराना प्रविधिको कपर हटाइएको छैन, दुवै प्रविधि प्रयोगमा छ’, प्रमुख शर्माले भने, ‘बागलुङमा हामीले कपर प्रविधिलाई पूरै हटाएर नयाँ फाइबर प्रविधिमात्र प्रयोग गर्ने गरी कामलाई तीव्रता दिएका छौं, सम्पूर्ण रूपमा फाइबर प्रयोग गर्नेमा बागलुङ देशकै पहिलो जिल्ला हुनेछ।’ अहिले फाइबरको ५० प्रतिशत काम सकिएको टेलिकमले जनाएको छ।
ठूला सहरमा पुरानो नयाँ फाइबर प्रविधि एकैसाथ सञ्चालनमा ल्याउँदा फाइबर प्रयोग गर्नेले पुरानो नम्बर नपाउने समस्या हुन्छ। तर, पूरै फाइबर प्रविधि अपनाए पुरानै नम्बर यथावत राखेर सेवा लिन सकिनेछ। आगामी चैत महिनासम्म फाइबरको तार टाग्ने र उपकरण जडान गरेर सेवा आरम्भ गर्ने गरी काम अघि बढाइएको शर्माले बताए। अहिले बजारको आवारोड, रामरेखा, ट्राफिक चोक, समिट चोक, हल्लन चोक, अदालत रोड लगायतका स्थानमा फाइबरको तार टाँग्ने काम सकिएको छ भने लोकतान्त्रिक चोकदेखि उपल्लाचौर सम्मको काम बाँकी छ।